धरान / धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार पूर्वी पहाडी क्षेत्रका किसानहरुको खरिद बिक्री गर्ने केन्द्रविन्दु बनेको छ । यस बजारमा कोशी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लाबाट उत्पादन भएका कृषि जन्य सामग्री तथा खसी बोका बिक्रीका लागि आउने गरेका छन् ।
तर बिचौलियाका कारण कृषकहरुले उचित मूल्य पाउन सकेका छैनन् । बिचौलियाहरु घर घरमै पुगेर कृषकले उत्पादन गरेको सागसब्जी तथा खसीबोका खरिद गरेर कृषि बजारमा ल्याउने र मंहगोमा बिक्री गर्ने गर्छन् । जसले गर्दा कृषकहरु मारमा परेका छन् । विचौलियालाई नियन्त्रण गर्न नसक्दा कृषकहरु मार्कामा पर्ने गरेका छन् ।
यो बजारमा पूर्वी पहाडी जिल्लामा उत्पादन भएका कृषि सामग्री मात्र हैन खसी बोका खरिद बिक्रीको स्थल समेत बनेको छ । पूर्वी पहाडी जिल्लाका कृषकले पालेका अधिकांश खसी बोका यही बजारबाट बिक्री हुने र यहाँबाट नेपालका विभिन्न स्थान र भारतसम्म निर्यात हुने गरेको छ ।
जारमा प्रत्येक शुक्रबार खसी बोकाको कारोबार राम्रै हुने गरेको छ । बजारमा कृषकले पालेका खसीबाख्रा प्रशस्तै आए पनि बजारसम्म खरिदका एक आद्य कृषकबाहेक बजारसम्म ल्याउने व्यक्ति भने विचौलिया हुने गरेको छ । गाउँ गाउँ पसेर सस्तो मूल्यमा खसी बोका ल्याउने र कृषि बजारमा बिक्री गर्ने काम विचौलियाले गर्ने गर्छन् ।
गाउँबाटबाट ल्याउने पनि विचौलिया र त्यहाँ खरिद गर्ने पनि विचौलिया नै हुने गरेका छन् । विचौलियाले कसैले त्यही खरिद गरेर त्यही बिक्री गर्छन् भने कतिपयले खरिद गरेर बाहिर लाने गर्छन् ।
बिचौलियाले तौलमा ठग्नेमात्र हैन भाउ समेत राम्रो नदिने गरेको गुनासो कृषकको छ । विष्णुपादुकाबाट आफूले पालेका खसी बोका खरिद गर्न आएका कृषक चन्द्र बहादुर मगरले बिक्री गर्नका लागि ल्याइएको खसी बोका भरसक व्यापारीहरुले तौल नगरी होलसेलमा खरिद गर्न खोज्ने बताउँछन् ।
उनी भन्छन्–‘बजारमा डिजिटल काँटा छ, जोखेर बिक्री गरौ न त भन्यो व्यापारीहरु सालाखाला मूल्य तोक्छन् उनीहरुले भनेको दाममा नदिए खसी बोका बिक्री नहुन पनि सक्छ ।’
कृषि बजारले पनि कृषक नठगिउन् भन्ने अभिप्राययले नै डिजिटल काँटाको समेत व्यवस्था गरिदिएको हो । यही विचौलियाको काम गरेर बर्षौदेखि जीवन निर्वाह गर्नेहरुको पनि यस बजारमा कमी छैन । १७ वर्षको उमेरदेखि अहिले ४५ वर्ष पुग्दासम्म यही विचौलियाकै काम गर्दै आएका गुणराज विश्वकर्मा गाउँ गाउँ पसेर खसी बोका खरिद गरेर कृषि बजारमा ल्याएर बिक्री गर्ने बताउँछन् ।
उनी भन्छन्–‘मेरो यही कामबाट गुजारा चलेका छ, पहाडका गाउँ गाउँमा पुगेर खसी बोका खरिद गरेर ल्याउँछु र कृषि बजारमा बिक्री गर्छु, यहाँ बिक्री नभएको खसी बोका तराइका अन्य स्थानमा पु¥याउँछु ।’ पछिल्लो शुक्रबार माघे संक्रान्तिलाई लक्षित गरी धेरै खसीबोका कृषि बजारमा भित्रिएको थियो । कृषकलाई सहज होस् भन्ने उद्देश्यले कृषि बजारले सस्तोमा कृषकलाई खानेबस्ने, बाथरुम ट्वाइलेटको व्यवस्था गर्दा समेत कृषिक आफैले बिक्री गर्न नआउने गरेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् ।
उनले भने–‘एक हजार भन्दा बढी व्यापारी आउँदा मुस्किलले १ सय कृषक यो बजारमा आउँछन् ।’ उनले जिउँदो खसी बोका प्रति केजी ५ सयदेखि ६ सय सम्ममा खरिद गर्ने गरिए पनि धेरैजसोले खरिद गर्दा तौल नै नगरी सालाखाला खरिद गर्ने, कृषकसँग चलेको भाउ भन्दा कममा विचौलियाले लिने गरेको बताए ।
विचौलिया नियन्त्रण गर्न कृषि बजारले जति गर्दा पनि नसकेको उनको भनाई छ ।
यो बजारमा प्रत्येक शुक्रबारमात्र तीन हजार थान भित्रिने गरेको छ । माघे संक्रान्तिलाई लक्षित गरेर यो शुक्रबार भने ३५ सयसम्म खसी बाख्रा भित्रिएको व्यवस्थापक भट्टराईले बताए । मूल्यको हिसाबले यो बजारमा खसी बोकाकै मात्र कारोबार एक हप्तामै ३० करोड भन्दा मथिको हुने गरेको छ ।
अन्य समय भन्दा दशै, तिहार तथा माघे संक्रान्ति जस्ता चाडपर्वमा खसीबोकाको कारोबार अत्याधिक हुने गरेको उनको भनाई छ । तर कृषि बजार कृषकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको भए पनि कृषकले भन्दा पनि यो बजारबाट विचौलियाले भरपूर फाइदा लिएका छन् यसको नियन्त्रण गर्न कृषि बजारले सकेको छैन ।