धरान/ सुनसरीको धरान–११ सृजना चोकमा सिटी सफारी अनियन्त्रित भएर पल्टिँदा तीन जना घाइते भएका छन् ।
बिहिबार दिउँसो करिब २ः३० बजे सृजना चोकबाट भानुचोकतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–००५ ह ९३५७ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सफारी चालक धरान–११ विष्णुचोकका २३ वर्षीय अविन तामाङको दुवै खुट्टामा चोट लागेको छ ।
त्यस्तै, सफारीमा सवार धरान–११ सुनौलो चोककी ५४ वर्षीया मधुमाया परियारको बायाँ खुट्टामा र ३६ वर्षीया सुस्मा परियारको दायाँ खुट्टामा चोट लागेको छ ।
घाइतेमध्ये चालक तामाङ र मधुमायाको अवस्था सामान्य रहेको छ भने सुस्माको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा लगिएको छ ।
दुर्घटनापछि सिटी सफारीलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।