मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स्पास्पेन र ट्रामाडोल ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरी चेकिङ टोलीले बिहीबार राति करिब ९ः५० बजे सुन्दरहरैँचा नगरपालिका–१० त्रिवेणी चोकका २७ वर्षीय समिर राईलाई शंकाका आधारमा जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।
प्रहरीका अनुसार राईको साथबाट स्पास्पेन ३७० ट्याब्लेट र ट्रामाडोल ३८० ट्याब्लेट गरी कुल ७५० ट्याब्लेट बरामद गरिएको छ।
बरामद लागूऔषधसहित राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।