धरान । धरानको खानेपानी समस्यालाई समाधान गर्न सञ्चालनमा आएको धरान खानेपानी बोर्डमा अहिले विवाद चुलिएको छ । लामोसमयदेखि वैठक नबसेको, आर्थिक पारदर्शिता नभएको विषयमा बोर्डका सदस्यहरुले अदालतमा मुद्धा चलाएपछि बोर्डका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाड र बोर्डका सदस्यबीच विवाद चुलिएको हो । साम्पाङ विरुद्ध जेठ २५ गते सदस्यहरुले मुद्धा दायर गरेका थिए ।
सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडिवी) को ऋण सहयोगमा सञ्चालित खानेपानी परियोजना सम्पन्न भइसकेपछि धरान खानेपानी संस्थान शाखा धरानलाई समाहित गरेर गठन गरिएको धरान खानेपानी बोर्डको वैठक नसकेको, बोर्डमा भएको गतिविधिका विषयमा जानकारी नभएको भन्दै सदस्यहरुले पटक पटक ध्यानाकर्षण गराए पनि बैठक बस्न नसकेपछि असन्तुष्ट सदस्यहरुले मेयर साम्पाङका विरुद्ध उच्च अदालतमा मुद्धा दायर गरेपछि बोर्डमा विवाद चुलिएको हो ।
बोर्डका सदस्य एवम सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, धरान १७ का वडाध्यक्ष एवम धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्यकुमार भट्टराई, नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेल, खानेपानी संस्थान धरानका पूर्व कर्मचारी देवराज श्रेष्ठले उच्च अदालत विराटनगरमा मुद्धा दर्ता गेरेपछि अदालतमा उपस्थिति समेत भइसक्नु भएका मेयर साम्पाङले नक्कली सदस्यले फर्जी कागजात तयार पारेर मुद्धा हालेको प्रति रुष्ठ बनेका थिए ।
उनले विहीबार पत्रकार सम्मेलनको आयोजना गरेर मुद्धा हाल्नेहरु बोर्डका सदस्य नभएको तर्क राखे । उनले पत्रकार सम्मेलानमा मुद्दा दायर गर्ने वडा नं १७ का अध्यक्ष भट्टराई जलस्रोत संरक्षण तथा प्रर्वद्धन संस्था धरान १७ को प्रतिनिधिकोरुपमा बोर्डमा सदस्य भएपनि उपमहानगरपालिकामा सुचिकृत नभएको, नेपाली कांग्रेसका सभापति श्याम पोखरेल राष्ट्रिय उपभोक्ता मञ्च सुनसरीको प्रतिनिधिको रुपमा बोर्ड सदस्य भए पनि सो संस्था उपमहानगरपालिकामा दर्ता र सूचिकृत नभएको र देवराज श्रेष्ठको कार्यकाल समाप्त भइसकेको र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले निर्वाचित भएर आएपछि जानकारी नदिएको तर्क राखेका थिए ।
त्यसको लगत्तै शुक्रबार बोर्डका चारैजना सदस्यहरुले पत्रकार सम्मेलन गरेर मेयर साम्पाङले सदस्यमाथि उठाएको आधिकारिताप्रति स्पष्ट पारेका थिए । सो अवसरमा बोल्दै बोर्डका सदस्य एवम् धरान उपमहानगरपालिकाका वडा १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले धरान उपमहानगरपालिका र बोर्ड भिन्नाभिन्नै सस्था भएकोले ऐनमा मेयर बोर्डको अध्यक्षमा हुनुपर्छ भन्ने प्रावधान नभएको बताए ।
बोर्डको बैठक नराखी मेयर साम्पाङले जथाभावि गरेको कामको जिम्मेवारी सदस्हरु जिम्मेवार नहुन स्पष्ट पार्नका लागि पत्रकार सम्मेलनको आयोजना गरेको बार्डका सदस्य एवम् नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले बताए ।
पूर्व मेयर एवम् बोर्डका पूर्व अध्यक्ष तिलक राईले निर्वाचित भएर आएपछि बोर्डको मिटिङ बसेर सदस्यबाट अध्यक्ष चुुन्ने प्रावधान भएपनि त्यो नगरेकाले मेयर साम्पाङ बोर्डको सदस्यमात्र रहेको तर्क राखेका छन् ।
धरान खानेपानी व्यवस्थापन बोर्ड ०६३ को दफा १० अनुसार बोर्डको सदस्य भएको बताउदै उनीहरुले यो ऐनमा कार्यसमितिको बैठकले अध्यक्ष चुन्ने प्रावधान भएपनि त्यो समेत नगरेको र समय समयमा गर्नुपर्ने पदाधिकारीको वैठक समेत नगरेको सदस्यहरुको आरोप छ ।