धरान/ मोरङमा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले प्रहरीमाथि पेस्तोल ताक्ने दुई भारतीय नागरिकलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
उनीहरूको साथबाट ५०० ग्राम खैरो हेरोइन र पेस्तोलसमेत बरामद भएको छ।
भारतमा बसेर नेपालमा लागूऔषध सप्लाई गर्दै आएको गिरोहको निगरानी गर्ने क्रममा प्रहरीले बिहीबार (२०८३ कात्तिक १२ गते) मोरङको रतुवामाई नगरपालिका–६ मा उनीहरूलाई पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्युरोले लामो समयदेखि भारतीय नागरिक तथा उनीहरूसँग मिलेर नेपालमा लागूऔषध कारोबार गर्ने नेपाली नागरिकहरूको गतिविधिमाथि निगरानी गरिरहेको थियो।
सोही क्रममा भारतको अररियाबाट दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका तीन जनालाई प्रहरीले रोकेर जाँच गर्न खोजेको थियो।
त्यसक्रममा भारतीय नागरिक २२ वर्षीय दीपक कुमार बोसाकले आफूसँग रहेको पेस्तोल निकालेर प्रहरीमाथि फायर गर्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप पाँच राउण्ड हवाई फायर गरेको थियो।
तर, उनले पेस्तोल प्रहरीतर्फ नै ताकिरहेपछि प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोली लागेर दीपकको बायाँ खुट्टाको घुँडामुनि एक राउण्ड र अर्का भारतीय नागरिक ४० वर्षीय पुरन कुमार बोसाकको दाहिने खुट्टाको घुँडामुनि दुई राउण्ड गोली लागेको छ।
घाइते दुवैलाई रतुवामाई नगर अस्पताल झुर्कियामा उपचारका लागि भर्ना गरिएको छ। घटनास्थलबाट दीपकको साथमा रहेको ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न भारतीय नागरिकद्वय दीपक र पुरनसँगै रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय नेपाली नागरिक योगेन्द्र ठाकुरलाई समेत नियन्त्रणमा लिएको छ। ठाकुर शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति रहेको जनाइएको छ।
पक्राउ परेका ठाकुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङमा बुझाइएको छ। प्रहरीले घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकल र तीन थान मोबाइलसमेत बरामद गरेको छ।