सुनसरी/ झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ बराबरको नक्कली नेपाली नोट (खोटा मुद्रा) सहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति तेह्रथुमको ओयाक्जुङ गाउँपालिका–५ घर भई हाल कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा डेरा गरी बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन्।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार, नेपाल बैंकको कार्यालय अगाडि शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा उनलाई चार दिनअघि नियन्त्रणमा लिइएको थियो।
प्रारम्भिक जाँचमा उनको साथबाट एक हजार दरका नक्कली नोटहरू गरी १ लाख रुपैयाँ बरामद भएको थियो।
शुक्रबार प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा उनको डेरा खानतलासी गर्दा ५ लाख ३० हजार ६८० रुपैयाँ बराबरका विभिन्न दरका नक्कली नोटहरू र नोट छाप्न प्रयोग गरिने मेसिनसहितका सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, नोट छपाइमा प्रयोग गरिने विभिन्न प्रकारका रङ, कागज, र छपाइ मेसिनसमेत घटनास्थलबाट बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा ती नक्कली नोट उनी आफैंले छापेको खुलेको छ।
पक्राउ परेका भारतीविरुद्ध झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।