इटहरी/ इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को कर वृद्धिको विरुद्धमा नागरिक समाज आन्दोलित भएका छन् ।
उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर ध्यानाकर्षण गराउँदा समेत कर समायोजनमा बेवास्ता गरेको भन्दै नागरिक समाज इटहरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक समाज इटहरीले चरणबद्ध विरोध गर्ने जनाएको हो ।
भदौ १७ गते देखि कर घट्ने मेयरले प्रतिबद्धता जनाए पनि कुनै सुनुवाई नभएकाले आन्दोलनको कार्यक्रम घोषणा गरेको अध्यक्ष बालिका भट्टराईले बताइन् ।
आर्थिक मन्दिको कारण व्यवसायीहरू पलायन भइरहेको अवश्थामा सर्वसाधारणले हातमुख जोर्न समेत समस्या भइरहेको समयमा कर वृद्धि हुन अन्यायपूर्ण भएको समाजले जनाएको छ ।
उपमहानगरपालिकाले हालसम्म नगर विकासको योजना समेत बनाउन नसकेको अवस्थामा कर तिर्नका लागि जग्गा नै बिक्रि गर्नुपर्ने अवश्था आएको उनले बताईन् ।
नागरिक समाजद्वारा जारी विज्ञप्तिमा खर्चको प्राथमिकीकरण निर्धारण नगरी विकास बजेट आधा पनि खर्च गर्न नसक्ने सरकारलाई कर बढाउने नैतिक अधिकार नभएको उल्लेख छ । नागरिक समाजले बढेको करका विरुद्ध भाद्र २० गते बुधवार जनप्रतिनिधिहरूलाई एसएमएस पठाउने भएको छ ।
त्यस्तै २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी शेयर गर्ने, २२ गते इटहरी उपमहानगरपालिकामा अगाडि मौन धर्ना दिने, २३ गते सरोकारवालाहरूसँग छलफल तथा बृहत् भेला गर्ने र २५ गते “नो ट्याक्स“ घोषणा गरी बृहत् नागरिक भेला आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।
कर विरुद्ध यस अघि पनि राष्ट्रिय स्वतन्त्र पार्टीले चरणबद्ध धर्ना तथा आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।