धरान/ सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले धरानका छुट्टाछुट्टै स्थानमा छापा मार्ने क्रममा ३१ वर्षीया सलिना राई र ३६ वर्षीय अमिर सार्कीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार २०८३ कात्तिक ११ गते दिउँसो ३ः३० बजे धरान उपमहानगरपालिका–५ गैरीगाउँमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको संयुक्त टोलीले अमिर सार्कीको कोठा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उनको कोठाबाट ब्राउन सुगर ०.४ ग्राम पदार्थ फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही दिन साँझ ७ः५० बजे धरान–८ अरुण टोलस्थित फलामे पुल क्षेत्रमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछी र तिनकुनेबाट खटिएको संयुक्त प्रहरी टोलीले सलिना राईको घरकोठा खानतलासी गरेको थियो।
त्यस क्रममा उनको साथबाट ब्राउन सुगर ०.८५ ग्राम पदार्थ फेला परेपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।