धरान अरुसँग प्रतिस्पर्धा गर्ने अबस्थामा छ

  • वैशाख २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान सरोकार समाजको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरे बैशाख १५ गते सम्पन्न भएको साधारण सभाद्धारा निर्वाचित भएका छन् । वि.सं.२०२१ मङ्सिर १५ गते तदनुसार ई.सं. ३० नोभेम्बर १९६४ धरानको वडा नम्बर १० मा घिमिरको जन्म भएको हो ।

उनी पिता भारतीय सेनाको क्याप्टेन नरनाथ घिमिरे र माता नेत्रकुमारी घिमिरेका जेष्ठ सुपुत्र हुन् । घिमिरेले विद्यालय शिक्षा धरानमा नै गरे ।उनले धरान १२ स्थित पव्लिक हाइस्कूलबाट आफ्नो विद्यार्थी जिवन सुरु गरेका हुन् । सन् १९८६ मा धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहको अध्ययन पुरा गरेका थिए ।सन् १९८९ मा काठमाण्डौको शंकरदेव क्याम्पसबाट व्यवस्थापन शास्त्रमा स्नातक तह,सन् १९९६ मा शंकरदेव क्याम्पसबाटै व्यवस्थापन शास्त्रमा एम.बि.ए.पुरा गरेका हुन् । घिमिरेले सन् १९९६ मा कानुनमा स्नातक, सन् २००२ मा त्रिभुवन विश्वविद्यालयबाट स्वर्णपदक सहित एम.पि.ए.उत्तिर्ण गरेका छन् ।

नर्वेमा अध्ययन

२००६ अगस्टदेखि नर्वेको बर्गेन विश्वविद्यालयमा एम.फिल.अध्ययन पुरा गर्ने क्रममा नर्वेका ख्यातिप्राप्त प्राज्ञिक व्यक्तित्व प्रोफेसर पिएर लाग्रिडसँग रिसर्च थेसिस गर्ने मौका प्राप्त गरे । त्यस्तै घिमिरेले बेलायतको प्रतिष्ठित चेभेनिँग फेलोसिप पाएर बेलायतको योर्क विश्वविद्यालयमा सन् २००६ मा केही महिना बिताए । त्यसैगरी, हार्वर्ड विश्वविद्यालयको केनेडी स्कूल अफ गर्भनेन्समा सन् २०१० मा अमेरिकी अन्तर्राष्ट्रिय व्यापारविद प्रोफेसर रबर्ट लरेन्सबाट छोटो समय व्यापार नीतिमा प्रशिक्षित हुने मौका समेत उनले पाएका छन् ।

सरकारी सेवामा प्रवेश

सन् १९८९ देखि घिमिरे अनवरत काठमाण्डौमा रहे । सन् १९९० मा उनले नेपालको निजामती सेवामा शाखा अधिकृतको रूपमा प्रवेश गरे । सन् १९९६ मा उपसचिव पदमा बढुवा भए भने सन् २००५ मा सहसचिव पदमा बढुवा भए । घिमिरे नेपाल सरकारका वरिष्ठ प्रशासक हुँदै उद्योग वाणिज्य मन्त्रालयको सचिव समेत भएका छन् । सन् २००६ मा नर्वेको बर्गेन सहरमा अध्ययनका लागि गए । नर्वेबाट सन् २००८ मा नेपाल फिरेपछि अनवरत नेपालको निजामति सेवाको सहसचिव पदमा रहेर सेवा गरे ।

सन् २०१२ जनवरीमा नेपाल सरकारले उनलाई नेपालको लागि भारतको कोलकातास्थित महावाणिज्यदूत पदमा नियुक्त गरेदेखि कूटनीतिज्ञको रूपमा कोलकातामा रहि २०१६ सम्म नेपालको सेवा गरे । २०१६ मा नेपाल सरकारले सचिव पदमा वहाँलाई बढुवा गरेपछि कोलकाताबाट फिरेर प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र उद्योग मन्त्रालयमा सचिवको रुपमा नेतृत्व गरे । चीनसँग नेपालले गरेको ट्रान्जिट सम्झौता लगायत थुप्रै देशहरु सँग भएका सन्धी सम्झौता र वार्ताहरुमा घिमिरेले नेपाललाई नेतृत्व गरेका छन् । २०२१ जनवरीबाट नेपाल सरकारको ३१ वर्षभन्दा लामो सक्रिय सरकारी जीबनबाट पनि अवकास पाएका घिमिरे अहिले वाणिज्य, पारवहन, लगानी तथा औद्योगिक विकास विदका रुपमा राष्ट्रिय अन्तराष्ट्रिय तहमा उत्तिकै सक्रिय छन् ।

साहित्यका अलावा घिमिरेले सार्वजनिक प्रशासन, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा काम गरेकाले उनका अनेकौँ लेखहरु प्रकाशित छन् । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा पनि कार्यपत्रहरु प्रस्तुत गरेका छन् ।

सरकारी सेवाबाट अवकास पाएपछि घिमिरे राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका लागि वरिष्ठ नीति अनुसन्धानकर्ताका रुपमा कार्य गर्दै आएका छन् । उनका प्रकाशित लेख, प्रतिवेदन, अनुसन्धान, विचार, अन्र्तवार्ता टिभी, रेडियो, पत्रपत्रिका, जर्नलहरुमा प्रस्सत पढ्न सुन्न पाईन्छ । विकास विमर्शमा घिमिरे राष्ट्रिय रुपमा सुपरिचित नाम हो । साथसाथै, विगतमा त्रिभुवन विश्वविद्यालयमा पढाएका घिमिरे पछिल्लो समयमा काठमाण्डौं विश्वविद्यालयमा भिजिटिङ्ग फ्याकल्टीका रुपमा अध्यापन गर्दै आएका छन् ।

एक पृथक शैलीका कवि

घिमिरे नेपाली कवितामा एक पृथक शैलीका कवि हुन् । बिम्बमा लेख्न रुचाउने घिमिरे सामाजिक कविता लेख्ने गरेका छन् । त्यसैगरि प्रेम, नैराश्य, दुःख जस्ता अनूभूतीजन्य कविता पनि लेखेको छन् । पछिल्ला समयमा यीनले पिछडिएका, सिमान्तकृत र सबाल्टर्नहरुका पक्षमा लेखिएका कविता र राजनीति तथा समाजमा देखिने विकृतीमाथि प्रहार गरेर अधिकतर कविताहरु लेखेका छन् ।

धरानलाई फर्केर हेर्दा

अव मैले केटाकेटीमा देखेको चहलपहल अहिले अपेक्षा गरे भने त्यो मिल्दैन । त्यो वेलाको धरान अनगिन्ती पहाडी जिल्लाको ढोकाको रुपमा चिनिएको थियो । तर अहिले धरानले क्रमशः विगतको हैसियत गुमाउँदै गएको छ । अहिले भिन्न जिल्ला वा ठाउँहरुबाट विभिन्न पहाडी जिल्लाहरुमा जाने बाटो धरानलाई नछोई अघि वढिरहेका र बनिरहेका छन् । अव धरानले नयाँ हैसियतको विकास गर्नु पर्ने भईसकेको छ । त्यो वेलाको धरान कृषि बजार, घोपा क्याम्प र शैक्षिक केन्द्रका कारण रेमिन्ट्यान्सको ओइरो लाग्ने गरेको थियो । यहाँको बजार, सिनेमा हल चलायमान थियो । यहाँ हुने व्यापार व्यवसायले पूर्वी नेपालको अर्थतन्त्रलाई नै चलायमान वनाएको इतिहाँस थियो । एक हिसावले हेर्ने हो भने शिक्षा, स्वास्थ्य र व्यापार व्यवसाय लगायतको क्षेत्रमा धरानको मनोपली अर्थात एकाधिकार नै थियो ।

हालको धरानलाई नियाल्दा

मैले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नेपालको विकासक्रमलाई निरन्तर अध्ययन गरिरहेको र हेरिरहेको हुन्छु । धरानलाई नै जुमलेन्स बनाएर त हेरेको छैन । त्यसका लागि माइक्रोलेवलमा हेर्नु पर्ने हुन्छ । तथापी देशभित्रका विभिन्न शहरलाई मैले तुलना गरेर हेरिरहेको हुन्छु । धरानलाई पनि त्यस विकासक्रममा हेरेको छु । तुलानात्मक रुपमा धरानले जति कुद्नु पर्ने हो, जति फड्को मार्नु पर्ने हो, मज्जाले भन्न सकिन्छ त्यो लेबल पुग्न सकेको छैन । किनकी नेपालभर रहेका साविकका सहर नगर र उदीयमान सहर नगरहरु सबै अहिले दौडिरहेका छन् । अरु प्रदेश नजाउँ, कोशी प्रदेशभित्रै रहेका अन्य शहरको तुलनामा धरानको गति पुगेको छैन । धरान भन्दा धेरै पछाडि जन्मिएको शहर इटहरी, विर्तामोड र दमक लगायतसँग तुलना गर्ने हो भने अहिले उनीहरु कहाँ पुगेका छन् ? र धरान कहाँ छुटेको छ ? उनीहरुको बजेटको आकार हेर्नुहोस् वा अर्थतन्त्रको आकार वा पूर्वाधार विकासको क्रम । धरान दौडमा पछाडी पर्दै गएको छ । धरानसँग निश्चयपनि केही सीमितताहरु छन, तर सानो हुँदैमा प्रगति नगर्ने भन्ने कुरा हुँदैन । जापान सानो छ तर अमेरिका पछिको अर्थतन्त्र उसैले बनाएको विश्वमा देखिएको छ । सानो भएपनि छिटो दौडन सकियो भने उन्नती गर्न सकिन्छ । पछाडी पर्नु भन्दा अर्को डर यो छ कि यो दौडमा धरानले जति ढिलाई गर्छ त्यति नै पछि पर्छ । अरु १० देखि २० कदम अघि वढ्दा धरानले उछिन्न ३० देखि ४० कदम हान्नु पर्ने हुन्छ । मैले दुखका साथ भन्नु पर्छ की कनुै बेला धनकुटा पुर्वी नेपालकै केन्द्रको रुपमा चिनिएको हो तर आज धनकुटा कहाँ छुटको छ ? आज धरान त्यस्तै अर्को धनकुटा बन्ने मार्गमा जानु हुन्न । यस तर्फ धरान निकै सचेत वन्नु पर्छ ।

धरान यसकारण पछि पर्यो

काठमाण्डौँबाट आएको बेला धरानका वासिन्दा र बुद्धिजीविहरुको कुरा म ध्यानपूर्वक सुन्ने गर्छु । सुन्छु, धरानले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेतृत्व पाउन सकेन । अर्को धरानमा जस जसले दलिय राजनीतिको नेतृत्वमा पुगेर भुमिका निर्वाह गरे नयाँ छाप छोड्न सक्नु भएन । धरानमा जमिनको अभाव छ जसले यो शहरको विकासलाई साँघु¥याएको छ । धेरै नपैmलिएपनि समुन्नती हाँसिल गर्ने उपायहरु हुन्छन् । जस्तै, धरान पर्यटनको प्रवल संभावना बोकेको शहर हो।

धरानसँग अरु पनि धेरै संभावनाहरु छन् । धरानले यी संभावनालाई किन उपयोगमा ल्याउन सकेन । धरानले पर्यटनको क्षेत्रमा नेतृत्व गर्न सक्यो भने धरान एक्लै हैन, छेऊछाउका अन्य शहर र गाउँहरु पनि सँगसँगै उठ्ने थिए । धरानले कोशी टप्पु, बराहक्षेत्रको पर्यटनलाई लिएर अघि वढ्न सकेको भए तिनजुरे मिल्के, तमोर, अरुण लगायतको पर्यटनलाई जोडेर लगेको भए तिनीहरुसँग साझेदारी गरि अघि वढेको भए धरान साँच्चै ती सबैको नेतृत्वकर्ता हुन सक्थ्यो। र फड्को पनि मार्ने थियो । तर त्यो गर्नको लागि धरानको नेतृत्व बलियो र भिजनरी हुनु पर्छ । सबैलाई समेट्न सक्ने राम्रो समन्वयकर्ता हुनपर्छ । अव धरानको पर्यटनको विकासका लागि अति आवश्यक पानी हो । पानीको अभावले धरानमा वर्षेनी पिरलो हुने गरेको देख्छु । पानी नै नभएपछि धरानमा फाइभ स्टार होटल फोर स्टार होटल आउँदैन, बन्दैन । जबसम्म धरानमा पर्यटनको विकासमा पानीको समस्या समाधान हुँदैन, धरानले पर्यटनको पुर्वाधारमा लगानी ल्याउन सक्दैन।

फाइभ स्टार र फोर स्टार स्तरको होटल आएन भनेपनि हामीले होम स्टेलाई त प्रभावकारी ढंगले सन्चालन गर्नु पथ्र्यो नी ! त्यस्तै ग्रामिण अर्थात रुरल टुरिजम धरानले चलाउन सक्नु पथ्र्यो । अर्को मलाई लाग्छ, धरानलाई राष्ट्रिय राजमार्गले हिँजो पनि नछोइकन गयो र आजको दिनमा पनि नछोइकन गएको छ । सँसारमै हेरौँ, जुन शहरलाई बन्दरगाह अथवा राष्ट्रिय राजमार्गले छोएको हुन्छ, त्यो नगरले छिटो, लामो र दिगो फड्को मार्छ । तर धरानले यो सवालमा थुप्रै अवसरहरु गुमाएको छ । म आफैंले आँपैmले नेगोसिएसन गरेको चाइनासँगको नाकाहरु खोल्दा नेपालको लागि ६ वटा नाकाहरु खोल्नको लागि विशेष भुमिका खेलेँ । त्यो सूचीमा किमाथांका नाकालाई राख्न मैले निकै ठूलो भुमिका खेलेको छु।

त्यो किमाथांकालाई जोड्ने गरी नेपाल–चीन अन्तरदेशिय राजमार्ग बनेको भए आज धरान केन्द्रमा वस्ने थियो । अहिले सम्म धरान हुँदै जाने त्यो अन्तरदेशिय राजमार्ग ८ लेन अथवा ६ लेन भएर बनेको भए त्यो नाका प्रयोगमा आउने थियो । धरानमा चिनियाँ पर्यटक आउने र यहाँ चिनियाँ लगायत धेरैको लगानी आउने प्रशस्त ढोका खुल्ने थिए । यसबाट धरानको कायापलट हुने थियो । यहाँको कृषि, शिक्षा स्वास्थ्य, उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा आएर राष्ट्रिय अर्थतन्त्रमा धरानको गुमेको पुरानो इतिहाँस वा विरासत फिर्ने थियो ।

अव के गर्नु पर्छ ?

मलाई लाग्छ, सरकारी कोषमा थोरै पैसा छ जुन लामो फड्को मार्न नपुग हुन्छ । त्यो नपुग बजेट पनि गाउँपालिका, प्रदेश र संघीय प्रदेश सरकारलाई बाँडफाँट गर्नु पर्छ । त्यसैले अब सरकारको मात्रै मुख ताक्ने होइन । धरानलाई उन्नती र प्रगतीको बाटोमा हाँक्ने हो भने निजी क्षेत्रको सहकार्यमा ठुलो लगानी भित्राउनु पर्छ । त्यसका लागि नीजि क्षेत्रलाई चलायमान वनाउनु पर्छ । वैदेशिक लगानी भित्राउनु पर्छ । वैदेशिक लगानीमा धरानका लागि के कस्ता अफरहरु हुन सक्छन, त्यस्ता अफरका लागि धरानको नेतृत्वले ध्यान पु¥याउनु पर्छ । धरान प्रतिष्पर्धाको युगमा छ । निजी क्षेत्रको लगानी प्रतिस्पर्धा नगरी आउँदैन । यस्तो मामिलामा धरानलाई पुर्वी नेपालको लिडर बनाउने गरी धरानले काम गर्नु पर्छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृतिको समूल अन्त्य र स्वास्थ्य सेवालाई प्रभावकारी वनाउनु जरुरी छ । मैले देखेको छु, धरानका वरिपरीको भेकमा ढुंगा खानी र अन्य खानी उपयोग गर्ने र त्यस्मा नयाँ लगानी ल्यााउने प्रचुर संभावना पनि छ । उद्योग कलकारखाना सन्चालन हुँदा धरान मात्रै होइन छेउछाउका नगर र गाउँमा समेत चहलपहल वढ्ने निश्चित छ । दुःख लाग्छ , विगतमा धरानबाट मदन भण्डारी राजमार्ग धरानलाई नछोइकन गयो । यो तरीकाले धरानले पाएको अवसर गुमाउनु भनेको दुर्भाग्य हो । धरानको संभावनालाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा नेतृत्व गर्नेहरुले बुझ्न थप ढिलो गरेमा अझै धरान पछि पर्छौं ।

(चन्द्र घिमिरेसँग कोशीपत्रकर्मिले गरेको कुराकानीमा आधारित)

सुनसरीका एसपीलाई आयो ...

एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको ...

धरानको बिजिनेश एक्स् ...

धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्ल ...

ताप्लेजुङबासी पाथीभर ...

धरान/  धरानमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल ...

अपांग तथा असहाय केन् ...

धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved