यात्रा संस्मरण "पञ्चायत माविको शैक्षिक भ्रमण"

  • पुष २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / कोरोना संक्रमणकाल लम्बिएसँगै विगत दुइटा वर्षयता शैक्षिक भ्रमण गरिएको थिएन । भय र त्रासमुक्त यस वर्ष भने शैक्षिक भ्रमणमा निस्कने सल्लाह भयो । विद्यालय प्राचार्य अर्जुनकुमार बुढाथोकीको छनौट र सहकर्मी बुद्धिनाथ अधिकारीको सल्लाहमा म भ्रमणमा जान तयार भएँ ।

भ्रमणको तयारीमा उत्साह र उर्जा दुबै थियो । सहायक प्राचार्यको जिम्मेवारीमा समेत रहनुभएका सहकर्मी बुद्धिनाथ अधिकारीको योजनाअनुसार हामी अघिल्लो दिन साँझपख विद्यालयमा भेला भयौँ ।
गत पौष १३ र १४ गते तेह्रथुमको ऐतिहासिक तीनजुरे जाने निधो गरेसँगै हामी भ्रमणको औपचारिक तयारीमा अघि बढ्यौँ ।

321 2

मेरालागि यो भ्रमणको तीनजुरे यात्रा पहिलोपटक थियो । कस्तो होला तीनजुरे मनमा कुरा खेलिरहेका थिए । बुद्धिनाथ सरको सूचनाअनुसार पहिलो दिन बिहान पौने ७ बजेतिर विद्यालय परिसरमा जुटेका थियौँ । कक्षा १२ सम्मका विज्ञान संकायका विद्यार्थीहरू लिएर जानुपर्ने भ्रमण आफैंमा निकै महत्वपूर्ण थियो ।

भ्रमण अध्ययन र अवलोकनमा रहने विद्यार्थीलाई अभिभावकत्वपूर्ण स्नेह दिने शिक्षक सहकर्मीमा चक्रधर गौतम, पारस नेपाल र राजेन्द्र दाहाल थियौँ । ३५ जनासम्म अटाउन सक्ने दुइटा भूल्के बसमार्फत अघि बढिएको यो भ्रमण पौषको चिसोलाई छिचोल्दै अघि बढ्नु सामान्य थिएन । भ्रमणप्रति एकाएक विकसित जाँगर, उर्जा र उत्साहले चिसोको पनि धेरै प्रवाह नगरी यात्रा अघि बढ्यो, पौने ८ नबझ्दै इटहरी पुग्यौँ ।

चारैतिर दिशानिर्देश गर्ने इटहरीको उत्तरतर्फ नियाल्दै हामी तरहरा लाग्यौँ । ठूलो, चौडा र फराकिलो ६ लाइनको बाटो छिचोल्न कत्तिबेर पनि लागेन धरान पुग्यौँ । धरानले हामीलाई जिस्क्याइरहेको थियो, जोर हात हल्लाउँदै र बाइबाइ गर्दै हामी एकवेगले उकालो लाग्यौँ । हाम्रो ध्याउन्न उपलब्धीमूलक गन्तव्य पूरा गर्नमा सीमित थियो ।

बिहानको चिसो कटाउने चियाखाजा भेडेटारमा खाने सल्लाह भएअनुसार केहीबेर अलमलियौँ । भेडेटार नजिकै पुग्दादेखि नै देखिने मनमोहक दृश्यले हामीलाई लोभ्याइरहेको थियो । हामी उत्साहित मात्र होइन, लज्जित पनि थियौँ । श्रृंगारपेटार भएकी दुलही झैँ लाग्यो यस्तो सुन्दर ठाउँको नाउँ किन भेडेटार राखिएको होला ? मनैमन प्रश्नोत्तर खेलाउँदै यात्रा अविराम अघि बढ्दै रह्यो ।

यति फराकिलो र सबैलाई अटाउन सक्ने भेडेटारलाई साँघुरीगढीका नाउँले किन साँघुरो बनाएको होला ! किन कैद गरेको होला ! अर्को प्रश्न तैरियो । हुन त हाम्रोमा सुको गोजीमा नभएका मानिसको नाउँ पनि धनकुमार, धनप्रसाद र धनबहादुर हुने गर्दछ । यो हाम्रो आफ्नै प्रचलनलाई सिको गर्दै चित्तबुझाउन सजिलो थियो ।

पाथीभरा मन्दिर, सिसुवा नमस्ते झरना र शंखपार्कलाई सँगसँगै लिएर चिसोतातोको प्रवाह नगरी मुस्कराइरहेको भेडेटार र साँघुरीगढीलाई साढे १० तिर छाडेर हामी अघि लाग्यौँ । नमस्ते झरनाको मोहित दृश्यले सबैलाई खिचेको थियो । प्रकृतिले त नमस्ते गर्छ, सचेत मानिसले एकापसमा किन नमस्ते नगर्ने मनैमन जिज्ञासा उब्जिरहेका थिए ।

नमस्ते झरनालाई फेरि भेट्ने बाचाकबोल सहितको नमस्ते गर्दै हामी मूलघाटतर्फ लाग्यौँ । यतिबेला मध्यान्हको १२ बजेको हुनुपर्छ । चिसो अलिक मत्थर हुँदै गएको थियो । मूलघाटबाट एकातिरबाट पाँचथर पनि जान सकिन्छ भने अर्कोतिर तीनजुरे जाने मार्ग छ । लाबरबोटे मार्ग हुँदै अघि लाग्ने क्रममा नजिकै रहेको होटलमा मध्यान्हको खाना खाइयो । घरबाहिरको यो समुहगत सहभोग आफैंमा वनभोजको झल्को दिने थियो । यसक्रममा उब्जेका खुशीहरू साटासाट गर्दै हामी गन्तव्यतर्फ निस्क्यौँ ।

केहीबेरमै धनकुटा पुग्यौँ । पूर्वको धनकुटा कुनै बेला नेपालकै शैक्षिक गतिविधिको केन्द्र थियो । हामी शिक्षकका समकालीन विद्यार्थीले प्रायशः धनकुटा पढेको र व्यवहोर्नुपरेको घटनाबारे पनि विद्यार्थीलाई जानकारी दिनु नै थियो । गाडीभित्र यसबारे यथेष्ट चर्चा गर्दै हामी धनकुटा मास्थिरको सल्लाघारीमा हुँइकने चिसोलाई नमन गर्दै अघि बढ्यौँ ।

जतिजति उकालो उक्लन खोजिन्छ, उतिउति चिसोले हामीलाई जिस्क्याइरहेको हुन्थ्यो, घरिघरि त धम्क्याइरहेको पनि हुन्थ्यो । दुलोभित्र पसेको सर्पलाई नचलाउनु भनेजस्तै यो चिसोमा पटकपटक झ्याल ढोका खोल्न र गाडीबाहिर निस्कन सम्भव थिएन । आङ जिरिङजिरिङ गर्दै हाम्रो यात्रा क्रमशः गन्तव्य छिचोल्नमा केन्द्रीत थियो । मध्यान्ह साढे २ बजेतिर पाख्रिबास टेक्यौँ । कृषि अनुसन्धान केन्द्र समेत रहेको पाख्रिबास धनकुटा विकासको अभिन्न अंग हो भन्ने कुरा यहाँ पुगेपछि मात्र छर्लङ हुँदो रहेछ ।

२०२८ सालमा बेलायत सरकारको सहयोगमा सम्पन्न भएको कृषि अनुसन्धान केन्द्रलाई २०५५ सालमा नेपाल कृषि अनुसन्धान परिषद् बनाएर हस्तान्तरण भएको रहेछ । राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्र र राष्ट्रिय बंगुर अनुसन्धान केन्द्र गरेर यसअन्तर्गत ३ वटा अनुसन्धान केन्द्रहरू सञ्चालित छन् ।

यहाँका प्राविधिक सहायक सविन विश्वकर्माले यसबारे विद्यार्थीलाई सबिस्तार चर्चा गर्दै अध्ययन अवलोकन गराउनुभएको थियो । यो क्रम सकेर हाम्रो यात्रा तीनजुरेतर्फको बाटो उकालो लाग्यौँ । पैदलयात्रुलाई मात्र होइन, गाडीलाई पनि उकालो उक्लन निकै गाह्रो हुँदो रहेछ यसपटक महशुस भयो । मानिस कसरी उक्लँदो हो ! समथल भूक्षेत्रमा बसोबास गर्ने हामीले केहीबेर सोच्यौँ ।

सकसपूर्ण यात्रालाई छिचोल्दै साढे ५ बजेतिर हामी बसन्तपुर पुग्यौँ । लालीगुराँस नपा वडा नं. २ अवस्थित बसन्तपुर पुग्दा हामी लखतरान परेका थियौँ । घुम्ती काट्दै जाने कुराले हामी गलेर हैरान भएका थियौँ । यस दिनको यात्रा बजारको हिमालयन र बसन्तपुर भ्यू होटलमा पुगेर विश्राम दियौँ ।

पहाडी हावापानी उब्जेको दालसँग तराइको उत्पादित चामल मिलाएर खाएर हामी शयनविश्राममा लाग्यौँ । जोगीको घरमा सन्यासी पाहुना भने जस्तै हामी सबैले स्वयंलाई चिसो, जाडो र सिरोटेबाट बचाउनु र स्वयंलाई सम्हाल्नुको विकल्प थिएन । न्यायो ओछ्यानको जोहो गर्दै मीठो निन्द्रामा रात बितायौँ ।

भोलिपल्ट बिहानबिहानै तीनजुरेतर्फ हानियौँ । बाटादोबाटामा भरखरै फूल्न लागेका गुराँसका फूलहरू देखेर हामी सम्मोहित थियौँ । पहाडी जिल्ला तेह्रथुम र संखुवासभाको सीमावर्ती टुटे देउरालीबाट ६ किलोमिटर अगाडि बढ्दा आउने टीएमजे होटलको अघिल्तिर वनभोज खायौँ । भ्रमण औपचारिक ढंगले विद्यालयले आयोजना गरेको भए पनि भ्रमणकालका सबै गतिविधिहरू औपचारिक हुँदैन ।

परस्पर खुब रमाउँदै कम्मर मर्काइकर्माइ नाच्यौँ । स्थानीयका अनुसार नजिकै रहेको सानो पाथीभरा माता मन्दिर दर्शन गर्न विद्यार्थीहरू लालयित भएका थिए । भ्रमण हो, यो पनि भ्रमण गर्नु जरुरी छ । निष्कर्ष निकालियौँ । पाथीभरा माताको आशीर्वाद लिएर फर्कने निधोसाथ भोलिपल्ट मध्यान्ह २ बजे यात्रारम्भको बिन्दु पहिल्याउँदै पथरी फर्कियौँ । झण्डै साढे ६ बजे घर–घर पुग्यौँ ।

देखेको र लेखेको, लेखेको र देखेको भावमिश्रित यो भ्रमणबारे सम्झना गरिरहँदा यो महत्वपूर्ण घटना परिघटना रहन पुग्यो । आमविद्यार्थीका लागि यो पढाइलेखाइँको विषयभन्दा पनि देखेको र भोगेको यथार्थपरक अविस्मरणीय ज्ञान हुन्छ भन्ने बुझाइ आदानप्रदान गर्दै यसपटकको यो तीनजुरे यात्रा सम्पन्न गरेका छौँ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved