धरान : चौतर्फी आलोचनापछि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले आफ्नो एउटा फेसबुक स्टाटसमा प्रयोग भएको शब्दप्रति आइतबार क्षमा मागेका छन् । उनले फेसबुक स्टाटस र पत्रमार्फत् नै क्षमा मागेका हुन् ।
उनले गत मङ्सिर २८ गते लेखेको एउटा स्टाटसमा विरोधीहरूका लागि ‘चमारे’ शब्द प्रयोग गरेका थिए । सो विषयमा आपत्ति जनाउँदै राष्ट्रिय दलित आयोगले उनलाई स्टाटस सच्याउन आग्रह गरेको थियो तर मेयर राईले उल्टै आयोगको खिल्ली उडाएका थिए । आफू कुनै हालतमा नझुक्ने अडान लिएका राई अहिले भने आफ्नाे पद नै धरापमा परेपछि क्षमा माग्न बाध्य भएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसले दलित समुदायलाई नराम्रो लागेकोमा दुःख व्यक्त गर्दै क्षमा मागेका छन् । उनले कसैलाई ठेस पुर्याउने नियतबश सो स्टाटस पोस्ट नगरेको जनारएका छन् ।