इटहरी/ इटहरीमा पहिलो पटक सङ्गिनी, सिलोक र विरहन गायन प्रतियोगिता हुने भएको छ ।
६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू बिचमा लोपोन्मुख भएका सङ्गिनी, सिलोक तथा थारु जातिको विशेष गीति नृत्य विरहन प्रतियोगिता आयोजना हुने भएको हो ।
इटहरी ५ मा रहेको बालाजी ज्येष्ठ नागरिक समाजले भदौ २३ गते देखी आयोजना गरेको ज्येष्ठ नागरिक सांस्कृतिक उत्सवमा यी तीन विधामा प्रतिस्पर्धा हुने भएको हो ।
इटहरीका विभिन्न १४ वटा वडाबाट प्रतिनिधित्व गर्दै समूहगत रूपमा तीन विधामा एक सय २८ जनाले प्रतिस्पर्धा गर्दैछन् । महिलाहरूमा लोकप्रिय मानिएको सङ्गिनी विधामा १४ वडाका १४ समूहका ७७ जना ज्येष्ठ महिलाहरूले प्रतिस्पर्धा गर्दैछन् ।
पुरुषहरूले गाउने सिलोक विधामा पनि १४ वडाका १४ समूहका २५ जना पुरुषहरू बिच प्रतिस्पर्धा हुनेछ ।
यता, इटहरीको पहिलो जाति थारु महिला तथा पुरुषले परम्परागत रूपमा गाउने विशेष गीति नृत्य विरहनमा १० वडाका १० समूहका २५ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
ज्येष्ठ नागरिकका प्रतिभालाई बाहिर ल्याउने तथा लोप हुने अवस्थामा पुगेको संस्कृतिलाई नयाँ पुस्तालाई देखाउँदै हस्तान्तरण गर्न सांस्कृतिक उत्सव आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण विनोद लम्सालले जानकारी दिए ।
उत्सव आयोजना गर्न लम्सालको संयोजकत्वमा ७ सदस्यीय ज्येष्ठ नागरिक सांस्कृतिक उत्सव इटहरी २०८० आयोजक समिति गठन गरिएको छ ।
प्रतियोगिताका तीन वटै विधाका प्रथम, द्धितिय, तृतीय र सान्त्वना लाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार पाँच सय पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक लम्सालले जानकारी दिए ।
प्रतियोगिताका विजेताहरूलाई भाद्र ३० गते एक कार्यक्रम गरी पुरस्कृत गरिनेछ । समापन समारोहमा लोपोन्मुख खैँजडी भजन पनि प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।