‘बोलीमा होइन, व्यवहारमा परिवर्तन ल्याउँछु’ इन्द्रमोहन झा, नेपाल शिक्षक सङ्घ, सुनसरीको अध्यक्षका उम्मेदवार

  • चैत्र २, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान–१२ स्थित पब्लिक हाईस्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा धरानमा मात्र नभएर सुनसरीकै शैक्षिक क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । पब्लिक हाईस्कुललाई नेतृत्व प्रदान गरी देशकै नमुना विद्यालयमध्ये एक बनाउन सफल झा समन्वयकारी भूमिकामा निपुण मानिन्छन् । २०४८ सालमा शिक्षण पेसा थालेका उनी ०५० सालदेखि नै नेपाल शिक्षक सङ्घमा आबद्ध छन् । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घको जिल्ला कार्यसमिति सदस्य, कोषाध्यक्ष हुँदै सचिवको जिम्मेवारी सम्हालिसकेका झा ०७३ मा सम्पन्न सङ्घको आठौँ जिल्ला अधिवेशनमा वर्तमान अध्यक्ष वेणु सिग्देलसँग झिनो मतान्तरले पराजित भएका थिए । यही चैत ४ गते हुने सङ्घको नवौँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । प्रधानाध्यापक झा यसपटक पनि अध्यक्ष पदका उम्मेदवार छन् । प्रस्तुत छ अध्यक्ष पदका सशक्त उम्मेदवार झासँग यसै सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश :
निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचनका लागि ९० प्रतिशत तयारी पूरा भएको छ । मलगायत मेरो प्यानल नै जोडतोडका साथ लागिपरेको छ । हामीले शिक्षक सङ्घमा आबद्ध शिक्षक साथीहरूलाई जिल्लाका विभिन्न स्थानमा गएर भेट गरी हाम्रा एजेन्डाहरूबारे जानकारी गराइरहेका छौँ । यस प्रकार निर्वाचनका लागि हामी पूर्ण रूपमा तयार छौँ ।
सङ्घको अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
यहाँले साहै्र राम्रो प्रश्न गर्नुभयो । सुनसरी जिल्लाको शिक्षामा रूपान्तरण ल्याउन म र हाम्रो प्यानलका साथीहरूको उम्मेदवारी हो । बदलिँदो समयअनुसार शिक्षामा व्यापक परिवर्तन ल्याउन अत्यन्तै जरुरी छ । त्यसैका लागि नै हाम्रो प्यानलको उम्मेदवारी हो ।
तपाईं नेतृत्वको प्यानलबाट को को उम्मेदवार हुनुहुन्छ ?
अध्यक्षमा म भइहालेँ । यसैगरी महिला उपाध्यक्षमा इटहरीबाट चन्डिका बास्तोला निरौला, पुरुष उपाध्यक्षमा देवानगञ्जबाट कपिलदेव मेहता, सचिवमा भोक्राहा–नरसिंहबाट मनोज पोख्रेल, पुरुषतर्फ अर्थसचिवमा गढीबाट चन्द्रनारायण चौधरी र महिलातर्फ अर्थसचिवमा इनरुवाबाट रेखा मेहता उम्मेदवार हुनुहुन्छ । यसैगरी सहसचिवमा खुल्ला पुरुषतर्फ धरानबाट बालकृष्ण चौलागाईं, महिलार्फ वराहक्षेत्रबाट सरिता नेपाल, समावेशीमा भोक्राहा– नरसिंहबाट परमेश्वर मेहता र महानन्द साहलगायतको उम्मेदवारी रहनेछ । यस प्रकारले हाम्रो प्यानलबाट भौगोलिक, सामुदायिक र लैङ्गिक समावेशिता मिलाएर उम्मेदवारी रहनेछ ।
आफ्नो प्यानलको जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामी यसमा ९९ प्रतिशत विश्वस्त छौँ । हामीसँग शैक्षिक मुद्दा छन् । वर्तमान नेतृत्वले सबै पक्षलाई मिलाएर लान सकेन । नेपाल शिक्षक सङ्घको कार्यकाल चचार वर्षको हुन्छ तर वर्तमान नेतृत्वले विभिन्न बहानामा सात वर्षसम्म झुलाएर राखेको छ । अहिलेसम्म नेतृत्वको कुनै नयाँ भिजन देखिएन । म उहाँको निकटतम प्रतिद्वन्द्वी थिएँ तर अहिलेसम्म कुनै प्रकारको समन्वय र सहकार्य गर्नुभएन । अब त उहाँ अझ माथि जाने हो र अरूलाई मिलाएर लाने हो तर फेरि पनि उम्मेदवारी दिएर उहाँले पदलोलुपता देखाउनुभएको छ । यो नेतृत्वबाट परिवर्तन सम्भव छैन । शिक्षकहरूले परिवर्तन चाहेका छन् । त्यसैले जिल्लाभरि सङ्घमा आबद्ध रहेका सम्पूर्ण साथीहरूले परिवर्तनका संवाहक मसहितको प्यानललाई आफ्नो अमूल्य मत दिनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
तपाईंका मुख्य एजेन्डाहरू के के छन् ?
सबैभन्दा पहिलो कुरा, मुलुकमा सङ्घीयता आएको छ । सङ्घीयताको अर्थ के हो त ? हिजोका दिनमा हामी सबै काम जिल्लामा गराउँथ्यौँ । आज सम्पूर्ण काम स्थानीय तहमा हुन्छ । स्थानीय तहमा शिक्षकले अधिकार पाउनका लागि शिक्षा समितिमा शिक्षक महासङ्घको प्रतिनिधिको भूमिका रहन्छ तर वर्तमान नेतृत्वले शिक्षक महासङ्घ गठन गर्न सकेन । जहाँ पनि म आपैmँ गइहाल्छु, शिक्षक महासङ्घ किन गठन गर्ने भनेर नेतृत्वमा भ्रम थियो । सुनसरीका १२ वटै पालिकामा शिक्षक साथीहरूलाई धेरै अप्ठ्यारो परेको छ । शिक्षकहरूले आफ्ना माग पूरा गर्नका लागि सम्बन्धित ठाउँमा भन्न सक्नुहुन्न किनभने त्यसका लागि आधिकारिकता छैन । शिक्षा समितिमा शिक्षक महासङ्घका प्रतिनिधिहरू भए भने शिक्षकका समस्याहरू लगेर समाधानका लागि पहल गर्न सकिन्छ, तर वर्तमान नेतृत्वले त्यो काम गर्न सकेन । त्यसकारण मेरो पहिलो एजेन्डा शिक्षक महासङ्घ गठन गर्न पहल गर्नु हो । महासङ्घ गठन भएपछि शिक्षकका ५० प्रतिशत समस्या समाधान हुन्छ । महासङ्घका प्रतिनिधिमार्फत् समस्यालाई शिक्षा समिति र कार्यपालिकामा पु¥याउन सजिलो हुन्छ । त्यसकारण शिक्षक महासङ्घ गठन हुनु जरुरी छ । दोस्रो कुरा, विभिन्न ठाउँमा शिक्षकहरूले अझै पनि समयमा तलब पाइरहेका छैनन् । शिक्षकहरूले प्रत्येक महिना समयमै तलब खान पाउनुपर्छ । यसका लागि म पहल गर्नेछु । म बोलीमा हैन, व्यवहारमा परिवर्तन ल्याउन चाहन्छु ।
पब्लिक हाईस्कुलजस्तो स्थापित नमुना विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । शिक्षक सङ्घमा आउनुभयो भने समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
सही प्रश्न गर्नुभयो । प्रश्न उठ्नु स्वाभाविक पनि हो । विद्यार्थी कम वा बढी भएका दुवै विद्यालयमा उत्ति नै काम गर्नुपर्छ । तर पनि अलि बढी विद्यार्थी भएको विद्यालयमा जिम्मेवारी बाँडफाँट गर्नुपर्दछ । म आपैmँ प्रअ रहेको पब्लिक हाईस्कुलमा मैले प्रि–प्राइमरी, प्राइमरी, एकेडेमिक, भौतिक कुरा, अभिभावक काउन्सिलिङ, यातायात, लेखालगायत सबै कामहरूको जिम्मेवारी दिएको छु, जसले गर्दा विद्यालय सिस्टमले चलेको छ । नेतृत्वले निर्णय लिन सक्नुपर्छ र जिम्मेवारी दिएकालाई राम्ररी परिचालन गर्न सक्नुपर्छ ।
जसरी मैले स्कुलमा एउटा सिस्टम बसाएको छु, त्यसै गरी त्यो अनुभवले सङ्घको नेतृत्वमा आएँ भने १२ वटै पालिकामा टिम बनाएर परिचालन गर्ने व्यवस्था मिलाउँछु । स्कुल टाइममा स्कुललाई टाइम दिनुपर्दछ र बाँकी समय सङ्घलाई दिई राम्रो तारतम्य मिलाएर दुवै कामलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा म विश्वस्त छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
जिल्लाभरि रहनुभएका सङ्घमा आबद्ध अग्रज शिक्षक र साथीहरूलाई मसहितको हाम्रो प्यानललाई आफ्नो अमूल्य मत दिएर अत्यधिक बहुमतले विजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु । जो सङ्घमा आबद्ध हुनुहुन्न, उहाँहरूलाई पनि आफ्ना आफन्त र साथीभाइहरूलाई अध्यक्षमा इन्द्रमोहन झासहितको सिङ्गो प्यानललाई विजयी गराउन आ–आफ्नो ठाउँबाट पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved