धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई शनिबार अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ। उक्त कार्यक्रम धरान–३, सदन रोडस्थित कार्यालयमा सम्पन्न गरिएको हो।
कार्यक्रमको सहजीकरण प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले गरेका थिए। उनले सहभागीहरूलाई प्रभावकारी सार्वजनिक वक्तृत्वका विविध पक्षहरूमा प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षणमा माइक्रोफोनको उचित प्रयोग, शारीरिक प्रस्तुतिको ढंग, हाउभाउ, भाषणको गति र शैली, आवाजको उतारचढाव, तथा तयारीका क्रममा आधिकारिक स्रोतको प्रयोग लगायतका विषय समेटिएको थियो।
आयोजक संस्थाका अनुसार अभिमुखिकरणको उद्देश्य फाइनल प्रस्तुति अझ धारिलो, प्रभावशाली र मौलिक बनाउनु रहेको छ।
फाइनलिस्ट सहभागी जिज्ञासा भट्टराईले पहिलो अडिसनदेखि फाइनलसम्मको यात्रामा धेरै कुरा सिक्न पाएको अनुभव सुनाइन्। अर्की सहभागी सन्जिना राईले अभिमुखिकरणपछि आत्मविश्वास उल्लेखनीय रूपमा बढेको बताइन्।
त्यस्तै, निशान विश्वकर्मा र शुभम पोखरेलले प्रशिक्षण कार्यक्रमबाट सकारात्मक सिकाइ र अनुभव प्राप्त भएको प्रतिक्रिया दिएका छन्।