‘सुटुक्क’ बढाइयो खानेपानीको महसुल २६ युनिटको २६ सय ३० रुपैयाँ

  • चैत्र ३, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम / इलाम बजारमा वितरण भएको खानेपानीको शुल्क पुरानै भनेर भनिए पनि शुल्क बढेको पाइएको छ । इलाम नगरपालिकाले आफूलाई हस्तान्तरण नै नभएको आयोजनाको खानेपानी महसुल ‘सुटुक्क’ बढाएको खुलेको हो ।

शुल्क महङ्गो भनेर चौतर्फी विरोध भइरहँदा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष तथा नगर प्रमुख केदार थापाले पुरानै शुल्क भनिरहेको भनी भ्रम छरिरहेका छन् । उनले न्यूनतम शुल्क पुरानै हो भने पनि मंसिर देखिको महसुल बढेको पाइएको छ । तर नगरपालिकाले कार्यापालिकाको बैठकबाटै शुल्क बढाउने निर्णय गरेको छ तर त्यसलाई सुटुक्कै कार्यान्वयन थालिएको पाइएको हो ।

नगरपालिकाले परीक्षणकै रूपमा रहेको आयोजनाको पानी उपभोक्ताको धारामा नखस्दै महसुल बढाएको पाइएको हो । गत माघ ५ को १० औँ नगर कार्यपालिका बैठकले खानेपानीको महसुल बढाउने निर्णय गरेको भए पनि अहिलेसम्म नगर बासीले शुल्क बढेको थाहा पाएका छैनन् ।

नगरपालिकाले प्रत्येक महिना खानेपानीको मिटर रिडिङ गर्नुपर्नेमा मङ्सिर, पुस र माघको रिडिङ फागुनमा एकै पटक गरिएको छ र, बढेकै दर अनुसार तीनै महिनाको बिल उपभोक्ताबाट असुल्न थालिएको छ । आयोजनाको पानी धारामा आउने बित्तिकै शुल्क अचाक्ली बढेको भन्दै उपभोक्ताले चौतर्फी विरोध आए पनि उपभोक्ताले जिज्ञासा राख्दा महसुल दर नबढाइएको जवाफ नगरपालिकाले दिँदै आएको छ ।

आयोजनाको उपभोक्ता समिति अध्यक्षसमेत रहेका नगरका मेयर थापाले नगरले खानेपानीको महसुल नबढाएको दाबी गरिरहेका थिए । पत्रकार सम्मेलनमा समेत मेयर थापाले नयाँ आयोजनाको पानीको महसुल दर नबढाएको दाबी गरे ।

तर, नगरपालिकाकै खानेपानी शाखाका विशाल याम्फू राईले खानेपानीको महसुल साबिक भन्दा बढेको विवरण पत्रकार सम्मेलनमै प्रस्तुत गरिदिएपछि थापाले महसुल कार्यपालिकाले नै बढाएको स्वीकारेका हुन् । महसुल बढाएरपनि थाहा नदिई शुल्क बढाएको छैन भनिरहेका थापाले उनकै अघि शुल्क बढेको भनेपछि

‘न्यूनतम महसुल चाहिँ बढेको छैन’ भन्दै आफ्नै अभिव्यक्तिको बचाउ गरे । उनको यो अभिव्यक्ति खानेपानीको शुल्कमा थाहै नदिई उपभोक्तालाई महसुल उठाउन खोजेको प्रस्ट देखिन्छ । अध्यक्ष र मेयर एउटै व्यक्ति रहनु र आयोजना सम्पन्न नै नभई नगरपालिकाले जिम्मा लिनु र शुल्क बढाएर पनि बढेको छैन भन्नुले नगर बासीमा खानेपानी प्रति गैर जिम्मेवार बनेको प्रस्ट देखिन्छ ।

इलामका राजेन्द्र शर्माले खानेपानी जस्तो विषयमा त नगर प्रमुखको यस्तो लापरबाही गर्न नहुन तकै राखे ।

यसरी बढाइयो खानेपानी महसुल

नगरले साबिकमा ८ हजार लिटर वा ८ युनिटसम्मको न्यूनतम महसुल दुई सय ५० रुपैयाँ लिइरहेको थियो । न्यूनतम महसुल बढाइएको छैन । तर, त्यसभन्दा माथिको महसुल भने बढाएको हो ।

नगरपालिकाको खानेपानी शाखाका अनुसार ८ देखि १० युनिटसम्मको महसुल दर साबिकमा प्रतियुनिट २५ रुपैयाँ रहेकामा मङ्सिर यता ३५ रुपैयाँ भएको छ । १० देखि १५ युनिटसम्म प्रतियुनिट ३० रुपैयाँ रहेकामा बढाएर ४५ रुपैयाँ बनाइएको छ ।

१५ देखि २० युनिटसम्मको ४० रुपैयाँ रहेकामा ६० रुपैयाँ बनाइएको छ भने २० देखि ३० युनिटको प्रतियुनिट ५० रुपैयाँ रहेकामा बढाएर ७५ रुपैयाँ बनाइएको छ । यस्तै, ३० देखि सय युनिटसम्मको महसुल साबिकमा प्रतियुनिट ५५ रुपैयाँ रहेकामा अहिले बढाएर ८५ रुपैयाँ पुर्याइएको छ । सय युनिटभन्दा माथि प्रतियुनिट ६० रुपैयाँ रहेकामा बढाएर ९० रुपैयाँ बनाइएको छ ।

२६ युनिटको २६ सय ३० रुपैयाँ

इलाम नगरपालिकाको खानेपानी शुल्कमा चरम लापरबाही रहेको पाइएको छ । नगरपालिकाले शुल्क बढाएको भए पनि त्यो दररेटमा समेत नमिल्नेगरीको बिल काट्ने गरेको पाइएको हो । पालिकाले माघ महिनाको विल काट्दा २६ युनिट खपत भएको भन्दै दुई हजार छ सय ३० रुपैयाँको बिल काटेको छ ।

उक्त बिललाई हेर्दा प्रति युनिट एक सय रुपैयाँ भन्दा बढी शुल्क रहेको देखिन्छ । तर नगरपालिकाकै दर रेट हेर्ने हो भने ३० देखि सय युनिटसम्मको महसुल ८५ रुपैयाँ मात्रै छ । माघ महिनाको खानेपानीको शुल्क माघ २७ गतेको मितिमा काटिएको छ । जसमा २६ युनिट खपत भएको भनिएको छ ।

२६ युनिट खपतमा आठ युनिटको दुई सय ५० रुपैयाँ न्यूनतम शुल्क रहेको छ । बाँकी १८ युनिटमा १० देखि १५ युनिट सम्मको ४५ रुपैयाँ हुन्छ र १५ देखी २० युनिटको ६० रुपैयाँ नगरकै शुल्क अनुसार २६ युनिटको तीन सय ५५ रुपैयाँ मात्र शुल्क देखिन्छ तर बिल भने दुई हजार छ सय ३० रुपैयाँ आएको छ । अन्य केको शुल्क आयो भन्ने केही खुलेको छैन । यसलाई हेर्दा नगरपालिकाले दर राखे पनि मनपरी शुल्क असुल्ने गरेको पाइएको हो ।

९८ प्रतिशत काम

‘इलाम बजार तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को निर्माणतर्फको ९८ प्रतिशत काम सकिएको आयोजना व्यवस्थापक मेघराज धिमालले जानकारी दिए । आयोजनाका व्यवस्थापक धिमालले लकडाउनमा काम हुन नसकेकाले केही ढिला भएको बताउँदै चाँडै काम सम्पन्न गर्न आफूहरू लागि परेको बताए ।

यही महिनाभित्र घरघरमा पनि झर्ने गरी काम भइरहेको धिमालले जानकारी दिए । आयोजना अन्तरगत राते र मेवा खोलामा दुई वटा इन्टेक निर्माण भएको छ भने गीताङ खोलाको इन्टेक मर्मत भएको छ । त्यस्तै सात वटा नयाँ ट्याङ्की निर्माण भएका छन् भने चार वटा पुरानो ट्याङ्की मर्मत भएका छन् ।

त्यस्तै एक सय १२ किलोमिटर पाइपलाइन विस्तार भएको छ । आयोजना मार्फत हाल तिन हजार तिन सय ४४ घरधुरीमा पाइप जडान भइसकेको छ । तीमध्ये तिन हजार तिन सय घर दुरीमा मिटर जडानको काम समेत सम्पन्न भइसकेको व्यवस्थापक धिमालले जानकारी दिए । बाँकी ४४ घरधुरीमा भने घरधनीकै अनुरोधमा मिटर जडान नगरिएको उनले बताए । त्यस्तै आयोजनाको सरसफाइ अन्तर्गत तिन वटा सार्वजनिक शौचालय निर्माण भएका छन् ।

आयोजनाको अनुमानित लागत ८४ करोड रुपैयाँ रहेकामा ५७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेको थियो । इलाम सदरमुकाममा करिब ३२ किलोमिटरमा रहेको मुहानबाट खानेपानी ल्याउन आयोजना निर्माणाधीन छ । रमण÷जिआइइटिसी जेभीले आयोजना निर्माणको ठेक्का लिएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved