धरान / धरानमा विभिन्न राजनीतिक पार्टीहरुले १३४ औं अन्तर्राष्ट्रिय दिवस मनाइरहदा केही मजदुरहरु भने काममा व्यस्त देखिएका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय श्रम दिवस मे १ मा पर्छ भन्ने कुरा समेत थाहा थिएन । जीवनयापन गर्नकै लागि उनीहरुले कामलाई निरन्तता दिएका थिए ।
धरान १५ का राज तामाङ राजमिस्त्री हुन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसमा उनी पसिना काढेर घर बनाउने काममा गारो लाउनमा व्यस्त थिए । ८ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्नुपर्ने माग राखेर मजदुरहरुले प्रत्येक बर्ष मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरे पनि सीमितलाई मात्र यो कुरा थाहा छ । धेरै जसोको दिनचर्या काम गरेर वित्ने गरेको छ ।
मजदुर दिवसका विषयमा तामाङ भन्छन्, ‘मलाई त मजदुर दिवस के हो थाहै छैन, कहिले पर्छ पत्तै पाउँदिन, किन मनाएको भन्ने पनि थाहा छैन, काम नगरी घरको छाक टर्दैन, त्यस्ता जुलुस नारामा हिड्ने फुर्सद पनि हुदैन ।
धरान ८ का गोविन्द नेपालको भनाई पनि तामाङको भन्दा फरक छैन । उनलाई पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले पर्छ, किन मनाउने गरिन्छ, मनाउनुको कारण के हो ? भन्ने कुरा थाहै छैन । उनी भन्छन्–‘हामी काम गरी खानेलाई के को मजदुर दिवस ? यो त मजदुरको नाममा राजनीति गर्नेलाई मात्र हो ।’
यी दुई त प्रतिनिधिपात्र मात्र हुन् । धरानमा यस्ता धेरै मजदुरहरु छन् जसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे थाहै छैन । नीजि काम भएकाले काम गराउनेले त्यस दिन छुट्टी पनि दिँदैन, छुट्टी लिएर काम नगर्दा एक दिनको ज्याला नै गुम्ने गर्छ । कतिपयलाई थाहा भएर पनि दिवस नमाउने गरेको बताउने गरेका छन् ।
धरान २० का रुद्र राईले मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस हो भन्ने थाहा हुँदा हुँदै पनि आफू दिवसमा समावेश नभएको बताउँछन् । दैनिक गुजारा नगरी हातमुख जोड्न नै मुस्किल उनलाई एक दिनको ज्याला गुम्दा पनि धेरै समस्या हुन्छ ।
उनी भन्छन्–‘मलाई मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस भन्ने थाहा थियो, काम छोडेर दिवस मनाउन जाऔं भन्यो भने एक दिनको ज्याला नै काटिन्छ, ज्याला नै आएन भने भरे कसरी छाक टार्ने, त्यही भएर थाहा भएर पनि जान सकिन ।
मजदुरहरुले यस्तो बताइरहँदा दलसँग आवद्ध श्रमिकहरुले भने खुल्ला रुपमा अन्तर्राष्ट्रिय दिवस मनाइरहेका थिए । उनीहरुले मजदुरले समान ज्याला पाउनुपर्छ, आठ घण्टा आराम पाउनुपर्छ, आठ घण्टा मनोरञ्जन गर्नुपर्छ भन्ने भाषणा गरिहेका थिए । तर उनीहरुले गरेको भाषण नेपालमा साँच्चिकै व्यवहारमा उतार्न भने कठिन छ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाए पनि नेपालमा यो नारा नारामा मात्र सीमित भएको छ ।
यस वर्ष अखिल नेपाल ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ लगायतका मजदुर सङ्गठनले सभालगायतका विविध कार्यक्रम गरी दिवस मनाए पनि यो दिवसले सार्थकता पाउन भने सकेको छैन ।