देशका पहाडी भूभागमा पनि चिसो बढिरहेको छ भने तराईका धेरै स्थानमा बिहानको समयमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुन थालेको छ । हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण दैनिक जनजीवन कष्टकर हुन थालेको छ । यसले गर्दा सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा आवश्यक सावधानी तथा सतर्कता अपनाउन आवश्यक छ ।
तराईमा कठ्याङ्ग्रिँदो जाडोले जनजीवन कष्टकर भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेपछि तराई–मधेशका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । स्थानीय तहहरूको निर्णयबाट मधेश प्रदेशका धेरै सामुदायिक विद्यालयहरू बन्द भइसकेका छन् । चिसोले बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी एवम् गर्भवती महिलाहरूलाई बढी असर गर्छ । यस्तो अवस्थामा उनीहरूलाई चिसोबाट जोगाउनु आवश्यक छ ।
विशेष गरी गरीब तथा विपन्न समुदायका सर्वसाधारण चिसोबाट बढी पीडित हुने गरेका छन् । उनीहरूसँग न त न्याना लुगा छन्, न त आगो ताप्नका लागि उनीहरूले पर्याप्त दाउरा नै जोहो गर्न सक्छन् । घर पनि चिसोबाट जोगाउन सक्ने गरी बलियो नहुने भएकाले उनीहरू बढी मारमा पर्ने गरेका छन् । तराई–मधेशमा हरेक वर्ष जाडो मौसममा सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् तर उनीहरूको जीवन रक्षाका लागि सरकारले कुनै ठोस कार्यक्रम सञ्चालन गर्न आवश्यक ठानेको छैन ।
स्थानीय तहरूहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् तर जाडोबाट सुरक्षाका लागि यति नै पर्याप्त छैन । उनीहरू घरमा पनि जाडोबाट सुरक्षाको पर्याप्त व्यवस्था छैन । यसतर्पm सबै तहका सरकारहरूको ध्यान जानुपर्छ । हुन त नवनियुक्त गृहमन्त्री रवि लामिछानेले जाडोबाट सर्वसाधारणलाई जोगाउन सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् तर बुभ्नु के आवश्यक छ भने निर्देशनले मात्र सर्वसाधारणको जीवन रक्षा हुँदैन । त्यसका लागि त पर्याप्त साधन–स्रोत चाहिन्छ । स्रोतको अभावमा सर्वसाधारणलाई चिसोबाट जोगाउन सकिँदैन भन्ने गृहमन्त्री र सरकारले पनि बुभ्mनुपर्छ ।
विपन्न समुदायका बालबालिका, ज्येष्ठ नागरिक तथा महिलाहरूका लागि चिसोबाट जोगाउन न्याना कपडा, आगो ताप्न दाउरा र कम्बलको व्यवस्था गरिनु आवश्यक छ । उनीहरूका लागि सुरक्षित र भरपर्दो आवासको व्यवस्था पनि आवश्यक छ । जाडो मौसममा चल्ने चिसो स्याँठ रोक्न नसक्ने झुपडीमा रात बिताउन निश्चय नै कठिन हुन्छ । यसका साथै सरकारी स्वास्थ्य कार्यालयहरूमा आवश्यक औषधि निःशुल्क वितरणको व्यवस्था मिलाइनुपर्छ । यस्तो बेलामा कोल्ड डाइरिया, दम, रुघा, खोकीजस्ता समस्या देखिने चिकित्सकहरूले बताएका छन् । यसतर्पm सरकारको ध्यान जानुपर्छ । चिसोबाट जोगिन बाक्ला र न्याना लुगाका लगाउनुका साथै झोलिलो र तातो खाना खानुपर्ने चिकित्सकहरूको भनाइ छ तर दुई छाक अघाउँजी खान नै धौधौ पर्ने नागरिकका लागि यस्तो सुझाव पनि व्यङ्ग्य नै हुन पुग्छ । यसको दीर्घकालीन समाधान त रोजगारीको व्यवस्था नै हो । विपन्न नागरिकहरूको जीवनस्तरमा सकारात्मक सुधार नल्याई यसको दीर्घकालीन समाधान सम्भव छैन । यसतर्पm सरकारको ध्यान पुग्नुपर्छ ।
कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००
अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना
Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved