अङ्ग्रेजी क्यालेन्डरअनुसार आज नयाँ वर्ष अर्थात् सन् २०२३ को पहिलो दिन । अनेकोँ तीता–मीठा अनुभव दिएर सन् २०२२ हामीबाट विदा भइसकेको छ । बितेको वर्षमा कुन–कुन क्षेत्रमा के–के उपलब्धि भए वा कस्ता चुनौती देखिए भन्ने विषयमा संसारभरि नै चर्चा–परिचर्चा भइरहेका छन् । नेपालमा पनि गएको वर्ष कुन–कुन क्षेत्रमा कस्ता–कस्ता घटना भए भन्ने विषयमा चर्चा र विश्लेषणहरू हुन थालेका छन् ।
नेपाली पत्रकारिता क्षेत्रबारे पनि यस्ता विश्लेषणहरू हुन थालेका छन् । नेपाली पत्रकारिताका लागि यो वर्ष निकै चुनौतीपूर्ण बनेको नेपाल पत्रकार महासङ्घले जनाएको छ । यस अर्थमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा सन् २०२२ निकै चुनौतीपूर्ण वर्ष बनेको प्रस्ट छ । नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ–नयाँ तरिका अपनाइएको महासङ्घको भनाइ छ । निश्चय नै प्रविधिको विकाससँगै चुनौतीहरू पनि नयाँ रूपमा प्रकट भएका छन् । यो स्वाभाविक पनि हो । समाचारप्रति असहमत व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ–नयाँ शैलीमा आक्रमण गर्न थालेका छन् ।
अहिले परम्परागत सञ्चार माध्यमहरू सङ्कटमा पर्न थालेका छन् भने यसको ठाउँ डिजिटल पत्रकारिताले लिन थालेको छ । डिजिटल माध्यमहरू शक्तिशाली बन्दै जाँदा पत्रकारहरूले अतिरिक्त दक्षता प्राप्त गर्नु आवश्यक देखिएको छ । स्वाभाविक छ – पत्रकारिता नै डिजिटल माध्यममा केन्द्रित हुन खोज्दा सञ्चारमाध्यम र पत्रकारमाथिको आक्रमण पनि डिजिटल माध्यमबाट नै हुनेछ । गएको वर्ष नेपाली पत्रकारितामा यस्तै अवस्था देखिएको छ । नेपाली पत्रकारिताका लागि यो नयाँ चुनौती हो । अनलाइन सञ्चारमाध्यमको सीएमएसमा अनधिकृत प्रवेश गर्ने, सङ्गठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्पmत् विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएका छन् । नेपाल पत्रकार महासङ्घको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हनन्का ५३ वटा घटना उल्लेखित छन् । सन् २०२१ मा प्रेस स्वतन्त्रता हनन्का ६२ वटा घटना अभिलेख भएका थिए ।
यस आधारमा प्रेस स्वतन्त्रता हनन्का घटनामा यो वर्ष सङ्ख्यात्मक रूपमा केही कमी आएको भए पनि घटना फरक अनुहारमा आएका छन् । त्यसकारण यसको सामना गर्न पनि अब नयाँ ढङ्गले तयारी गर्नु आवश्यक छ । यसरी नयाँ शैलीमा पत्रकारितामाथि आक्रमण गर्नेहरूलाई सजायको भागिदार बनाउन नीतिगत सुधारसँगै नयाँ संयन्त्र पनि बनाउनु आवश्यक देखिन्छ । सरकारले यस विषयमा गम्भीर बन्नुपर्छ । यस विषयमा बेलैमा गम्भीरता नअपनाउने हो भने प्रेस स्वतन्त्रताका दृष्टिले आगामी वर्ष थप चुनौतीपूर्ण हुने अनुमान गर्न सकिन्छ । यसर्थ, नेपाली पत्रकारितालाई नयाँ चुनौतीहरूबाट जोगाउन सरकार र महासङ्घले सहकार्य गर्नुपर्छ । त्यसो त पत्रकारितालाई मर्यादित, निष्पक्ष र पूर्वाग्रहरहित बनाउन पत्रकारहरूले पनि मेहनत गर्नु आवश्यक छ । यस पक्षलाई पनि बिर्सन मिल्दैन । कतिपय घटनामा पत्रकारकै कमजोरी पनि देखिने गरेका छन् । पत्रकारहरू नैतिकवान् र पेशाप्रति इमानदार हुँदा पनि प्रेसमाथि आक्रमणका घटनामा केही कमी आउला कि !