मोरङ/ कोभिड १९को संरचनामा सञ्चालित संक्रामक रोग तथा सघन उपचार केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको छ ।
संक्रमणजन्य तथा सरुवा रोग उपचारका निम्ति विराटनगरमा सञ्चालनमा ल्याइएको अस्पताल अहिले प्रयोग विहीन अवस्थामा रहेको हो ।
करोडौको लगानीमा स्थापित अस्पताल वैकल्पिक रुपमा प्रयोग हुन नसक्दा प्रयोगविहीन बनेको हो ।
कोरोना संक्रमित विरामीहरुका निम्ति स्थापित कोभिड १९ उपचार केन्द्रलाई रुपान्तरण गरेर २०७९ असोज ५ गते सरकारले सो अस्पताल सञ्चालनमा ल्याएको थियो । अस्पतालबाट कोभिड र डेंगु जस्ता संक्रमणजन्य रोगहरुको उपचार गर्ने प्रदेश सरकारको तयारी थियो ।
त्यसका लागि सरकारले ओपिडी समेत सञ्चालनमा ल्याएको थियो । तर अहिले यो अस्पतालमा विरामी नै आउन छाडेका छ्न् । यो संरचनामा सञ्चालन भएको सो अस्पताल हाल प्रयोग विहीन बनेको छ ।
अस्पतालका स्वास्थ्य उपकरणहरु पनि प्रयोगविहीन बनेका छन् । अस्पतालमा हाल फाट्टफुट्ट कोरोना संक्रमितको उपचार भइरहेको छ ।
त्यसबाहेक अन्य प्रकृतिका विरामीहरुले यहाँबाट सेवा लिएको तथ्यांक नै छैन । भविष्यमा संक्रमणजन्य रोगको उपचारमा अस्पताल प्रयोग रहेको अस्पताल संयोजक डा. अस्ना पराजुली बताउँछिन् ।
उनले भनिन्–‘अहिले पनि कोभिड संक्रमणका विरामीहरु फाट्टफुट्ट आइरहेका छन् तर यो अस्पताललाई विस्तारै संक्रमण रोग अस्पतालको रुपमा विस्तार गर्ने योजना अगाडि सारिसकिएको छ ।’
गम्भीर प्रकृतिका कोरोना संक्रमित विरामी उपचारका निम्ति विराटनगर १० मलायारोडस्थित नेशनल ट्रेडिङको रिक्त संरचनामा २०७७ चैत्र २१ गतेदेखि प्रदेश सरकारले कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । त्यसबेला १० वटा भेन्टिलेरसहित ५० शैयाको कोभिड १९ सञ्चालनमा आएको थियो ।
कोभिड महामारीको दोस्रो लहरमा प्रदेश सरकारसँग भएका संरचनाहरु प्रयाप्त नभएपछि सरकारले आवश्यक स्वास्थ्य पूर्वाधारसहित अस्पताल विस्तार गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम अस्पतालको पछाडिपछि आइसियू, शव गृह, अक्सिजन प्लान लगायतका संरचनासहित ७६ बेड क्षमताको सुविधान सम्पन्न अस्पताल निर्माण भएको थियो ।
कोभिडको पहिलो लहरमा ८०, दोस्रो लहरमा ९६ र विस्तारको क्रममा ७६ बेड थपिएपछि सरकारसँग हाल २ सय ५२ क्षमताको अस्पताल छ तर प्रयोगमा ल्याउन नसक्दा हाल वहिरंग सेवाका नाममा मात्र ९६ बेड सञ्चालन भइरहेको छ । यसमध्ये २१ आइसियु, ५७ एचडियु र २८ जनरल केसका विरामीका लागि छुट्याइएको छ ।
भविष्यमा उक्त संरचनालाई प्रदेशस्तरीय अस्पतालको रुपमा विकास गर्ने तयारी प्रदेश सरकारको रहेको छ ।
स्वास्थ्य मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले यसलाई छुट्टै प्रकारको प्रदेश स्तरीय अस्पतालको रुपमा विकास गरेर लाने योजना रहेको बताए ।