राजनीतिमा ‘सुवास’ छरेर अस्ताएका नेम्वाङ देशनै शोकमग्न, ढल्यो इलामको आशाको दियो

  • भदौ २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt -भगीरथ भण्डारी

इलाम/  संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेकपा एमाले उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं २ इलामका प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको मृत्युले सिङ्गो देशनै शोकमग्न भएको छ ।

नेपाली राजनीतिमा भद्र र मृदुभाषी नेताको छवि स्थापित नेम्वाङको मृत्युले देशनै शोकमग्न बनेको हो ।

मंगलबार बालुवाटारस्थित आफ्नो निजी निवासमा हृदयाघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्‍याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।

नेम्वाङलाई राति १ बजे हृदयाघात भएको र उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए ।

त्यसपछि परिवारका सदस्यहरूले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर ललितपुरका च्यासल स्थिल पार्टी कार्यालयमा राखिएको छ ।

नेम्वाङका छोराहरू विदेश भएकाले उनीहरू फर्किएपछि मात्र अन्त्येष्टि गरिने र त्यतिन्जेल पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको हो ।

संविधानसभा अध्यक्ष नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।

मङ्गलवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।


नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको भन्दै नेताहरुले दुख व्यक्त गरिरहेका छन् ।

राष्ट्रपति राम चन्द्र पौडेलले नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको भन्दै नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘दिवङ्गत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताए । उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भन्दै मेरा लागि उहाँ हितैषी मित्र र सुख दुःखको साथी रहेको बताएका छन् ।

राष्ट्रिय राजनीतिमा स्वच्छ छवि बनाएका नेम्वाङ्गको इलामका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए ।

उनले देश र जनताका लागि पुर्‍याएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताएका छन् ।

नेपाली काँग्रेस इलामका सभापति डम्बर खड्काले नेम्वाङलाई इलामले सधैँ सम्झिरहने भन्दै ‘पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै इलामको चौतर्फी विकासमा ठुलो योगदान दिएको बताए ।

नेकपा एकीकृत समाजवादी इलामका अध्यक्ष भक्त केसीले उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता रहेको भन्दै उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने बताए ।
चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले इलामको दक्षिण क्षेत्रले एउटा असल अभिभावक गुमाएको बताए ।

‘राजनैतिक आस्थाको रूपमा उहाँ फरक दलको नेता भए पनि हामीले उहाँबाटै राजनीति गर्न सिकेको भन्दै हाम्रो असल अभिभावक गुमेको भन्दै इलामको विकास र समृद्धिमा उहाँले खेलेको भूमिका हामी कहिल्यै भुल्ने नसक्ने बताएका छन् ।

नेम्वाङले इलामको दक्षिण क्षेत्रमा गर्ने विकासका कामहरूमा देखेका सपनाहरूलाई पुरा गर्ने प्रतिबद्धता समेत गरेका छन् । इलामको रोङ, माङसेबुङ गाउँपालिकाले नेम्वाङको मृत्युको खबर पाएसँगै मङ्गलवार शोकविदा दिएका छन् । अन्य पालिकाहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमानदार छवि बनाएका नेम्वाङ जिल्ला बासीका लागि ‘राजनीतिक मियो’ थिए ।

नेपाली राजनीतिमा भद्र र मृदुभाषी नेताको छवि स्थापित नेता हुन नेम्वाङ्ग ।

पार्टी भित्र समेत समन्वयकारी भूमिका निर्वाह गर्ने नेता नेम्वाङ्ले संविधानसभाको अध्यक्ष भई निर्वाह गरेको भूमिका समेत विवाद रहित बन्न पुग्यो ।
उनकै अध्यक्षताको संविधानसभाले संविधान जारी गरेको थियो ।

पछिल्लो समय एमालेको उपाध्यक्ष एवम् संसदीय दलको उपनेता समेत उनी दैनिक जसो आफ्नो कार्यालयमा आफ्ना सांसदहरूलाई संसदमा निर्वाह गर्नु पर्ने भूमिकाका बारेमा ‘प्रशिक्षित’ गर्ने गरेका थिए । कुनै महत्त्वपूर्ण विषयलाई संसदमा उठान गर्नु पर्‍यो भने अधिकांश एमाले सांसदहरू उनको राय लिन पुग्ने गरेका थिए ।

२०५६ सालमा इलाम—२ बाट निर्वाचित भएका नेम्वाङ्ग २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बने ।

त्यसपछि त्यही साल माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म उही जिम्मेवारीमा रहे २०६४ को संविधानसभा निर्वाचनमा इलाम—२ बाट निर्वाचित भए ।
२०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभा अध्यक्ष तथा सभामुख बने ।

उनले २०७० को दोस्रो संविधानसभा चुनाव पनि इलाम—२ बाट नै जिते । २०७४ र २०७९ को निर्वाचनमा पनि उही क्षेत्रबाट जित हासिल गरे । नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ फागुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार समेत बनेका थिए ।

२०२९ सालमा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियूको तर्फबाट सभापति बनेपछि क्रमिक रूपमा तत्कालीन माले हुँदै राजनीतिको मूल प्रवाहमा होमिए । २०५४ सालको छैठौ महाधिवेशन पछि लगातार केन्द्रीय कमिटीमा रहँदै आएका उनी पछिल्लो समय उपाध्यक्षको भूमिकामा रहेका थिए ।

२०४८ साल देखिनै संसदीय अभ्यासमा रहेका उनी सभामुख पदलाई ‘ब्राण्डिङ्’ गर्नेमा उनको महत्त्वपूर्ण भूमिका छ । उनले सभामुखको गरिमा, स्वतन्त्र छवि, सम्मानित व्यक्तित्व कस्तो हुनु पर्छ भन्ने स्थापित गरी दिए ।

कतिपय सभामुखहरूको भूमिकाको विषयलाई लिएर टीकाटिप्पणी हुने गरे पनि उनको एक दशकको यात्रा सन्तुलित र स्वतन्त्र रह्यो । नेता नेम्वाङ् २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बने भने त्यसपछि सामान्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए ।

संविधानसभा अध्यक्ष, सभामुख जस्तो उच्च राजनीतिक पदमा रहेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरूका कारण व्यस्त नेम्वाङले आफू निर्वाचित भएको क्षेत्रमा जान नभ्याउँदो आलोचित समेत बन्नु परो ।

तर उनले आफू निर्वाचित भएको क्षेत्रमा गरेका विकास र समुदाय प्रतिको योगदान उच्च रहेको छ ।

उनैको अग्रसरताका कारण पूर्वी नेपाल र खास गरी किरात समुदायमा चेतना, शिक्षा र अहिंसाको दर्शन स्थापित गरेका महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूती घोषणा गरिएको छ ।

उनी निर्वाचित भएपश्चात् दमकबाट इलाम हुँदै पाँचथरको रवि सम्म पुग्ने सडक निर्माणलाई उच्च महत्त्व दिई मेची पहाड र तराई जोड्न उनको भूमिका उच्च रहेको छ ।

त्यस्तै वर्षौँ सम्म विद्युतीकरण नभएका गाउँमा त्यहाँको सांसदको भूमिकामा उनले विद्युती करणका लागि अगुवाइ गरे ।

यस्तै वर्षा याममा आउजाउ नै ठप्प हुने अवस्था रहेकोमा पक्की पुल निर्माणका कारण जनजीवन सहज मात्र भएको छैन, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता सेवाका लागि तराईसँगको सम्बन्ध पनि सहज भएको छ ।

उनले आफ्नो क्षेत्रमा सडक निर्माणका लागि छुटाएको बजेटले निर्वाचन क्षेत्रमा जता तसै सडक निर्माण भएका छन् ।

आफूले निर्वाचन जितेको क्षेत्रको विकासका लागि राँके रवि भेडे टार, राँके गैँडे दमक, मङ्गलवारे पुङ फुङ, एकतप्पा, आमचोक रवि सडक कालो पत्रेको प्रक्रिया सुरु भइसकेको छ ।

यी गौरवका आयो जना सम्पन्न भइसक्दा उनको निर्वाचन क्षेत्र तराईसँग पानी पाँधेरो नै बन्ने अपेक्षा रहेको छ ।

उनले निर्वाचनको बेला सँधै इलामेली जनताको शिर फुक्ने काम गर्ने छैन भनेर भाषण गर्ने गर्दथे ।

असल र इमानदार नेता भएको कारणले राष्ट्रिय राजनीतिमा विवादरहित नेताको रूपमा स्थापित बन्न पुगे । राजनीति यात्रामा स्वच्छ सफल नेता सुवासचन्द्र नेम्वाङको जन्म २००९ फागुन २८ मा इलामको सुन्तलावारिमा भएको हो ।

संविधानसभा अध्यक्षको ऐतिहासिक कार्यकाल निर्वाह गरेका नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख थिए । २०४८ र २०५२ मा गरी उनले दुई पटक राष्ट्रिय सभामा पनि संसदीय अभ्यास गरेका थिए ।

२०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसद्को सार्वजनिक लेखा समितिको सभापति समेत बने ।

कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालेको अनुभव थियो ।

२०२९ सालमा अनेरास्ववियुको अध्यक्ष बनेका उनी जीवनदेखि नै राजनीतिमा लागेका थिए । नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल समेत परे । त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उनका दुई छोरा र दुई छोरी छन् ।

संविधानसभा मार्फत सङ्घीयता एवम् समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेम्वाङको भूमिका उच्च रहेको थियो ।

उनको निधन सँगै नेकपा एमाले इलामले पार्टी कार्यालयमा शोक पुस्तीका राखेको छ भने पार्टीको झन्डा झुकाएको छ ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved