बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, यात्रुवाहक हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा धरानका एक युवासहित १० जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो करिब १२ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा नेपाल आयल निगमको डिपो नजिक दुर्घटना भएको हो ।
अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना।४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग।२ ख १९९३ नम्बरको हाइस ठोक्किएको थियो । सोही हाइसको पछाडिबाट धरानबाट हेटौँडातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–१६ निवासी २४ वर्षीय सरोज गुभाजुसहित ट्यांकर चालक, हाइस चालक र हाइसमा सवार यात्रुहरू घाइते भएका छन् । घाइतेमध्ये भारतीय नागरिकसमेत रहेका छन् ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको अमलेखगन्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ ।
दुर्घटनापछि अवरुद्ध भएको सडक सुरुमा एकतर्फी सञ्चालन गरिएको थियो भने दिउँसो १ः५५ बजेदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अमलेखगन्जले जनाएको छ ।