माघ सकिन लाग्दासमेत हिमपात नहुँदा पूर्वी हिमाली क्षेत्रमा जनजीवनमा नकारात्मक असर पर्न थालेको समाचार प्रकाशित भएको छ । अघिल्ला वर्षहरूमा ताप्लेजुङ, सङ्खुवासभावजस्ता हिमाली क्षेत्रमा मङ्सिरको तेस्रो साता नै हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमालहरू सेताम्य हुन्थे तर अहिले हिमपात नहुँदा कञ्चनजङ्घा हिमशिखर कालो चट्टानजस्तै देखिएको छ । यसको असर बहुआयामिक हुने निश्चित छ ।
समयमै हिमपात र वर्षा नहुँदा पानी मुहान सुक्ने तथा भएको हिउँ पनि पग्लेपछि हिमताल सुकेर पानीको हाहाकार हुने सम्भावनाले स्थानीय चिन्तित छन् । सुक्खा मौसम भएपछि घाँसपात पनि उम्रिदैन । उच्च हिमाली क्षेत्रमा अन्न उत्पादन नहुने भएकाले यहाँका मानिसको आम्दानीको मुख्य स्रोत पशुपालन हो । यहाँका मानिसले चौरीपालन गर्छन् । घाँसपात नउम्रिएपछि चौरी चरनमा पनि समस्या सिर्जना हुन पुग्छ ।
विज्ञहरूले यसलाई जलवायु परिवर्तनको असर भनेका छन् । जलवायु परिवर्तनले विश्वमै वातावरणीय चक्रलाई प्रभावित बनाएको छ । यसले जीवजन्तु, समग्र प्राणी जगत् र कृषि उत्पादनमा नकारात्मक प्रभाव परेको छ । अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिजस्ता घटनाहरू जलवायु परिवर्तनकै प्रभाव हुन् । यसकै कारणले गर्दा उत्पादनमा कमी हुने वा असमयमा पूmल फुल्ने र फल लाग्ने गरेका छन् । यस्ता घटनाले वातावरणीय असन्तुलन सिर्जना भएर मानव जीवन र पृथ्वीकै भविष्य जोखिममा पर्ने वैज्ञानिकहरूले बताइरहेका छन् ।
हिमाली क्षेत्रमा अहिले देखिएको प्रभाव पनि यसकै परिणाम हो । प्राकृतिक सम्पदाको अत्यधिक दोहन र हानिकारक ग्यासहरूको अनावश्यक उत्सर्जनले वातावरणीय प्रदूषण बढ्दो छ । यसमा विकसित देशहरूको योगदान बढी छ । पर्यावरण संरक्षणमा मानिस गम्भीर र संवेदनशील नहुने हो भने मानव अस्तित्व नै जोखिममा पर्न थालिसकेको छ । पर्यावरणीय प्रदूषणले मानिसको जीविकोपार्जनमा पनि प्रभाव पारिरहेको छ । आम्दानीको मुख्य स्रोत पशुपालन नै भएका हिमाली क्षेत्रका मानिसहरू यस वर्ष समयमा हिमपात नहुँदा चिन्तित छन् । हिमपात नभएर घाँसपात नउम्रिए चरनको समस्या सिर्जना हुनेछ । समयमा वर्षा नहुँदा तराई क्षेत्रमा पनि अन्नको उत्पादन घट्नेछ । यसले समग्र जीवन प्रणालीमै नकारात्मक असर पर्ने पक्का छ ।
पृथ्वीको तापक्रम हरेक वर्ष बढिरहेको छ । यसप्रति अहिले नै सचेत र गम्भीर नभए मानव जातिको अस्तित्व यस पृथ्वीमा धेरै समयसम्म रहन नसक्ने चेतावनी वैज्ञानिकहरूले दिने गरेका छन् तर विभिन्न देशका सरकार र मानव जातिले यस विषयलाई उपेक्षा गर्दा समस्या झन्–झन् बढ्दो छ । नेपालकै पूर्वी हिमाली क्षेत्रमा सिर्जना भएको अवस्था वातावरणप्रति मानव जातिको उपेक्षाकै परिणाम हो । यसप्रति हामी सबै सचेत हुनुपर्छ । वातावरण संरक्षणमा सबैको सामूहिक प्रयास र पहल आवश्यक छ । विकसित देशहरू यसप्रति अझ बढी गम्भीर र संवेदनशील बन्नुपर्छ । यो साझा समस्या हो, त्यसैले एकताबद्ध भएर सामना गरौँ ।