प्रतिष्ठानमा अराजकता बढेको आरोप स्थानीय दलका प्रतिनिधिको ध्यानाकर्षण

  • माघ ४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन प्राध्यापकबाटै चलखेल भएको भन्दै धरानका राजनीतिक दलले प्रतिष्ठानका पदाधिकारीलाई भेट गरेका छन् ।
दलले बिपी प्रतिष्ठानमा अराजकता फैलन नदिन ध्यानाकर्षण गराएका छन् ।

प्रतिष्ठानकी सिनियर प्राध्यापक नाक, कान, घाँटी विभागकी प्राडा सङ्गिता भण्डारी छुट्टी (स्यावोटिकल लिभ) मा बसेकी भए पनि उनले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरेको विषयले व्यापकता पाएको थियो ।

चिकित्सकमाथिको हस्तक्षेप, प्रतिष्ठान पदाधिकारीको नियुक्ति र १ हजार १ सय चिकित्सक कर्मचारीको विषयलाई विवादमा ल्याउने काम गर्दै आएको प्राडा भण्डारीलाई आरोप लाग्दै आएको छ ।
राम्रा डाक्टर पलायन हुने अवस्थामा फ्याकल्टीका सिनियर प्राध्यापकबाट हतोत्साहित हुने गरी चिकित्सक विरुद्ध गतिविधि हुने गरेको प्रति धरानका राजनीतिक दलको गम्भीर ध्यानाकर्षण भएकाले समस्यालाई चाडो हल गर्न दलले प्रतिष्ठान पदाधिकारीकारीलाई सुझाव दिएका छन् ।

‘बिपी प्रतिष्ठानका समस्यामा सुझाव र सहजीकरण गर्नु राजनीतिक दलहरुको पनि कर्तव्य हो, त्यसैअनुसार सहजीकरणको प्रयत्न गरेका हौं,’ प्रतिष्ठानका पदाधिकारीसँगको छलफलपछि नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्क जङ्ग एभेङले भने, ’प्रतिष्ठानलाई जहिल्यै विवादित बनाउने र राम्रा डाक्टरलाई बस्न नदिने परिपाटीको अन्त्य हुनुपर्छ ।’

प्राडा सङ्गिता भण्डारीले एकजना राम्रा डाक्टरलाई पलायन हुने वातावरण सिर्जना गरेको प्रति दलको गम्भीर ध्यानाकर्षण भएको नेपाली काङ्ग्रेसक नेता सुजेन्द्र तामाङले बताए ।
अराजक प्राध्यापक बिपी प्रतिष्ठान आउनु भनेको बिपीको दुर्भाग्य रहेको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताए । प्राडा भण्डारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएर जानुभन्दा अगाडिसमेत प्रतिष्ठानमा विवादित छवि रहेको वडाध्यक्ष राईले बताए ।

‘प्राध्यापक भण्डारी बिपी प्रतिष्ठानमा आउनु चिकित्सक, कर्मचारी र पदाधिकारीहरुका लागि नै दुर्भाग्य हो,’ वडाध्यक्ष राईले भने, ‘राम्रा डाक्टरलाई बिपी प्रतिष्ठान व्यवस्थापनले काम गर्ने वातावरण तयार गर्नुपर्छ ।’

प्रतिष्ठानमा छुट्टीमा बसेकी प्रोफेसरले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरे पनि प्रतिष्ठान प्रशासनले आवश्यक कारवाही गर्न सकेको थिएन ।
नाक, कान, घाँटी विभागकी प्राडा भण्डारीले जनवरीदेखि ’स्यावोटिकल लिभ’ स्वीकृत गरी २ वर्षको छुट्टीमा बसेको देखिन्छ ।

तर सिनियर रेसिडेन्स लगायतको करार थपमा अनावश्यक हस्तक्षेप गरेको पीडित चिकित्सकले बताउँदै आएका छन् ।
विभागका एचओडी श्याम थापामाथि प्राडा भण्डारीले अनावश्यक दबाब दिने गरेको गुनासो छ । प्राडा भण्डारी एचओडी थापाकी प्रोफेसरसमेत रहेकाले थापाले दबाब झेल्दै आएको प्रतिष्ठान स्रोतको भनाइ छ ।
प्रतिष्ठानभित्र अनावश्यक राजनीतीकरण गर्ने पात्रका रुपमा प्राडा भण्डारीलाई लिने गरिएको छ । उनले प्रतिष्ठान पदाधिकारीलाई अनावश्यक मुद्दा लगाएर दुःख दिंदै आएकी छन् ।
प्राडा सन्जिव शर्मा शिक्षाध्यक्ष भएपछि प्राडा भण्डारीले प्रतिष्ठानका उपकुलपति विरुद्ध मुद्दा दायर गरेकोसमेत चर्चामा आएको छ । प्राडा भण्डारीले आफ्ना नजिकका व्यक्तिलाई शिक्षाध्यक्ष बनाउन पहल गर्दै आएकी थिइन् तर उनको पहल निश्फल भएपछि मुद्दा लगाएर दुःख दिने गरेको स्रोतको भनाइ छ ।

प्राडा भण्डारीले प्रतिष्ठानमा आफ्नो सिण्डिकेट चलाउने गरेको आरोप लाग्दै आएको छ । प्राडा भण्डारीले प्रतिष्ठानमा कार्यरत नाक, कान, घाँटी विभागका सिनियर रेजिडेन्ट डा प्रविद गजुरेलमाथि कार्यक्षेत्र (अपरेसन थियटर) प्रवेशमा रोक लगाएपछि प्राडा भण्डारी विवादमा आएकी थिइन । प्राडा भण्डारीलाई अनधिकृत रुपमा चिकित्सकमाथि दबाब दिने, अनावश्यक अनुशासनमा राख्ने र मनोवैज्ञानिक तनाव दिने लगायतको आरोप लाग्दै आएको छ ।

प्रतिष्ठान नियामवलीअनुसार ’स्यावोटिकल लिभ’ चिकित्सकले ५ वर्ष सेवा गरेपछि १ वर्षका लागि अध्ययनलगायतको प्रयोजनका लागि विदा पाउने गरेका छन् । विदा स्वीकृत भएपछि समय नसकिउन्जेल चिकित्सकले फिर्ता हुन पाउँदैनन् । तर प्राडा भण्डारीले प्रतिष्ठानमा हाजिर गर्दै आफ्ना जुनियर चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरेको आरोप लागेको छ ।

यस अघिको नजिरअनुसार रुपा सिंह रेक्टर हुँदा एनेस्थेसिया विभागका एचओडी एसएन सिंहलाई बिदा सकिन डेढ महिना बाँकी हुँदासम्म प्रतिष्ठान प्रवेश गर्न अनुमति लिंदा नियामावलीले नदिने भन्दै रोक लगाइएको थियो । यता राजनीतिक दलसँगको छ्लफलमा शिक्षाध्यक्ष सन्जीव शर्माले स्थानीय चिकित्सक यहाँको भूमिपुत्रले यहीँ काम गर्न नसक्ने वातावरण नभएको सुन्दा पदाधिकारीको कान ठाडो भएको बताए । ’४÷५ वर्ष सिनियर रेसिडेन्सीका रुपमा काम गरेको डा प्रविदको नजिर छ,’ प्राडा शर्माले भने,’विवादको निकास हामी सबै मिलेर निकाल्छौ, प्रतिष्ठानको भलो हुने गरी काम गर्छौ, प्रतिष्ठानमा धमिरा लाग्न दिदैनौ ।
छलफलमा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले काम गर्ने उचित वातावरण नभएको गुनासो गरे । उनले अनेक बहानामा मुद्दा लगाउने गरेकाले काम गर्न असहज भएको बताए । यसका बावजुद पनि प्रतिष्ठानको सेवा प्रवाहमा सुधार गरेको उपकुलपति गिरीले दाबी गरे । उनले समस्याका समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । प्रतिष्ठानमा जनशक्ति अभावलाई परिपूर्ति गर्न चाहेको उनले बताए ।
’सबै दलका साथीहरु आउँदा म उर्जावन भएको छु, नयाँ पदाधिकारी नियुक्त हुँदा यहाँ आगो लागेको हो, कसैको भनाइ अनुसार नियुक्त नहुँदा असन्तुष्टि भएको हो, यो दुर्भाग्य हो, ममाथि नयाँ काउन्टर भइरहेको छ,’

उपकुलपति गिरीले भने, ’कसैको महत्वाकांक्षा पूरा नहुँदा त्यहींबाट आगो लागेको हो, छोरी कुटेर बुहारी तर्साउने भने जस्तै हो ।’
प्राडा सङ्गिता भण्डारीको २ वर्ष स्वाध्ययन विदा कार्यसमितिबाट सम्बोधन हुने गरी स्वीकृत गरिएको उपकुलपति गिरीले बताए ।

’सुरुमा उनैले बिदा मागिन, मैले बिदा स्वीकृत गरेपछि उनले फेरि बिदा नलिने भन्दै सच्याउन माग गरेकी थिइन मैले बिदा स्वीकृत भएपछि फिर्ता हुदैन भनें, मेरो कार्यकक्षमा आएर मलाई नै थर्काइन,’ उपकुलपति गिरीले भने, ’दादागिरी चल्दैन, डिक्टेटरसीप चल्दैन, नाटक धेरै भयो, भिसीको एकल निर्णय मान्दिन भन्दै उनी आइन, मैले म कानुनी रुपमा भिसी हो, नाटक हैन, यो निर्णय हो भनेर कड्के पछि उनी गइन, मेरो दुर्भाग्य हो कि होइन तपाइहरु नै भन्नू होला ।’

वादविवादमा प्राडा भण्डारीले अदालत जाने धम्की दिएको उपकुलपति गिरीले बताए । ’व्यवस्थापनसँगको आक्रोश हो भने छलफल गर्दा हुन्छ, ११ सय जना कर्मचारीको वृतिविकास रोक्ने गरी धम्कीको भाषा उपकुलपतिमाथि प्रयोग गर्ने हो?’ उपकुलपति गिरीले प्रश्न गरे ।

प्राडा भण्डारीले उच्च अदालतबाट ’हाजिर गराउनू’ भन्ने अल्पकालीन आदेश लिएर आएको उपकुलपति गिरीले जानकारी दिए । प्राडा भण्डारीको विभागमा कोही पनि सन्तुष्ट नभएको उपकुलपति गिरी बताउँछन् ।
आरोपका विषयमा प्राडा भण्डारीलाई फोन सम्पर्क गरेर बुझ्ने प्रयास गर्दा उनले मोबाइल फोन बारम्बार विच्छेद गरेकी थिइन् । यस अघि पनि आरोपका विषयमा उनले प्रतिक्रिया दिन मानेकी थिइनन् ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved