धरान । धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार तराईमा उद्युम गर्मी हुदा गर्मी छल्ने नजिकको स्थानको रुपमा लिइन्छ । तराईमा अत्याधिक गर्मी हुदा यहाँ चिसो हुन्छ ।
छिनछिनमा मौसम परिवर्तनले भेडेटारको अस्तित्व जोगाएको छ । तर तराईमा ४२ डिग्री सेल्सियस तापक्रम माप गरिदा पनि भेडेटारमा विगतको जस्तो पर्यटक आउन सकेका छ्रैनन् ।
नेपालका तराईका जिल्लामात्र हैन भारतको पश्चिम बंगालका पर्यटकहरु अत्याधिक गर्मी हुँदा गर्मी छल्न भेडेटार आउने गर्छन । तर अत्याधिक गर्मी बढेको समयमा पनि भेडेटारमा विगतको दिनहरुको तुलनामा ५० प्रतिशत पर्यटक पनि नआएको भेडेटार एसोसिएसन धनकुटाले बताएको छ ।
कोरोनाको असर,बैंकले ऋण प्रवाह नगर्नु, व्यवसायी माथि बैकले लगाएको चर्को व्याजदर, कारोबारमा गिरावटका कारण यसपटक होटल व्यवसायी चौपट भएको एसोसिएसनका कोषाध्यक्ष रमेश श्रेष्ठ बताउँछन् ।
भेडेटारमा करिब साना तथा ठूला गरी १ सय ५० देखि २ सय वटा होटल सञ्चालनमा छन् । उनीहरुको व्यवसाय पर्यटकै भरमा चल्ने गरेको छ । तर पर्यटक नै नआएपछि व्यवसायीले समेत अपेक्षाकृत व्यवसाय गर्न नसकेको कोषाध्यक्ष श्रेष्ठ बताउछन् ।
उनका अनुसार सिजनमा मात्र भेडेटारमा अरबौको कारोबार हुने गरेको छ । अंग्रेजी नयाँ बर्ष अर्थात जनवरीदेखि अत्याधिक व्यवसाय हुने भेडेटार अहिले सुनसान जस्तै छ । हुन त भेडेटार पर्यटकीय गन्तव्यको सम्भावना धेरै भएको स्थानको रुपमा लिइन्छ।
यहाँ नमस्ते झरना, भुत बस्ने घर, चाल्स पइन्छ, ध्वजे डाँडा, राजारानी ताल लगायतका आकर्षक गन्तव्य स्थल रहेका छ् । ती स्थानमा समेत सर्वसाधारणको आगमन कम भएको कोषाध्यक्ष श्रेष्ठ बताउछन् । उनले पर्यटक तान्न अहिले एसियाकै सबैन्दा ठूलो र राम्रो स्काई वाक निर्माण भइरहेको, पर्यटकलाई आकर्षित गर्न क्यानोनिम,र्याफ्टिङ, प्याग्लाइडिङ,जिप लाइन, विभिन्न आकर्षक पार्कहरु रहेको बताउँदै धनकुटामा रहेको म्युजियमजस्तै भेडेटारमा भइदिए पर्यटक आउने वातावरण बन्ने बताए । उनले यस सम्बन्धमा स्थानीय सरकारसँग छलफल गरिरहेको बताए ।
कोरोना सक्रमणको समयमा ओरालो लागेको व्यवसाय संक्रमणको अन्त्य भएपछि माथि उठ्ला भन्ने व्यवसायीहरुको अपेक्षा अपेक्षामै सीमित भएको छ । संक्रमण, आर्थिक संकटले पर्यटन व्यवसायलाई नराम्ररी गाँजेको छ, व्यवसायीको व्यवसाय प्रवद्र्धन हुने खालका नीति बनाएर काम गर्नुपर्ने अवस्था तीनै तहका सरकारको रहेको व्यवसायीहरुको भनाई छ ।