इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शान्ति चोकमा रहेको द ईस्टन होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट नगद ४ लाख ५६ हजार १८० रुपैयाँ र ७ बुङ तास बरामद गरेको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक ८ गते साँझ ५ बजे होटलमा जुवातास खेल भइरहेको विशेष सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले होटलमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा इटहरीका विभिन्न वडामा बसोबास गर्ने ८ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा इटहरी–१ का ३७ वर्षीय मोहन घिमिरे र ३९ वर्षीय युवराज मगर, इटहरी–८ का ४२ वर्षीय मनोज राई र ५२ वर्षीय ईश्वर कार्की तथा इटहरी–४ का ४० वर्षीय टिकाराम गेलाल, ४० वर्षीय जीवन अधिकारी, ४३ वर्षीय दुर्गाप्रसाद थापा र ४२ वर्षीय खगेन्द्र लिम्बू रहेका छन्।
प्रहरीले बरामद नगद र ताससहित पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।