अस्पतालमा राजनीति बन्द गर

  • फाल्गुन ११, २०७९
  • कोशीपत्र/संवाददाता
alt

हाम्रो देशमा सार्वजनिक सेवाका क्षेत्र चुस्त र व्यवस्थित छैनन् । गैरराजनीतिक क्षेत्रमा समेत अत्यधिक राजनीतिकरण हुँदा जताततै बेथिति देखिएको छ । अत्यधिक राजनीतिकरणकै कारण कतिपय क्षेत्र थला परेका छन् भने कतिपय क्षेत्र लथालिङ्ग अवस्थामा छन् । यस्तै राजनीतिक चलखेलको सिकार बनेको छ, विराटनगरस्थित कोशी अस्पताल । जनस्वास्थ्यसँग सोझो सम्बन्ध राख्ने अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई समेत राजनीतिको अखडा बनाउँदा यसको असर जनस्वास्थ्यमा पर्ने गरेको छ ।

सरकार वा मन्त्री परिवर्तनसँगै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिने गरेको छ । २०६१ सालयता यहाँ १७ जना मेसु परिवर्तन भइसकेका छन् । कुनै ठोस कारण र आवश्यकताविना छोटो समयमा मेसु परिवर्तन हुँदा यसको असर अस्पतालको व्यवस्थापनमा मात्र होइन, सेवाको स्तरमा पनि पर्छ । अस्पतालमा व्यवस्थापकीय र सेवाको स्तरमा सुधार गर्न नेतृत्वले केही समय आन्तरिक अध्ययन गरेर योजना बनाउनुपर्छ तर राम्ररी अध्ययन पनि गरिनसक्दै वा योजना कार्यान्वयन तहमा लैजान नपाउँदै नेतृत्व परिवर्तन हुँदा अस्पतालमा सुधार हुन पाउँदैन ।

१ सय ३२ वर्ष पुरानो यो अस्पतालमा उपचारका लागि प्रदेश १ र मधेस प्रदेशका साथै भारतको बिहार राज्यका बिरामीहरूसमेत आउने गर्छन् । अस्पतालमा दैनिक पाँच सयदेखि हजार जनासम्म बिरामी आउने गरेका छन् । यतिका धेरै बिरामी आउने अस्पतालमा चिकित्सक र नर्स भने पर्याप्त छैनन् । साढे तीन सय शैय्याको अस्पतालमा एक दर्जनभन्दा बढी विभाग भए पनि दरबन्दीअनुसार चिकित्सक छैनन् । यसकारण बिरामीले सहजरूपमा सेवा पाउन सकेका छैनन् । छोटो समयका लागि आउने मेसुले न दरबन्दीअनुसार चिकित्सक नियुक्त गर्छन्, न अस्पतालमा देखिएका समस्या समाधान गर्छन् । यसले गर्दा अस्पतालको अवस्था खराब बन्दै गइरहेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँ एकजना चिकित्सकले दैनिक कम्तीमा ५० जना बिरामी हेर्नुपर्ने अवस्था छ ।

यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । पहिलो विषय त अस्पताललाई राजनीतिबाट मुक्त राखिनुपर्छ । राजनीतिक दवाब वा स्वार्थमा मेसु नियुक्त गर्ने परम्परा अन्त्य नभएसम्म यस्तो बेथिति कायमै रहने निश्चित छ । राजनीतिक पहुँचका आधारमा नभई योग्यता र वरियताका आधारमा मेसु नियुक्त हुने व्यवस्था गरिनुपर्छ । कानुनी रूपमै यस्तो प्रावधान राखेर कडाइका साथ यसको पालना गरिनुपर्छ । कानुनको पालना भएमा चिकित्सकहरूले पनि राजनीतिबाट मुक्त भएर बिरामीलाई सेवा दिने वातावरण सिर्जना हुन्छ । अन्यथा चिकित्सकहरू पनि गुट र उपगुटमा विभाजन हुँदा यसको असर सेवा प्रवाहमा पर्न जान्छ । अस्पतालमा आवश्यकताअनुसार चिकित्सक र नर्सको व्यवस्था तत्काल गरिनुपर्छ । अस्पतालमा दरबन्दी पनि बढाउनुपर्ने देखिन्छ । अहिले अस्पतालमा ३५० शैय्या छन् तर २५० शैय्या हुँदाकै दरबन्दी यथावत् छ । यसले पनि सेवा प्रवाहमा असर पु¥याएको छ । अस्पताल राजनीति गर्ने थलो होइन । निरन्तरको राजनीतिक चलखेलकै कारण कोशी अस्पताल लथालिङ्ग बन्न पुगेको छ । राजनीतिक दलहरूले सार्वजनिक सेवा प्रवाह गर्ने संवेदनशील क्षेत्रहरूमा राजनीति गर्नु हुँदैन । दल र तिनका नेताहरूले यसलाई आत्मसात् गर्नु आवश्यक छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved