धरान/ धरान उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयले अस्थायी प्रहरी चौकी देउरालीलाई प्रकोप तथा विपदमा प्रयोग गर्न विभिन्न औजार सामग्री हस्तान्तरण गरेको छ ।
बाढी तथा पहिरोको सम्भावित जोखिम क्षेत्र समेत रहेको वडामा विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्न र सम्भावित विपद्लाई न्यूनीकरणका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
वडाध्यक्ष मन प्रसाद लिम्बूका अनुसार गैँती, बेल्चा, पन्जा, गम्बुठ, डोरी, बाल्टी, लगायतका सामग्री चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा चौकीका सह इन्चार्जलाई हस्तान्तरण गरिएको छ ।
वडाको विपद् तथा प्रकोप व्यवस्थापन समितिका संयोजक समेत रहेका वडाध्यक्ष लिम्बूले विशेष गरी ५ नम्बर वडामा बाढीको प्रकोप रहेको भए पनि पहिरो जान सक्ने सम्भावित क्षेत्रहरू रहेको र आगलागी लगायतको प्रकोपको जोखिम रहिरहने भएकाले त्यस्तो जोखिमको समयमा तत्काल उद्धारमा खटिने प्रहरीलाई उक्त सामग्री हस्तान्तरण गरिएको बताएका छन् ।
उनले आगामी दिनमा फायर डिस्पोजेवल लगायतका अन्य आपत्कालीन तथा प्रकोपमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिने बताएका छन् । सामग्री हस्तान्तरण कार्यक्रममा वडाका सचिव, वडा सदस्य तथा स्थानीय टिएलओहरुको प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।