सुनसरी / तीन वर्ष अघि मोरङको सुन्दर हरैचामा देखिएको पशुलाइ लाग्ने लम्पी स्किन रोगले हाल सम्म कोशी प्रदेशमा ११ सय ३२ गाइभैसि मरेको तथ्यांकले देखाएको छ ।
कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी विनोदकुमार साहका अनुसार कोशीमा ८५ हजार ७ सय ८४ संक्रमित र ११ सय ३२ गाईभैंसी मरेका छन् ।
रोग फैलिने क्रम तीव्र रहेकाले रोग नलागेकालाई भ्याक्सिन लगाउन सुरु गरेको उनले बताए । उनका अनुसार लम्पीले मधेशभन्दा मध्य पहाडी भेगमा बढी असर गरेको छ ।
पशु सेवा विभागका अनुसार मुलुकभर ३ लाख ५३ हजारभन्दा बढी गाईभैंसीमा संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ४ सय गाईभैंसी मरिसकेको र यो संख्या अझै बढ्न सक्ने विभागको प्रक्षेपण छ ।
के हो लम्पी स्किन ?
पशु सेवा विभागका अनुसार यो झिंगा ९डाँस०, भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट सर्ने संक्रामक रोग हो ।
गर्मीयाममा बढी संक्रमण हुने यो रोग लागेका गाई, भैंसीको छालामा साह्रो गिर्खा देखिन्छ र उच्च ज्वरो आउँछ । रोग लागेसँगै गाईभैंसीको दूध उत्पादन ह्वात्तै घट्छ ।
रोग देखिनेबित्तिकै गाईभैंसीलाई बथानबाट छुट्याएर अलग्गै राख्न विभागको सुझाव छ ।
ज्वरो आएका पशुलाई जोत्ने, गाडा तान्ने काममा नलगाई आराम गराउने र प्रशस्त मात्रामा सफा पानी खान दिनुपर्छ ।
रोग लागेपछि ज्वरो घटाउन पारासिटामोल वा मेलोक्सिकेम प्रयोग गर्नुपर्छ । घाउको चिलाइ न्यूनीकरणका लागि औषधिको प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम लगाउने गर्नुपर्छ ।
रोगका कारण शिथिल पशुलाई आवश्यकताअनुसार स्लाइन दिनुपर्छ ।
शरीरमा गिर्खाको संख्या अत्यधिक भएका पशुलाई आइभरमेक्टिन र घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाहअनुसार एन्टिबायोटिक्सको सुई लगाउनुपर्छ ।