पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा धनकुटामा स्थापित चिया तथा कफी विकास बोर्ड कार्यालयले अपेक्षित रूपमा काम गर्न नसकेको समाचार प्रकाशमा आएको छ । कर्मचारी अभावकै कारण यो कार्यालयले उद्देश्यअनुसार काम गर्न नसकेको समाचारमा उल्लेख छ । ६ जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा अहिले लेखा प्रमुखबाहेक कुनै कर्मचारी छैनन् । लामो समययता प्रमुखविहीन बनेको कार्यालयले उद्देश्यअनुरूप काम गर्न नसक्नु अस्वाभाविक पनि होइन । नेतृत्वविहीन कार्यालयमा न कुनै योजना हुन्छ, न त कामको कसैले जिम्मेवारी नै लिन्छ । त्यसैले सेवा प्रवाह गर्नुपर्ने यो कार्यालय प्रायःजसो बन्द नै रहने गरेको छ ।
चिया तथा कफीको विकास एवम् विस्तार गर्ने योजनाका साथ धनकुटाको हिलेमा कार्यालय खोलिएको थियो । यसबाट यस क्षेत्रमा चिया तथा कफीको विकासमा महŒवपूर्ण योगदान पुग्ने विश्वास गरिएको थियो तर अहिले परिस्थिति भिन्न भएको छ । सेवा क्षेत्र धेरै भए पनि त्यसअनुसार पर्याप्त कर्मचारी नहुँदा कार्यालय पुग्ने सेवाग्राहीले निराश भएर फर्किनुपर्ने अवस्था छ । यो सुखद् अवस्था होइन । यस कार्यालयमा दरबन्दी भएका दुईजना कर्मचारी काजमा छन् । एकजना प्युठानमा र अर्का काठमाडौँमा छन् ।
सम्बन्धित कार्यालयमै कर्मचारी अभाव भएका बेला भएका कर्मचारीलाई पनि काजमा अन्यत्र पठाउनुबाट सरकारले यस कार्यालयलाई बेवास्ता गरेको प्रस्ट हुन्छ । नेपाल कृषिप्रधान देश भएको हुँदा कृषि क्षेत्रलाई बेवास्ता गर्नु सरकारको गैरजिम्मेवारीपन हो । कृषि प्राविधिकको अभावमा किसानले उचित परामर्श र सेवा पाउन नसक्नु चिन्तित बनाउने विषय हो । सरकारी उदासीनता र बेवास्ताकै कारण देशमा कृषि क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन ।
सरकारले कर्मचारी व्यवस्थानमा पर्याप्त ध्यान दिन नसक्दा अधिकांश कार्यालय अव्यवस्थित छन् । कामविहीन कतिपय कार्यालयमा आवश्यकताभन्दा बढी कर्मचारी छन् भने आवश्यक स्थानमा पर्याप्त कर्मचारी छैनन् । यस्तै अव्यवस्थाका कारण कुनै पनि क्षेत्रमा अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन । आवश्यकताभन्दा बढी कर्मचारी भएका कार्यालयमा कर्मचारी कटौती गरेर आवश्यक कार्यालयमा पठाउँदा परिणाममुखी हुने निश्चित छ । यस विषयमा सरकार गम्भीर र संवेदनशील बन्नुपर्छ । यस भेगमा चिया तथा कफीको विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको यस कार्यालयमा सरकारले आवश्यकताअनुसार कर्मचारीको व्यवस्था तत्काल मिलाउनुपर्छ । भएका कर्मचारीलाई पनि काजमा खटाउनु दुःखद् विषय हो ।
हाम्रो देशमा भनसुन र पहुँचका भरमा कर्मचारीहरूलाई आवश्यकताअनुसार भन्दा पनि कर्मचारीको अनुकूलताअनुसार सरुवा वा काजमा पठाउने गरिन्छ । यो परम्पराको अन्त्य हुनु वाञ्छनीय छ । कर्मचारीहरूलाई आवश्यकताअनुसार खटाइए मात्र परिणाम सकारात्मक हुनसक्छ ।