धरान/ सुनसरीको देवानगञ्जमा प्रहरीलाई देख्नेबित्तिकै भन्सार छली ल्याइएका सामान फालेर मोटरसाइकलसहित चालक फरार भएका छन्।
बिहीबार बिहान ९ बजे देवानगञ्ज गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरी टोलीलाई देखेपछि सामान फालेर फरार भएका हुन्।
इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट अन्दाजी ९८ हजार रुपैयाँ मूल्य बराबरका इलेक्ट्रोनिक्स तथा भान्सामा प्रयोग हुने सामान बरामद गरेको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिनगरामा राखिएको छ। फरार चालक र मोटरसाइकलको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।