धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ मा उत्कृष्ट स्थान हासिल गर्ने प्रतिभाशाली विद्यार्थीहरूलाई एक भव्य कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ। प्रतियोगिता र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा सम्पन्न भएको हो।
धरान–१० स्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. को सभाहलमा आइतबार सम्पन्न कार्यक्रममा झापा होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आविष्कार राउतलाई शीर्ष उपाधिसहित ५५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ।
२५ हजार रुपैयाँ सहित फर्स्ट रनर अप बनेकी पब्लिक हाईस्कुलकी जिज्ञासा भट्टराई, सेकेन्ड रनर अप बनेका ब्लुम नेपाल स्कुल, इटहरीका शुभम पोख्रेललाई १० हजार रुपैयाँ र थर्ड रनर अप बनेकी जेम सेकेन्डरी स्कुलकी सन्जिना राईलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न उपशीर्षकहरूमा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो। पब्लिक चोइस अवार्ड जितेकी समीक्षा पौडेल (शिक्षादीप एकेडेमी, इटहरी) लाई ३ हजार रुपैयाँ प्रदान गरियो।
त्यस्तै, निम्न विद्यार्थीहरूले उपशीर्षकमा नगद १/१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेः
विजेताहरूलाई धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा, डिएसपी प्रकाश जबेगु, सिईओ सुरेन्द्र घिमिरे र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख बिरेन्द्र सिंह थापाले संयुक्त रूपमा पुरस्कार वितरण गरे।
कार्यक्रममा आयोजक संस्था र्याडिकल लाइट नेपालका अध्यक्ष तिर्थ कार्कीले एस.ई.ई. परीक्षापछि विद्यार्थीहरूको वाककला, नेतृत्व क्षमता र सार्वजनिक प्रस्तुति कौशल विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए। उनले कार्यक्रममा सहभागी र सहकार्य गर्ने सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रममा धरान वडा नं. ३ का वडा सदस्य मिङ मा भोटेको पनि उपस्थिति रहेको थियो।
