धरान / स्थानीय सरकारले स्वास्थ्य, शिक्षासँगै स्वरोजगारमूलक तालिमलाई समेत प्राथमिकतामा राख्न थालेका छन् । विशेष गरी स्थानीय सरकारले दलित, अल्पसंख्यक, आदिवासी जनजाति तथा महिला लक्षित स्वरोजगार तालिमको आयोजना गर्ने गरेका छन्।
यसै क्रममा महिलाहरुलाई सीपमुलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले धरान उपमहानगर पालिका वडा नं. १६ बजेट नै छुट्याएर मखमली जुत्ता बनाउने तालिम दिएको छ । एक हप्ते महिला लक्षित स्वरोजगार तालिममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ ।
धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका महिलाहरुलाई लक्षित गरी मखमली जुत्ता बनाउने तालिम दिएको हो । वैसाख २७ देखि जेष्ठ २ गतेसम्म सञ्चालन हुने तालिममा १९ महिलाहरुको सहभागिता रहेको छ ।
वडा सदस्य सुशिला श्रेष्ठका वडामा रहेका २१ वटा टोल विकास समितिबाट १९ जना महिलाहरुको सहभागिता रहेको बताइन् । उनले महिलालाई स्वरोजगार बनाउने उद्देश्यले वडाको महिला लक्षित कार्यक्रम अन्तर्गतको बजेटबाट एक हप्ते मखमली जुत्ता बनाउने तालिम दिएको बताए ।
मखमली जुत्ता विवाहका समयमा बेहुली भएको अवस्थामा अधिकमात्रमा प्रयोगमा आउने गर्छ । समयको सदुपयोगसँगै महिला आत्मनिर्भर बन्न सकून भन्ने उद्देश्यले पनि तालिमको आयोजना गरिएको वडा सदस्य श्रेष्ठ बताउँछिन् ।
यता तालिममा सहभागी महिलाहरुले पनि यो तालिम लिइसकेपछि आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा राखेका छन् । तालिममा सहभागी लक्ष्मी राईले घरमा त्यतिकै बस्दा समय कटाउन गाह्रो हुने र आय आर्जन गर्ने बाटो समेत नहुने हुँदा आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले १६ नं. वडा समितिले आयोजना गरेको यो तालिममा सहभागी भएको बताइन् । उनले भविष्यमा यहाँ सिकेको सीपलाई व्यवहारमा उतार्ने बताइन् ।
यस्तै तालिममा सहभागी विनाकुमार पाँचकोटीले घरमा त्यतिकै बस्नुभन्दा तालिम लिँदा घरको आयआर्जनमा पनि थप सहयोग पुग्ने अपेक्षा राखेर सहभागी भएको बताइन् । उनले यहाँबाट सिकेको सीप प्रयोग गरेर बजारीकरण गर्न सकियो भने आत्मनिर्भर बन्न सकिने बताइन् ।
प्रशिक्षक मिन्दु वास्तोलाले सिकेका कुरालाई प्रयोगमा ल्याए पनि बजारीकरणको भने समस्या भएको बताइन् । उनले मखमली जुत्ता विहे पार्टीका बढी प्रयोग गरिने भएकोले सीप सिकेर जिविकोपार्जन गर्ने सम्भावना बढी भए पनि बजारीकरणकै समस्या मुख्य रहेको बताइन् ।
धरान उपमहानगरपालिका वडा नं. १६ ले आयोजना गरेको तालिमको संयोजन नेवार एकता समाज धरान १६ वडा समितिले गरेको छ । सीप सिकेर महिलालाई पनि आत्मनिर्भर बनाउन सके आर्थिक अभावका कारण हुने समस्या समाधान हुने तालिममा सहभागी महिलाहरुले विश्वास लिएका छन् ।