इटहरी / राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य उपेन्द्र शाहीले राष्ट्रिय युवा संघ नेपालले Mission Next Election:Target New Generation मार्फत साचो अर्थमा देश बनाउने अभियानको प्रारम्भ गरेको बताउनुभएको छ ।
आज इटहरीमा आयोजित युवा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै युवा नेता शाहीले देशमा आमूल परिवर्तन गर्न युवाहरू जाग्न आवश्यक रहेको कुरा औल्याउनु भएको छ ।
उहाँले अब युवाहरूले स्थापित पार्टीहरूभित्र शुद्धीकरणको लागि लड्नुपर्ने र पार्टी बाहिर भने पार्टी विरूद्धका भ्रम चिर्न लागिपर्नु पर्ने बताउनुभयो ।
उहाँले अहिले स्थापित पार्टीहरूमा रहेका कमीकमजोरी सुधार्न युवाहरू लड्न आवश्यक रहेको बताउनुभयो । संगसंगै उहाँले पार्टी र नेताहरूविरूद्ध अनर्गल प्रचार हुने गरेको भन्दै त्यसका विरूद्ध पनि युवाहरू लाग्नुपर्ने भनेर निर्देशन दिनुभयो ।
भविष्य युवाहरूको नै भएको कुरा उजागर गर्दै उहाँले आफ्नो योग्यता र क्षमतामा वृद्धि गर्दै युवाहरू हस्तक्षेपकारी भूमिकामा आउन आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित शाही राष्ट्रिय युवा संघ नेपालबाट इटहरी उपमहानगरपालिकामा उत्प्रेरकको रूपमा खटिनुभएको छ ।
आजको कार्यक्रमको अध्यक्षता संघका इटहरी उपमहानगरपालिका अध्यक्ष कमलजंग दाहालले गर्नुभएको थियो भने संघका सुनसरी जिल्ला अध्यक्ष सुजन लामा र प्रदेश कमिटी सदस्य अरूण श्रेष्ठ अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।