विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोईरालाले वडा स्तरदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नव निर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा बोल्दै नेता कोइरालाले वडा स्तरदेखि नै सुशासन दिन सकिएमा जनताले संघीयताको महसुस गर्ने बताए ।
उनले स्थानीय तहका जनप्रतिनिधिहरू सुविधाको भोगी नभई जनतालाई सहज हुने तरिकाले सेवा प्रवाह गर्न लाग्नु पर्नेमा जोड दिए । “संविधानले परिकल्पना गरेअनुसार जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार हो ।
स्थानीय सरकारसित जनताले बढी आशा र भरोशा राखेका हुनछन ” कोइरालाले भने, “जनताले अपेक्षा गर्ने र सधैं भेट्ने सरकारले जनतालाई राम्र सित डेलिभरी र सुशासन दिन सकेन भने संघीयता माथि नै प्रश्न उठ्न सक्छ । संघीयतामाथि प्रश्न उठ्नु भनेको देश अराजकता र अस्थिरतातर्फ जानु हो ।”
नेता कोईराला वडा तहदेखि नै प्रशासनिक खर्चमा मितव्ययिता अपनाएर जनतालाई सहज रुपमा सेवा प्रवाह गर्नु आवश्यक रहेको औंल्याए । सुशासन नभएकै कारण धेरै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहेको उनको भनाइ थियो ।
जनताको धेरै चाहना नभएको बताउँदै कोइरालाले भने, “जनताले धेरै अपेक्षा गरेका छैनन्, उनीहरूलाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको पहुँचसँगै सडक र पुलपुलेसा भए पुग्छ ।” विकासका विषयमा स्थानीय तहहरूबीच प्रतिस्पर्धा हुनु जरुरी रहेको नेता कोइरालाले उल्लेख गरे ।
भवन निर्माणका लागि सुनसरीको दुहबीस्थित पारस कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.ली. सँग २०७७ पुस २० गते ठेक्का सम्झौता भएको थियो । स्थानीय जग्गादाताले निशुल्क उपलब्ध गराएको २ कठ्ठा जग्गामा ७९ लाख २७ हजार लागतमा निर्मित भवनमा गाउँपालिकाका अध्यक्षको समेत सम्पर्क कार्यालय राखिएको वडाध्यक्ष सोमराज काफ्लेले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, उपाध्यक्ष अमृता कुमारी गच्छदार, पूर्वअध्यक्ष बालचन माझी, जग्गादाता खिलानाथ निरौलालगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा जग्गादाता मोहनप्रसाद कोइराला, नगेश कोईराला, हरिप्रसाद निरौला, नगेश कोइराला, मदन कोइराला खिलानाथ निरौला, महेशप्रसाद कोईराला, मदन कोइराला र प्रेमु कोईरालालाई सम्मान गरिएको थियो ।