आन्दोलनकारीका मागप्रति गम्भीर बन

  • भदौ १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वृत्ति विकासको माग गर्दै आन्दोलनरत् धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक–कर्मचारीहरूले प्रतिष्ठानको परीक्षा शाखामा तालाबन्दी गरिदिएको समाचार प्रकाशमा आएको छ ।

आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरी उनीहरू केही दिनयता आन्दोलनमा छन् ।

परीक्षा शाखामा ताला लगाउने पूर्वनिर्धारित कार्यक्रम नभए पनि आन्दोलनरत् शिक्षक–कर्मचारीले अकस्मात् तालाबन्दी गरिदिएका हुन् ।

परीक्षा सञ्चालन गर्न लागिएको सूचना पाएपछि आन्दोलनकारीहरूले तालाबन्दी गरिदिएको समाचारमा उल्लेख छ ।

पछिल्ला केही वर्षयता प्रतिष्ठान आन्दोलनको केन्द्र नै बन्न पुगेको छ । यहाँ कुनै न कुनै बहानामा बेला–बेलामा आन्दोलनहरू भई नै रहन्छन् ।

प्रतिष्ठान व्यवस्थापनको कमजोरी र सरकारकै बेवास्ताका कारण पनि प्रतिष्ठान बेथितिहरूको केन्द्र बन्न पुगेपछि यहाँ बेला–बेलामा आन्दोलन हुने गरेका छन् ।

कहिले विद्यार्थीहरू आन्दोलित हुन्छन् भने कहिले ‘जेआर’ का रूपमा चिनिने चिकित्सकहरू आन्दोलनमा हुन्छन् ।

अहिले भने लामो समययता रोक्का भएको बढुवा प्रक्रियालाई अगि बढाउन माग गर्दै प्रतिष्ठानका चिकित्सक, शिक्षक र कर्मचारीहरू आन्दोलित भएका हुन् ।

वास्तवमा पटक–पटकका आन्दोलन र भ्रष्टाचारका कारण प्रतिष्ठान थिल्थिलो बनेको छ । पछिल्लो समय यहाँका विभिन्न पदाधिकारीमाथि भ्रष्टाचारका मुद्दा चलेका छन् ।

केहीमाथि आरोप पुष्टि पनि भएको छ । पदाधिकारी नियुक्तिकै समयमा आर्थिक लेनदेन हुने भएकाले यहाँ भ्रष्टाचारको जरा गाडिएको धेरैले बताउने गरेका छन् । यस्तै विभिन्न चर्चाका बीच अहिले फेरि प्रतिष्ठानमा आन्दोलन चर्किएको छ ।

यो निकै गम्भीर विषय पनि हो । लामो समययता बढुवा प्रक्रिया रोकिएकै कारण कारण कतिपय अनुभवी र लोकप्रिय चिकित्सकहरू प्रतिष्ठानबाट पलायन भइसकेका छन् । अभैm केही चिकित्सकहरूले प्रतिष्ठान छाड्ने मनस्थिति बनाएका छन् ।

अनुभवी र स्थापित चिकित्सकहरू पलायन हुने क्रम नरोकिँदा प्रतिष्ठानको प्रतिष्ठामै आँच पुगेको छ ।

त्यसैले यो विषयलाई बेवास्ता गर्नु प्रत्युत्पादक हुने निश्चित छ ।
चिकित्सक र कर्मचारीहरूको आन्दोलनका कारण प्रतिष्ठानको परीक्षा र अन्य दैनिक कार्य नै प्रभावित भएका छन् ।

अहिले परीक्षा स्थगित भएको छ । यस्तो अवस्थामा विद्यार्थीहरूमा पनि मानसिक तनाव हुने निश्चित छ । यसले विद्यार्थीहरूको भविष्यमा पनि नकारात्मक असर पर्ने यथार्थलाई उपेक्षा गर्न सकिँदैन । त्यसैले यस समस्याको समाधान जतिसक्दो चाँडो खोज्नु आवश्यक छ ।

यसका लागि प्रदाधिकारीहरूको सक्रियता अपेक्षित छ । पदाधिकारीहरू प्रतिष्ठानको भविष्यप्रति गम्भीर र संवेदनशील नभएकै कारण प्रतिष्ठान दिनदिनै धराशायी बन्दै गएको छ ।

यसको साख पनि ओरालो लाग्ने क्रममा छ । यसर्थ, अब भने सबैले गम्भीर हुनुपर्छ ।

लामो समययता रोकिएको बढुवा प्रक्रियालाई सुचारु गर्ने वातावरण बनाउनुपर्छ । यसका लागि उचित कानुनी व्यवस्था गर्न सङ्घीय सरकारले पनि पर्याप्त चासो देखाउनुपर्छ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved