धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपुर दरबार क्षेत्रमा रहेका लिम्बू समुदायका करिब सय वर्ष पुराना समाधि (चिहान) भत्काइएको भन्दै किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले गम्भीर आपत्ति जनाएको छ।
संस्थाले दोषी पक्षले समाधि पुनर्निर्माण गरे माफी दिन सकिने, अन्यथा कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा चुम्लुङका अध्यक्ष तीर्थराज मादेम्बाले विजयपुर दरबार परिसरको मूल क्षेत्रमा रहेको सेन्ट्री तथा स्मारक आसपासका करिब दुई दर्जन समाधि जेठ २ गतेको स्थलगत अवलोकनका क्रममा भत्किएको अवस्थामा फेला परेको जानकारी दिए।
उनका अनुसार बैशाखे पूर्णिमापछि समाधि स्थलका ढुंगा तथा इट्टा उखेलेर फालिएको अवस्था देखिएको हो। “त्यसअघि समाधि स्थल सुरक्षित थियो।
पछि मात्र भत्काइएको पाइयो। यसका फोटो तथा भिडियो प्रमाणसमेत हामीसँग छन्,” अध्यक्ष मादेम्बाले भने, “जसले भत्काएको हो, उसैले पुनः निर्माण गरे माफी दिन्छौं, अन्यथा कानुनअनुसार अघि बढ्छौं।”
चुम्लुङले घटनाबारे धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयमा निवेदन दिइसकेको जनाएको छ।
मादेम्बाका अनुसार उक्त क्षेत्रमा जवेगु, थेगिम, देवानहाङ र कन्दङवा लगायतका याक्थुङ लिम्बू समुदायसँग सम्बन्धित समाधिहरू रहेका छन्।
सम्बन्धित जातीय संस्थाहरूले समेत घटनाप्रति आपत्ति जनाउँदै कानुनी प्रक्रियामा जाने तयारी गरिरहेको उनले बताए।
संस्थाले प्रारम्भिक अध्ययनका आधारमा ती समाधिहरू याक्थुङ लिम्बू समुदायका पुर्खासँग सम्बन्धित रहेको निष्कर्ष निकालेको छ।
सय वर्षभन्दा पुराना समाधिमा प्रयोग गरिएका ढुंगा र इट्टा उखेलेर फालिनु संवेदनहीन, अमानवीय तथा असामाजिक कार्य भएको चुम्लुङको ठहर छ।
पत्रकार सम्मेलनमा चुम्लुङले समाधि स्थलमा गैर–लिम्बू पहिचानसँग सम्बन्धित प्रतीकहरू गाडेर अतिक्रमण गर्ने प्रयाससमेत भएको आरोप लगाएको छ।
त्यस्ता सामग्री सम्बन्धित पक्षले तत्काल हटाउनुपर्ने, अन्यथा सरोकारवालाहरू स्वयं हटाउन बाध्य हुने चेतावनी पनि दिइएको छ।
संस्थाले मुलुकी देवानी संहिता, २०७४ ले समाधि स्थल अतिक्रमण तथा क्षति गर्न निषेध गरेको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनअनुसार कारबाही गर्न माग गरेको छ।
साथै भत्काइएका समाधिहरू तत्काल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा संरक्षण गर्न स्थानीय सरकारसँग आग्रह गरेको छ।
चुम्लुङले विजयपुर दरबार परिसर राष्ट्रिय ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएकाले यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि स्पष्ट नीति तथा दीर्घकालीन कार्ययोजना आवश्यक रहेको जनाएको छ।
संस्थाले विजयपुर क्षेत्रको अभिलेखीकरण गर्दै भविष्यमा विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यसहित संरक्षण परियोजना अघि बढाउनुपर्ने मागसमेत गरेको छ।
यस्तै, समाधि, गढी, मठ, मन्दिर तथा अन्य पुरातात्विक संरचनाको संरक्षण गर्दै विजयपुर दरबार क्षेत्रलाई ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारलाई पुनः आग्रह गरिएको छ।