धरान / तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखालेअनुरोध गरेको हो ।
तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन मौसम बिज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताए । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेर तातो हावा तथा लू चलेको छ।
नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी रहेको उनले बताए ।
तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिएको जनाएको छ।
तसर्थ, देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छु, बुलेटिनमा उल्लेख छ।