धरान/ नेपाली कृषकहरुले उत्पादन गरेको कृषिजन्य साामग्रीको बजारीकरण नहुदा उत्पादन अनुसारको लाभ लिन सकेका छैनन् ।
धरानस्थित कृषि उपज बजारको तथ्यांकलाई हेर्ने हो भने पनि यहाँका कृषकहरुले उत्पादन गरेको ९० प्रतिशत कृषि सामाग्री भारत निर्यात हुन्छ भने १० प्रतिशतमात्र नेपालमा खपत हुन्छ ।
उत्पादन गरेको कृषकको सामाग्री भारतीय बजारमा भर पर्नुपर्दा कृषकहरु मारमा परेका हुन् ।
‘कृषि प्रधान देश नेपाल’ भनेर संसारभरि चिनिन्छ । यहाँका अधिकांश सर्वसाधारण कृषिमै आधारित भएर जीवनयापन गरिरहेका छन् । तर उनीहरुले उत्पादन गरेको कृषि सामाग्रीको भाउ भारतीय बजारमा भर पर्छ ।
भारतले बढी मूल्य लिएर निर्यात गरिदियो भने कृषकले बढी मूल्य पाउँछन् भने भारतमै प्रसस्त उत्पादन भएर निर्यात भएन भने बारीमै फाल्नुपर्ने अवस्था छ । कृषि प्रधान देश भनेर चिनिएको नेपालमा कर्षि कर्ममा लागेकाहरुलाई आत्मनिर्भर बनाउने योजना नै छैन भन्दा हुन्छ ।
पछिल्लो समय कृषि बजारमा टमाटर अत्याधिक भित्रिएको छ । अहिले टमाटरको पिक सिजन भएपनि बजारमा यसले मूल्य पाउन सकेको छैन । यसको प्रमुख कारण हो टमाटारको बढी उत्पादन तर बजारीकरण शून्य ।
भारतले समेत टमाटर निर्यात नगरिदिँदा मूल्य ह्वात्तै बढेको छ । अर्कोतर्फ भारतले अदुवा अत्याधिक माग गरेका कारण इतिहासकै सबैभन्दा बढी मूल्य यस बर्ष कायम भएको छ ।
कृषकले २ सय ५० रुपैयासम्म व्यापारीलाई विक्री गरेका छन् भने व्यापारीले भारतीय व्यापारीलाई प्रतिकेजी ३ सय रुपैयासम्म विक्री गरिरहेका छन् । बजार भाउ स्थिर नहुनुको कारण नै नेपाली कृषकले भारतसँग निर्भर भएर हो ।
साँगुरीगढी गाउँपालिका वडा नं. ९ का कृषक एवम् नं. ९ नं. वडा सदस्य रामभक्त राईले अदुवाको भाउ स्थिर नहुनुमा पनि बजारलाई नै दोष दिएका छन् ।
विगतमा २५ देखि ३० रुपैयासम्म पनि अदुवा विक्री नहुदा अदुवा कुहेर जाने अवस्था भएको बताउदै यस बर्ष भने अदुवाले उच्चम भाउ पाएको बताए । बर्षाैपछि वडा नं ९ अहालेका कृषकहरु अदुवा खेतिबाट उक्सिने मौका पाएकोमा खुशी व्यक्त गरे ।
उनका अनुसार अदुवाबाट मात्र यस बर्ष अहालेबाट यो बर्ष १ करोड भन्दा बढी कारोबार हुने अनुमान छ । अहालेको मुख्य नगदेबालीको रुपमा अदुवा र बेसारलाई लिइन्छ तर यस बर्ष बेसरको भाग भने खस्किएको तर अदुवाले कृषकलाई यस बर्ष उकासेको उनको भनाई छ ।
उनले गाउँपालिकामा बजेट पर्याप्त नभएको त्यसमा पनि कृषिमा न्यून बजेट छुट्याएकै कारण कृषकको जीवनस्तर उकास्ने खालका कुनै काम गर्न नसकेको बताए ।
कृषकलाई मल विउको सहजता गर्ने भनिएपनि गाउँपालिकाबाट त्यो नसकिएको बताउदै चालु आर्थिक बर्ष ०८०/०८१ को पूरा बजेट ३९ लाख भएको यो बजेटबाट औजार खरिदका लागि न्यून बजेट छुट्याएको बताए ।
स्थानीय सरकारले कृषिमा बजेट प्रर्याप्त छुट्याउन नसक्ने र केन्द्र र प्रदेश सरकारले समेत सहयोग नगरेकै कारण पनि कृषकहरुले सोचेजस्तो लाभ पाउन सकेका छैनन् ।
कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार स्थायी मूल्य कृषकले नपाउने भएकै कारण विगतका बर्षहरुको मुनाफा हेरेर लगानी गर्ने गर्दा लगानी गरेको बर्ष मूल्य ह्वात्तै घट्दा नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको बताए ।
उनले विगतमा अदुवा मूल्य कम, कारोबार कम हुदा यस बर्ष कृषकहरु टमाटरतर्फ आकर्षित भएर बढी उत्पादन गरेपनि ठीक उल्टो अदुवाको मूल्य बढेको र टमाटर विक्री नभई फाल्नुपर्ने अवस्था आएको बताए ।
यो बजारबाट अरबौ रुपैयाको कृषि सामाग्रीको कारोबार हुने गरेको छ । अदुवा, बेसार, टमाटर, अकबरे खोर्सानी, अम्रिसो कुचो, तेजपत्ता लगायतका सामाग्री पूर्वी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा लगायतका जिल्लाबाट यही बजार भित्रिने गरेको छ भने यहाँ भित्रिएको कृषि सामाग्री १० प्रतिशत नेपाल र ९० प्रतिशत भारत निर्यात हुने गरेको छ । कृषककलाई मल विउ, अनुदान सहित बजारीकरणको समस्या भएकै कारण समस्या भोग्नुपरेको अवस्था छ भने सबैभन्दा जटिल समस्या भने भारतीय बजारले तोकेको मूल्यमा बजारभाउ हुने भएकोले मूल्य कहिल्यै स्थिर हुन सकेको छैन ।