विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन ।
बुधबार गरिएको उद्घाटन समारोह कार्यक्रममा मेयर कोइरालाले २०७७ सालदेखि उक्त वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थियो । तर आफ्नै भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह हुँदै आउदा केहि समस्या हुने गर्थ्यो ।
तर ३ बर्षको अबधिमा महानगरले आफ्नै जग्गामा एकतले भवन निर्माण गर्न सक्षम भएकोमा खुशि व्यक्त गर्दै मेयर कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा दिएर काम गर्ने मेयरको योजना रहेको बताएका छन ।
उनले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकसहित गर्भवती, असक्त नागरिकहरुलाई समेत सहज रुपमा सेवा प्रवाह हुने बताएका छन । मेयर कोइरालाले महानगरले आफ्नै सिटी अस्पताल सञ्चालन गर्ने योजना रहेको बताएका छन ।
वडा तहमा भएका स्वास्थ्य सेवा केन्द्रहरुबाट रेफर गरिएका बिरामीलाई महानगरस्तरीय सिटी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन सकिए विराटनगरवासीलाई धेरै सहजका साथै राहत हुने बताए ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीको समेत उपस्थीत रहेको थियो । उपमेयर कार्कीले प्रत्येक वडामा ल्याबसहितको स्वास्थ्य सेवा दिनेगरी महानगरले काम गरिरहेको बताईन । उनले आगामी आर्थिक वर्षको बजेटमा ८० वर्ष भन्दा माथि उमेर समुहका ज्येष्ठ नागरिकहरुलाई सम्पूर्ण सेवा निःशुल्क प्रवाह गर्ने तयारी भइरहेको बताएकी छिन् ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने भवन निर्माण समितिका संयोजक तुलसा भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका छन ।
केन्द्रबाट गर्भवतीको नियमित जाँच, प्रेसर सुगरको चेकजाँच सहित आधारभूत स्वास्थ्य सेवाका साथै औषधि समेत निःशुल्क उपलब्ध गराउने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताएका छन ।