ईलाम / ईलामको फाकफोकथुम हुदेै माङ्सेबुङ्ग गाउँपालिका र झापा जोड्ने राँके –गैँडे सडक निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दाहरुले समस्या भोगिरहेका छन ।
लामो समय सम्म चर्चामा रहेको उक्त सडक शिलान्यास गरे पनि निर्माणले गति लिन नसक्दा स्थानीयहरुले समस्या भोगिरहेका छन। करिब ५२ किलोमिटर यात्रामा तराई जोड्ने उक्त सडकको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्नेगरि शिलान्यास गरिए पनि निर्माणले गति लिन नसक्दा सडक अवस्था अलपत्र बनेको छ ।
राँके – गैँडे सडक पर्ने देउराली फलाँटे गजुरमुखी इभाङ्ग सडक – खण्डको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने भनि थालिए पनि निर्माणले तीव्रता पाउन नसके पछि सडक नबन्लाकी भन्ने पिरमा स्थानीयहरु छन ।
६८ करोडमा निर्माण सम्पन्न हुने उक्त सडक दुई प्याकेजमा ठेक्का सम्झौता भई काम सुरु भए पनि सडक निर्माणले तीव्रता पाउन सकेको छैन । ठेक्का लागिसकेको सडक निर्माणमा ढिलाई हुँदा त्यस क्षेत्रका बासिन्दाहरु बर्खाको समयमा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य रहेका छन् । सडक निर्माणको ढिला सुस्ती भएसँगै उक्त सडक खण्डमा पर्ने खोलामा पुल नबन्दा झनै ठुलो समस्या रहेको छ ।
उक्त सडक – खण्ड अन्तर्गत देउमाई खोलामा पुल निर्माणको लागि डिपिआर निर्माण भए पनि काम अघि बढ्न सकेको छैन । खोलामा पुल नभएको कारण बर्खामा यातायात आवत –जावतमा समस्या हुने गरेको छ ।
सडक निर्माण पछि कृषि क्षेत्रको विकास सँगै स्थानीय उत्पादनको व्यवसायी करण गर्न सहयोग पुग्ने भएता पनि निर्माणको काम नै अलपत्र बनेको कारण सडक नबन्ने हो कि भन्ने चिन्तामा स्थानीयमा बढन थालेको छ। सडक बन्छ कि भन्ने आशामा हिउँदको समयमा धुलो र बर्खामा हिलोको समस्या वर्षैदेखि भोगिरहेका छन् ।
हिउँदमा बाटो पनि ओभानो हुने र खोला पनि सानो हुने हुँदा यात्रामा केहि सहज भए पनि बर्खाको समयमा भने आवत – जावतमा निकै समस्या हुने गरेको स्थानीय पञ्च योङहाङ बताउँछन् । खोलामा पुल नभएको र आवत – जावतमा समस्या भएपछि फाकफोकथुम गाउँपालिकाले कलवट लगाएर केही सहज बनाए पनि बर्खाको समयमा त्यसले पनि नथाम्ने उनको भनाई छ ।
कलवट बाट हिउँदको समयमा यात्रा गर्न सहज भए तापनि वर्षाको समयमा भने खोला बढेरकलवट माथि सम्म पुग्ने भएको हुँदा यातायातमा अत्याधिक समस्या भोग्नु परेको छ । यस क्षेत्रका कुनै पनि खोलामा पक्की पुल नहुँदा जोखिम मोलेर आवत – जावत गर्नुपर्ने समस्या स्थानियहरुले बताएका छन ।
फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले गाउँपालिका भित्र निर्माण सुरु भएका आयोजनालाई छिटो काम गर्न गाउँपालिकाले पहल गरिरहेको बताएका छन । उनले पालिका भित्र संचालनमा रहेका बहुवर्षे आयोजनालाई छिटो सम्पन्न र गुणस्तरीय कामका लागि निरन्तर लागिरहेको बताए ।
राँके गैँडे सडक– खण्ड निर्माणको ठेक्का लिएका सन्तोष कटुवाल भन्छन् २६ किलोमिटरको ठेक्का करिब ७० करोड लाग्ने भए पनि वार्षिक रूपमा ५ देखि ७ करोड सम्म बजेट विनियोजन हुने गरेको छ । यस वर्ष घटेर ४ करोड विनियोजन भएको छ भन्दै अब अरू कति वर्ष सम्म यो ठेक्का कुरेर बस्नु पर्ने हो टुङ्गो नभएको बताउँछन् ।
सडक निर्माणले गति लिन नसकेपछि त्यहाँको उत्पादन बजार सम्म पु¥याउन र बजारबाट सामान ल्याउन निकै कष्टकर समस्या भोगिरहेको स्थानीयको गुनासो रहेको छ। यस क्षेत्रमा मङ्गलवारे, एकतप्पा, आमचोक फुएतप्पा हुँदै पाँचथरको रवि सम्मको सडक र उक्त सडकमा र राँके गैँडे सडक निर्माण प्रक्रिया सुरु भए पनि अहिले सम्म सडक निर्माणको काम तीव्ररूपमा ।
नहुँदा यस क्षेत्रमा उत्पादन भएका कृषि जन्य वस्तुले बजारीकरण पाउन सकेको छैन यहाँका बासिन्दा हरुऔषधी उपचारका लागि समयमा अस्पताल सम्म पुग्न समेत बन्चित भएका छन ।