धरान/ युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र उनीहरूका सिर्जनात्मक सोच तथा आइडिया आदानप्रदान गर्ने उद्देश्यले फेसबुक पेज ‘धरान वज’ले शनिबार ओपन माइक कविता वाचन कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रम धरानको बगैचा चोकस्थित चिया हवमा आयोजना गरिएको थियो, जहाँ मुख्यतः कलेज विद्यार्थी र टिनएजरहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा २० जना युवाहरूले आफ्ना मौलिक कविताहरू वाचन गरेका थिए।
‘इ–स्पोर्ट्स’ प्रतियोगितापछि धरान वजले आयोजना गरेको यो दोस्रो सार्वजनिक कार्यक्रम हो। युवाहरूको क्षमता उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको धरान वजका एडमिन किसन तामाङले जानकारी दिए।
कार्यक्रममा धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयर पदका उम्मेदवार समेत रहेका राजनेता प्रकाश राई श्रीमतीसहित सहभागी भए। कार्यक्रममा उनका छोरा निनामहाङ राई संयोजकको भूमिकामा रहेका थिए। “युवाहरूको भावना बुझ्न र छोराको पहलमा भइरहेको कार्यक्रममा उपस्थित भइयो,” प्रकाश राईले बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, सुनसरीका निवर्तमान अध्यक्ष तथा वरिष्ठ पत्रकार जनकऋषि राईको पनि दर्शकका रूपमा उपस्थिति रहेको थियो। “फेसबुक पोस्टमार्फत जानकारी पाएपछि नयाँ पुस्ताको अभिव्यक्ति बुझ्न आएँ,” उनले बताए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा अन्डरग्राउण्ड कलाकारहरूको ओरिजिनल सेसन र स्ट्यान्डअप कमेडी पनि प्रस्तुत गरिएको थियो।
यसअघि, खुला आकाश संस्थाले सञ्चालन गरेको तीनदिने हिपहप वर्कशपका सहभागी आठ जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रशिक्षण दिन कलाकार सरल उदास (डीजे वावा), अभिषेक कार्की र बालकृष्ण स्वामी सहभागी थिए।
कार्यक्रममा प्रशिक्षित युवा कलाकार न्युजेन राई मनु, ब्राइन श्रेष्ठ, नवीनके भट्टराई, उपेश राई र एनथ्रीएक्सले र्याप प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन गराएका थिए।
युवाहरूको प्रोत्साहनका लागि उनीहरूद्वारा सञ्चालित टीसर्ट र स्टिकर स्टलसमेत कार्यक्रममा राखिएको थियो। एडमिन तामाङका अनुसार, हाल फेसबुक पेजमार्फत सक्रिय रहेको धरान वजलाई चाँडै मिडिया संस्थाको रूपमा दर्ता गरिने योजना रहेको छ।