धान भित्र्याउने कामदार नपाएर किसान हैरान

  • कार्तिक १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt - जनार्जन खत्री

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका किसान हैरान भएका छन् । जिल्लाको उत्तरी भेगमा धान पाकेर पहेँलपुर भए पनि भित्र्याउनका लागि कामदार नभेटिएपछि किसानलाई समस्या परेको हो ।

कामदार नपाउँदा घारिबथान, परवानीपुर, रानिगन्ज, जब्दी, लालबन्दी, नवलपुर, जानकीनगर, घुर्कौली, कर्मैया, हरिवनलगायत क्षेत्रका किसानलाई धान थन्काउन समस्या परेको छ ।

दसैँको समयमा किसानले धमाधम पाकेको धान काट्ने, थ्रेसर लगाउने र घरमा ल्याएर भकारीमा थन्काउने काम गरिरहेका छन् । लालबन्दी नगरपालिका –१६, परवानीपुरका किसान भरतप्रसाद गौतमका अनुसार अधिकांश किसानको खेतमा धान पाकिसकेको भए पनि कामदार पाउनै मुस्किल छ ।

ढिलोगरी धान पाक्ने जिल्लाको दक्षिणी भेगबाट उत्तरी भेगमा केही कामदार धान काट्ने कामका लागि आएका छन्, तर पर्याप्त छैनन् । कामदार नपाएपछि दसैँ मनाउन गाउँघर आएकाहरु तथा आफन्तसमेत मिलेर धान काटिरहेका गौतमले जानकारी दिनुभयो ।

यो वर्ष दसैँ पछाडि धकेलिएकाले किसानलाई चाडपर्वकै बेला धान थन्काउने चटारो परेको हो । गौतमले भन्नुभयो, “किसानलाई यो साल दसैँभन्दा त पाकेको धान कसरी भित्र्याउने भन्ने चिन्ता बढी रह्यो । त्यसैमाथि कामदार नपाएर झन हैरान छन् ।”

कामदार अभावले गर्दा धान काट्न ढिलो भएको किसानको गुनासो छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कात्तिक ११ गतेदेखि वर्षाको पूर्वानुमान गरेकाले पनि कामदार अभावकै बिच पाकेको धानबाली भित्र्याउनु पर्ने बाध्यता रहेको किसानले बताएका छन् ।

केही क्षेत्रमा पाकिसकेको धानमा किरा लागेर बाला काट्न थालेपछि किसानलाई धान बाली हतार गरेर भित्र्याउनु पर्ने बाध्यता परेको छ । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका किसान रामजी थापाले आफूहरुको क्षेत्रमा किराले खाएर धानको बाला खेतभरी पारेको जानकारी दिनुभयो ।

कामदार नपाएर किसानलाई धान काट्नेदेखि धान तथा पराल घरसम्म ल्याउन सकस परिरहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा काम गर्ने मान्छे नै कम छन् । दक्षिणी बेल्टबाट आएका थोरै कामदार तानातान भइरहेको छ ।”

पछिल्लो समय धान काट्न फाट्टफुट्ट हाते मेसिन आएको छ । मेसिनबाट धान काट्न पनि दुई–तीन दिन कुर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ । धान झार्न भने प्रत्येकजसो किसानको खेतमा थ्रेसर पुग्ने गरेको छ । कामदारले गर्नुपर्ने कामका लागि भने मान्छे पाउनै मुस्किल रहेको किसानले बताएका छन् ।

उत्तरी भेगको किसानलाई अहिले धान भित्र्याउनेसहित पराल थन्काउने, मास उखेल्ने, बोडी टिप्ने, तोरी छर्नेसहितको कामको एकैसाथ चटारो छ । जिल्लाको दक्षिणी बेल्टमा भने ढिलो गरी पाक्ने धान लगाइएको र तिहार तथा छठको छेका धान काट्ने समय हुने कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।

किसानको पहुँचमा आधुनिक उपकरण नपुग्दा, मानिसले नै गर्नुपर्ने कामका लागि कामदार नपाउने र अर्मपर्मको परम्परा हराउँदै गएसँगै खेती गर्न मुस्किल परेको गुनासो बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार यो वर्ष जिल्लाभर ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा आधाउधी धान पाकेर भित्र्याउने बेला भएको छ ।

कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत कमलदेवप्रसाद कुशवाहाले बैदेशिक रोजगारमा बढ्दो आकर्षणका कारण कृषि क्षेत्रमा कामदारको अभाव बढ्दै जानु चिन्ताजनक विषय बनेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “एकातर्फ सम्पूर्ण किसानको पहुँचमा आधुनिक कृषि उपकरण पुग्न सकेको छैन्, अर्कोतर्फ कामदार अभाव चिन्ताजनक विषय बन्दैगएको छ ।”

ससुरालीमै धारिलो हति ...

खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आह ...

होटलमा जुवाको खालमा ...

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शान ...

सप्तकोशीमा पानीबोट द ...

धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस ...

इनरुवामा दुई जना पक् ...

इनरुवा/ सुनसरीको इनरुवामा मलद्वारमा लुकाएर ल्याइएक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved