‘कोरोना भाइरसले जन्माएका अनुत्तरित प्रश्नहरु’

  • श्रावण ३२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

कोरोना भाइरस एउटा नमिठो तर लोकप्रिय परम्पराजस्तो बन्यो ।

जसको पनि मुखमा झुन्ड्यो । नबुझे पनि बुझेजस्तो हुनथाल्यो । संसारमा धेरैचोटी महामारीका घटनाहरु देखिएका हुन् ।

तर एकैचोटी एउटै अस्त्रले सिङ्गो सिस्टमलाई लक लगाउने अस्त्र भने कोरोना भाइरस ( कोभिड १९) नै देखियो । के बालक के युवा के बृद्ध सबैका दैनिकीहरु लकडाउनको फन्दामा परे । हरेक देशका सरकारले लकडाउनको अभ्यास गरे ।

मानवीय नियन्त्रणभन्दा बाहिर कोरोना जान थालेपछि बिकल्पहरु खोज्दै लकडाउनको सिस्टमलाई बिस्तारै परिवर्तन गर्न थाले । मानव बस्तीमा कोरोना छिरेपछि धेरै आतङ्क सिर्जना गर्यो । तर पनि मानव जाति डराएन र मानवले लखरलखर गरेकै भरमा धेरै देशका लकडाउनहरु स्खलित हुँदै जान थाले ।

कोरोनाबाट बच्न आतङ्कित भएर हैन सतर्क बनेर आफ्ना दैनिकीको व्यवस्थापन गर्नेहरु सामान्य जीवनमा छन् ।

घरभित्र थुनिएर अनलाइन उर्फ भर्चुअल सिस्टममा रमाउनेहरुको जीवनमा बिस्तारै बिस्तारै सङ्कटले घेर्न थालेको छ ।

समग्र बिश्व नै आज कोरोनाले निम्त्याएका चुनौती र अवसरहरुको अभ्यासमा छ ।

आजको विश्व र शक्तिशाली राष्ट्रको नियति पनि भाग्यमा हैन भरोसामा भर परेको छ ।

कोरोनाले पैसा, पावर र प्राक्टिसलाई समानान्तर बनाइदिएको छ । गरिब ,धनी, शिक्षित, अशिक्षित तथा आफूले गर्न नसक्दा बनेका कुण्ठितहरु अहिले मूलधारमा आएका छन् ।

कोरोनाका नाममा कोही कालाबजारीमा पोख्त बने । कोही व्यभिचारी र भ्रष्टाचारीमा दरिए ।

कोही वकालत गर्ने वकिल तथा कोही विश्लेषण गर्ने विश्लेषक बने । कोही युट्युब सेलिब्रेटी बन्दै टिआरपी बढाउन व्यस्त बने, कोही विज्ञ बन्दै मिडिया र मोफसलका आकर्षणमा परे । खैर कोरोना भाइरस ( १९) ले धेरैलाई व्यस्त बनाएको छ ।

सरकारलाई आफू र आफ्ना आसेपासेका विषयमा नीति बनाउन व्यस्त बनाएको छ ।

जातिपातिका अभियन्ता र धर्मभिरुहरुलाई आफ्नो कुण्ठा तथा भ्रमको खेती गर्ने गतिलो फाइल बनेको छ ।

देश र नरेशका लागि पूजा गर्ने पूजारीहरु घरि राष्ट्रिय झन्डा त घरि राष्ट्रिय भाषाका बारेमा टीकाटिप्पणी गर्नमा व्यस्त छन् । लखरलखर गर्नेहरु आखिर उही लखरलखर नै गरिरहेका छन् तर उनीहरुको लखरलखरले धेरैलाई सहयोग पुगेको छ ।

कोरोना भाइरसको यस महाकुम्भ मेलाले कालाबजारीका शैलीमा व्यापार गर्ने मानवको असली रुप देखाइदिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन अब गरिब तथा न्यून स्रोत भएका राष्ट्रलाई लक्षित गरेर कोरोनाका बारेमा भ्रमको खेती गर्दैछ ।

मेडिकल सेक्टरमा कालोबजारी गर्दै अहोभाग्य सिर्जना गरी अरबौँ खर्बको कमिसनमा पटकपटक कोरोना नामको साधारण भाइरसका बारेमा रुटिन बनाएर विश्व स्वास्थ्य सङ्गठन न्यूयोर्कमा बस्छ । स्वास्थ्य क्षेत्रमा अनुत्तरित प्रश्न बनेको कोरोना भाइरस अनुत्तरित बनेर नै नियन्त्रण हुनेछ ।

कैयौँ डाक्टर तथा विज्ञलाई दिमागबाट पसिना निकालिदिएको यस भाइरसको नियन्त्रणका लागि अब अर्गानिक विज्ञ वा अशिक्षित तर व्यावहारिक विज्ञको आवश्यकता पर्दैछ ।

आखिर किन अनुत्तरित प्रश्न छ त कोरोना भाइरसमा ? प्रश्न डब्लुएचओलाई पनि छ ।

यस्ता महामारीको नियन्त्रण गर्न नागरिकको पनि उत्तिकै जिम्मेवारी रहनेमा सहमत हुनुपर्दछ ।

दक्षिण कोरिया, जापान जस्ता इमान्दार देशहरु यस प्रसङ्गका लागि गतिला उदाहरणहरु बनेका छन् ।

जापान कोरियाले आफ्ना कामदारहरुलाई देश तथा विदेशबाट झिकाउन थालेका छन् । जनताहरु आफैँ सुरक्षा अपनाउँछन् ।

सतर्क हुन्छन् । आफ्नो काम गर्छन् सरासर घर फर्कन्छन् । चिनको पनि उदाहरण राम्रै छ ।

आफू सतर्क बने सबै सुरक्षित बन्छ । त्यस्ता देशहरुमा कालोबजारी हुँदैहुँदैन भन्ने हैन तर नजानिँदो ढङ्गले हुन्छ , नागरिकलाई आवश्यक पर्ने अत्यावश्यक बस्तुमा कालोबजारी हुँदैन ।

डब्लुएचओले आफ्नो प्राथमिक उद्धेश्य भनेर लेखेको छ:

क. प्राथमिक स्वास्थ्यमा जोड दिँदै स्वास्थ्यको गुणस्तरीय सेवामा सुधार गर्ने,

ख. दीगो स्वास्थ्य परियोजना तथा वित्तीय संरक्षणका लागि काम गर्ने,

ग. महत्वपूर्ण स्वास्थ्य सामग्रीको उत्पादन तथा औषधिको पहुँचमा बृद्धि गर्ने,

घ. राष्ट्रिय स्वास्थ्य नीतिको निर्माणमा जनसहभागिता बढाउने ,

ङ. अनुगमन, तथ्य तथा सूचनाको पद्धतिमा बृद्धि गर्ने आदि ।

तर अब डब्लुएचओको नश्लीय कार्य पद्धतिप्रति प्रश्न उठेको छ ।

उद्धेश्य एकातिर अनि कार्य अर्कातिर गर्ने यस सङ्गठनले कालोबजारीको राम्रो पोलिटिक्स् सिकेको छ ।

अहिलेसम्मको इतिहास हेर्ने हो भने व्यापारिक क्षेत्रका हबहरुमा कालोबजारी भएको देखिँदैन ।

सिर्फ केही सामग्री , उत्पादन र उत्पादन पद्धति अनि आपूर्ति र यसको व्यवस्थापनमा मात्रै कालोबजारीको दबदबा रहेको देखिन्छ ।

आकर्षक हबमा कालोबजारी देखिँदैन । किनकि हबमा नै त्यस्तो भयो भने स्थायी रुपमा स्थापित बनेको दुईनम्बरी व्यापार फेरि सङ्कटमा पर्नसक्थ्यो ।

जस्तै पर्यटकीय क्षेत्रमा कालोबजारी भएन तर त्यहाँको सेवा तथा सुविधामा भने दह्रो दबदबा रह्यो ।

सगरमाथाको भूमिका लागि भन्दा त्यहाँ चोरीचोरी पर्वतारोहण गर्ने पद्धतिमा त्यस्तो रह्यो ।

कृषि , वन , सिँचाइ , कला ,शिक्षा तथा सञ्चारमा पनि सोही पद्धति रह्यो ।

यदि कहीं कतै स्वास्थ्य समस्या देखियो भने डब्लुएचओले सामाजिक क्षेत्र तथा अन्य क्षेत्रलाई पनि प्रवद्र्धन गरी स्वास्थ्य महामारीलाई नियन्त्रण गर्नुपर्ने भनेर प्रोटोकल्ली भनिए तापनि त्यस्तो पनि गरिएको देखिएन ।

यतिखेर डब्लुएचओ नामको सङ्गठनले अन्तर्राष्ट्रिय रुपमा आफ्ना मेडिकल क्षेत्रका माफिया तथा कालोबजारीकर्ताहरुलाई गोल्डेन पावर नै दिएको झैँ बुझिन्छ । हालसालै नेपालमा देखिएको एमसिसीको नेपाली मुद्धा अनि र डब्लुएचओको अन्तर्राष्ट्रिय मुद्धा “ पावर केस” का रुपमा देखिएका छन् ।

आफू पावरमा हुँदा प्रशासकहरुले देखाउने तागत तथा जबर्जस्त शासन यससँग सम्बन्धित छ । सर्ने तथा नसर्ने रोगबाट बच्न अपनाउन सकिने उपायहरुको प्रवद्र्धन मात्रै हैन स्वास्थ्य महामारीका बेला मानिसमा आइपर्ने मानसिक स्वास्थ्यको असरका लागि विशेष कार्यक्रमहरु प्रवद्र्धन गर्नुपर्ने कुरा उल्लेख छ तर डब्लुएचओ नै अनावश्यक प्रोपागान्डामा लागेको होकि भन्ने भान हुन थालेको छ ।
मानव जातिको अनावश्यक भीडलाई नियन्त्रण गर्न लकडाउनको बिकल्प तत्काल देखिँदैन ।

तथापि यसको बिकल्प के हुनसक्छ त ? यसको सजिलो बिकल्प भनेकै व्यक्तिगत दूरि कायम , वैयक्तिक सतर्कता र सुरक्षाका साथमा दैनिकीको निरन्तरता नै हो ।

सामाजिक दूरिको कायम गरेमा व्यक्ति बिस्तारै असामाजिक बन्दै जान थाल्छ ।

असामाजिकताको परिणाम भनेकै Anxiety , Frustration /  Depression हो । त्यसपछिको बिकल्प धेरैजसो अस्पताल नै हो ।

अस्पतालमा दोहोरो कमिसनको बाढी हुने भो ।

डब्लुएचओको कोरोना आतङ्कले उब्जाएको मेडिकल लाचारी अनि लकडाउनले बनाएको असामाजिकताका कारण अस्पतालको व्यापार तेब्बर पार्ने योजनामा समग्र सिस्टम लागेको प्रस्टै हुँदाहुँदै केही राम्रा पक्षहरु पनि छन् ।

सन् २०१९ को अक्टुबर नोभेम्बरमा देखिएको यस कोभिड १९ रोग निम्त्याउने कोरोना भाइरसले विश्वको दृश्य पनि फेरिदिएको छ ।

कोरोना भाइरसको महामारीका बेला फेरिएका विश्वका केही रमाइला दृश्यहरुः

मौकामा चौका हान्न पल्केको भारत यसै अवधिमा कोरोना नियन्त्रणमा भन्दा नेपालको भूमि मिच्ने दुस्साहसमा अल्झियो ।

उता व्यापार तथा आर्थिक उन्नतिको छलाङ्मा लागेको चिन यतिखेरै विश्वको शक्तिशाली तथा सतर्क र मिहेनति राष्ट्रका रुपमा उभिन दत्तचित्त रह्यो ।

संसारकै नमुना र शक्तिशाली राष्ट्रका रुपमा आफूलाई दम्भका साथ उभ्याइरहेको अमेरिकाले संसारकै सामु कोरोनाबाट बचाउन आफ्ना राष्ट्रपतिलाई बङ्करमा लुकाउन बाध्य भई आफ्नो निर्लज्जता प्रस्तुत गर्यो ।

उता इटालीले आफ्नो देशको मृत्यु दरमा गिरावट आएको भनी जबर्जस्त रुपमा कोरोना नियन्त्रण गरेको नाटक गर्यो ।

जापान र कोरियाले संसारलाई नमुना देखाउने नाममा विद्यालय खोल्नाले २ दिनमा नै पुनः बन्द गर्न बाध्य भए ।

फ्रान्स् , ग्रिक र बेलायतमा कोरोनाबाट बच्न चर्चमा जाने र कोरोना भगाउने अभ्यासमा लाग्नाले चर्चमा आउने अधिकांशमा नै कोरोना लागी भयावह स्थितिको सिर्जना भयो ।

एक जनामा मात्र सङ्क्रमण देखिने बित्तिकै कोरोनामुक्त देश बनाउने स्वप्नमा परेको नेपालले अत्यन्तै कडा लकडाउन लगायो तर दिनको ६०० र ७०० कै सङ्क्रमण देखिँदा भने लकडाउन पुरै खुकुलो बनाइदियो र आफू नक्सा, सत्ता र भत्तामा अल्मलियो ।

वैयक्तिक दूरि कायम नगरे कोरोना लागेर सखाप हुन्छ भन्ने भ्रम फ्रलाएको डब्लुएचओको प्रमाण पनि फेल खायो ।

सँगै बस्ने श्रीमान् र श्रीमती , सुत्केरी आमा र बच्चा, पसले र ग्राहक , हात मिलाउने, अङ्गालो हाल्ने, स्पर्श गर्ने कार्यका निषेधहरु सबै फेल भए ।

मास्क अनिवार्य, हात धुनु अनिवार्य तथा हावा चल्ने ठाउँमा अनिवार्य भन्ने अफवाह पनि सबै फेल खाए । कोरोना चिसोमा मात्र फैलन्छ तातोमा फैलन्न भन्ने गलत अनुसन्धान पनि फेल खायो ।

विश्वको सञ्चार जगतमा कोरोनाले टिआरपी राम्रै बढाइदियो । खाद्यान्नका व्यापारीले घरघरमा सेवा दिए र व्यापारिक उन्नति पनि गरे । श्रमिक तथा कर्मचारीहरु भने आफ्नो प्रतिष्ठानको मुख ताक्नुको बिकल्प नदेखेर राहतको लाइनमा बस्न आहतको शिकार बने । कसैकसैले कोरोना भाइरस मुर्दावाद , कोरोना भाइरस खारेज गर भनेर नारा लगाई नेपालको माइतिघर मण्डला गएको पनि देखियो ।

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै आएर नेपाल प्रहरीलाई कुट्ने चिनियाँको आँधो आँट पनि देखियो ।

चर्खरै भारतीय र चिनियाँ सेनाहरु सिमामा झगडा गरी आपसी द्वन्द्वमा फसेको पनि देखियो । भारतीय सञ्चार माध्यमको अपरिपक्वता तथा दादागिरी पनि देखियो । केही नेपाली व्यक्तिहरुले देशका बारेमा बोलेका भरमा रातारात लोकप्रिय बनेको पनि देखियो ।

कहिल्यै नेपालको पक्ष नलिने तर नेपालको मधेसी भन्ने राजेन्द्र महतोको देशका पक्षमा रहेको संसदीय भाषणले रातारात हैसियत परिवर्तन गरी सर्वमान्य झैँ बनाइदियो । मनिसा कोइराला , वर्षा राउत तथा सरिता गिरी पनि निकै चर्चामा रहे ।

अभियन्ताको खोल ओढेर दादागिरी तथा अलि छाडाशैलीमा उत्रेको ज्ञानेन्द्र शाही, पुङ न पुच्छरको कुरा गर्ने पुण्य गौतम, हेमराज थापा र केही शिक्षा सुधारको अभियानका नाममा शैक्षिक माफिया तथा दलाल बन्न खोज्ने अभियन्ताहरु पनि निकै चर्चामा रहे ।

९०औँ दिनसम्मको लकडाउनमा १८ घण्टासम्म अनलाइनमै भए पनि काम गर्ने र सिर्जनशील ढङ्गले समय बिताउनेदेखि २४ सै घण्टा टिभी र मोबाइल हेर्ने र मानसिक तथा शारीरिक सङ्कटमा पर्ने नागरिकहरुको दैनिकी देखीदेखी हरेक देशका सरकारले यस प्रसङ्गलाई भने खासै चासोका साथ अध्ययन नगरेको देखिन्छ । नेपाल सरकारको कुरा गर्ने हो भने अग्ला भवन र चौडा सडक मात्रै विकास हो भन्ने बुझाइमा अल्झेको देखिन्छ ।

२०७६ चैत्र ११ बाट लकडाउन सुरु गरेको नेपाल सरकार घरि भ्रष्टाचारको कुरामा अल्झिन्छ भने घरि नीतिगत अपराध अनि दलालीहरुको चङ्गुलमा फसी दलालको पिछलग्गु बन्नमा नै केन्द्रित देखिन्छ ।

शिक्षाजस्तो संवेदनशील कुरालाई सरकारले विदेशी राष्ट्रमा फेल खाएका कार्यक्रमको प्रयोग गर्ने प्रयोगशाला बनाउँछ । एसइइ को कुरामा गत चैत्र ५ गते नै चुकेको सरकार अन्तमा आएर जेठ २९ गते स्खलित भएरै छोड्यो ।

अबको दिशा कतातिर ?

कोरोना भाइरसबाट उत्पन्न अर्थतन्त्रको सङ्कटलाई रोक्न सबैपक्षको सकारात्मक सक्रियताको आवश्यकता पर्दछ ।

हरेक क्षेत्रबाट सर्वप्रथम टाट पल्टिने सम्भावनालाई रोक्न प्याकेजमा आर्थिक योजना तथा कार्यक्रम ल्याउनुपर्दछ ।

कुनै एउटा मात्र क्षेत्रमा सङ्कट देखा पर्यो भने सबै क्षेत्रमा त्यसको प्रत्यक्ष असर देखिनेछ । त्यसका लागि केही सुझावात्मक पक्षका लागि:

१. सर्वप्रथम त सङ्घीय सरकारले नआत्तिकन काम गर्ने ,

२. स्थानीय निकायलाई पूर्ण अधिकारसम्पन्न बनाई सबै पक्षले सहजीकरण गर्ने,

३. अनावश्यक भ्रमका पछि नलाग्ने अनि आफू सतर्क र इमान्दार बन्ने ,

४. यतिखेर हरेक नेता, संसद तथा मन्त्रीले सेवा तथा सुविधाभन्दा देशको सङ्कट व्यवस्थापनमा ध्यान दिने ,

५. बालमस्तिष्कमा पर्नसक्ने मानसिक असरलाई ध्यानमा राखी शिक्षाजस्ता संवेदनशीन क्षेत्रमा क्वारेन्टाइन नबनाई अन्य सामाजिक क्षेत्रमा योजना गर्नुपर्ने ,

६. हरेक क्षेत्रको निर्बाध रुपले सञ्चालनका लागि पहिले संरचना तथा सम्भावनाको अध्ययन अनि निर्माण गर्नुपर्ने ,

७. पर्यटन तथा कला संस्कृतिको पर्यटकीय आकर्षण तथा संरक्षणका लागि सरोकारवाला र सरकार मिलेर विशेष योजना ल्याइनुपर्ने ,

८. अनलाइन कक्षालाई व्यवस्थित गरी निजी तथा सामुदायिक शैक्षिक संस्थाहरुले भर्ना तथा दर्ता कार्यक्रम सुरु गर्ने , किनकि विद्यार्थीहरु भर्ना नहोला भन्ने चिन्ता र चासोका कारण निराश, नकारात्मक तथा बिद्रोही बनिरहेका छन् ,

९. बिस्तारै निजी तथा सामुदायिक शैक्षिक संस्थाहरुले बिहान, दिउँसो र बेलुका गरी तिन सिफ्टमा आंशिकतः तथा विषयगत रुपमा कक्षा सञ्चालन गर्ने तयारी गर्ने, जसका लागि पूर्णतः सुरक्षित वातावरण र परिवेशको विकास गर्नुपर्ने,

१०. यस्तो विषम परिस्थितिमा सबैपक्षका जनशक्ति तथा सरोकारवालाहरुले योगदान गर्ने र आआफ्नो संस्था बचाउने,

११. अस्वस्थ प्रतिस्पर्धालाई रोक्न स्थानीय निकायलाई अलि सक्रिय बनाउने,

१२. बैँक तथा वित्तीय संस्थाहरुले यतिखेर विद्यार्थीका लागि आकर्षक प्याकेजसहितको सहुलियत योजना निर्माण गरी आर्थिक गतिशीलताको समेत विकास गर्ने,

१३. कर्मचारीहरुका हकमा हरेक बैँक तथा वित्तीय संस्थाहरुले पहिलो ३ महिना ०% , अर्को ३ महिना ३ % र अर्को ६ महिना ६ %ब्याजदरमा जम्मा १ वर्ष सहुलियत ऋण उपलब्ध गराउने , जसको जिम्मा सम्बन्धित संस्थाले आफ्नो सिस्टमका आधारमा लिने,

१४. भर्चुअल जीवनका कारण धेरै बालबालिका तथा बयस्कहरुको आँखा , टाउको तथा समग्र शरीरमा असर देखिनसक्ने भएकाले हरेक स्थानीय निकायहरुको अगुवाइमा सार्वजनिक योगा, नृत्य तथा सकारात्मक सोंचका कार्यक्रमहरु गर्ने,

१५. लकडाउन तथा वैयक्तिक दूरि कायम गर्दै आआफ्नो पेसा व्यवसायमा सुरक्षाको अवस्था अपनाउन र भिडभाड हुने वातावरण नबनाउन सबै पक्षले सहयोग गर्ने,

१६. हरेक दिन बिहान घरमै भए पनि योगा ध्यानहरु गर्ने र सकारात्मक चिन्तनको विकास गर्ने,

१७. घरमा थुनिएकाले नै मानसिकतामा उथलपुथल आउन खोजेको हुनसक्छ, त्यसका लागि सार्वजनिक विषयमा बहस,चर्चा तथा अन्तर्कि्रया गर्न एकापसमा सिस्टम बनाउने वा मनोरञ्जनात्मक कार्यक्रममा ध्यान दिने ,

१८. लाखौँ बालबालिकाहरु विद्यालयको अन्यौलताको शिकार भएका बेला सरकारले चोकचोक तथा टोलटोलमा साधारण शिक्षाको सुरुवात गर्ने जसमा दैनिक जीवनमा आइपर्ने सीपका बारेमा अभ्यास गराउने ,

१९. यतिखेर सरकारी कर्मचारीलाई सामाजिक विकास तथा कनेक्सनमा सक्रिय गराउने,

२०. एक हजारमा जम्मा ७ जना मृत्यु दर भएको नेपालमा कोरोनाको कारणले मृत्यु कम भएको यथार्थलाई सकारात्मक भई स्वीकार गर्ने,

२१. गलत र भ्रामक समाचारका पछि नलाग्ने ,

२२. सरकार, नेता तथा सांसदहरु यतिबेला कोरोना तथा लकडाउनलाई लिएर राजनीति नगर्ने,

२३. सरकारको प्रतिपक्ष तथा सत्तापक्ष भएर कोही ननिस्कने,सरकारलाई सहयोग गरी यस महामारीलाई नियन्त्रण गर्ने,

२४. सरकारले पनि दर्ता नभएका सञ्चार माध्यम,युट्युब तथा विभिन्न भ्लोगहरु बन्द नै गरिदिने, ३ करोड नेपाली ३ करोड पत्रकार बनेर अलि बढी विकृति आएको छ ,

२५. सरोकारवालाहरु आफ्नो ब्याक अप आफैँ बनाउने र व्यवस्थापनमा चासो दिने ,हरेक कुरामा सरकारको भर नपर्ने किनकि अहिले सरकार पनि निरीह छ ,

२६. हरेक क्षेत्रको हौसलाका लागि सरकारले न्युनतम भए पनि राहत प्याकेज उपलब्ध गराउने,

२७ . यस्तो महामारीमा अनि आफ्नो स्वाभिमान तथा राष्ट्रियताका लागि सबैजना सधैं एकै ठाउँमा उभिने ।

यसरी हरेक क्षेत्रको बिकल्पसहित बजारमा उपस्थित भएमा महामारी, अभाव तथा सङकटलाई सजिलै पर्गेल्न सकिन्छ ।

बिरोध तथा बिद्रोहले झन् सङकट आउन सक्छ । सबैका पेसा व्यवसाय अब चल्नुपर्छ । तर सतर्कता र सुरक्षित भने सधैं अपनाउनुपर्छ ।

कालाबजारी रोक्न सबै नागरिक सचेत हुनुपर्छ । शिक्षक, विद्यार्थी ,व्यवसायी , सेना प्रहरी तथा पत्रकारले राजनीति गर्न निषेध गर्नुपर्छ ।

आफ्नो क्षेत्रको उत्थानका लागि सबैले योगदान गर्नुपर्छ । विरोधका लागि विरोध तथा भाइरलका लागि अभियान सधैंका लागि बन्द गर्नुपर्छ ।

यदि हामी सबैजना सचेत भयौँ भने हामी दलाल, माफिया र कालाबजारीको चङ्गुलबाट बच्न सक्छौँ ।

यस्तै महामारी तथा सङ्कटको अध्ययन तथा व्यवस्थापन गर्ने “स्पेसल टास्क फोर्स” को निर्माणका लागि ‘स्कुल अफ क्राइसिस मेनेजमेन्ट’को स्थापना गरी तैनाथ रुपमा राख्नुपर्छ ।

कृषि तथा पर्यटनलाई जोड दिनका लागि विद्यालय तथा विश्वविद्यालय तहदेखि नै भूगोलअनुसार कम्तीमा एक पत्र अनिवार्य र व्यावहारिक विषयका रुपमा संवेदनशील भएर जोड दिनुपर्छ ।

सच्चा र इमान्दार नेपाली बन्न मिहेनती र सिर्जनशील तथा कर्मठ बन्ने अभ्यास गर्नुपर्छ ।

शक्तिराज नेपाल
-डायस्पोरा साहित्यमा अनुसन्धानरत

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved