धरान/ व्यवस्थित डम्पिङ साइटको अभावमा धरान उपमहानगरपालिकाले सेउती खोला किनारको जङ्गलमा फोहोर फाल्दै आएको छ।
त्यहीँ थुपारिएको फोहोरमा फेरि आगलागी भएको छ। फोहोरबाट बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले ७ करोड रुपैयाँ खर्चेर स्थापना गरिएको प्रशोधन केन्द्रसमेत बन्द हुँदा धरानको फोहोर व्यवस्थापन थप जटिल बनेको छ।
मङ्गलबार रातिदेखि सेउती खोला किनारको जङ्गलमा थुपारिएको फोहोरमा आगलागी भएको हो। सरसफाइ कर्मचारीले बुधबार बिहान मात्रै आगलागीबारे थाहा पाएका थिए।
उनीहरूका अनुसार मङ्गलबार साँझसम्म फोहोर फाल्न उक्त स्थानमा पुग्दा आगो लागेको थिएन। रातिको समयमा अपरिचित व्यक्तिले आगो लगाएको हुन सक्ने उनीहरूको आशङ्का छ। तर, आगलागीको वास्तविक कारण खुलिसकेको छैन।
आगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाले दुई वटा डोजर र दमकल परिचालन गरेको छ। घटनास्थल पुगेका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले आगलागीमा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गरिने बताए।
धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्र बन्द भएपछि नगर क्षेत्रबाट सङ्कलित फोहोर पुनः सेउती खोला किनारको जङ्गलमा फाल्नुपर्ने अवस्था आएको छ। फोहोरबाट ऊर्जा र मल उत्पादन गर्ने योजनासहित स्थापना गरिएको केन्द्र सञ्चालनमा नआउँदा ठूलो लगानीको उपयोगितामाथि समेत प्रश्न उठेको छ।
कार्यवाहक प्रमुख बेघाका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र विश्व बैङ्कको अनुदानमा करिब ७ करोड रुपैयाँ लागतमा प्रशोधन केन्द्र स्थापना गरिएको थियो।
केन्द्रमा नगरबाट सङ्कलित फोहोरलाई जैविक, पुनः प्रयोग गर्न मिल्ने र अन्य फोहोर गरी तीन वर्गमा छुट्याउने व्यवस्था थियो। जैविक फोहोरबाट ग्यास र मल उत्पादन गर्ने तथा पुनः प्रयोग गर्न मिल्ने सामग्री बिक्री गर्ने योजना बनाइएको थियो।
तर, परियोजना सञ्चालन गर्ने कम्पनी बेस्ट भेञ्चर सम्पर्कमा नआएपछि केन्द्र पुनः सञ्चालनमा ल्याउन समस्या भएको बेघाले बताए। आफू कार्यवाहक प्रमुख भएपछि कम्पनीलाई पत्राचार गर्दा पनि सञ्चालक सम्पर्कमा नआएको उनको भनाइ छ।
‘सरकारको ठूलो रकम खर्च भएको परियोजनामा सञ्चालक सम्पर्कमा आएका छैनन्। उनीहरू सम्पर्कमा नआई भाग्न खोजिरहेको देखिन्छ। सञ्चालकलाई सम्पर्कमा ल्याउने वातावरण तयार गर्छौं। सम्पर्कमा नआए कारबाहीका लागि सिफारिस गर्छौं,’ बेघाले भने।
उपमहानगरपालिका र कम्पनीबीच परियोजना सञ्चालनका लागि २० वर्षे सम्झौता भएको थियो। सम्झौताअनुसार व्यावसायिक रूपमा ग्यास उत्पादन सुरु भएपछि कम्पनीले आम्दानीको एक प्रतिशत रकम उपमहानगरपालिकालाई बुझाउनुपर्ने व्यवस्था छ। सम्झौता अवधि पूरा भएपछि जग्गासहितको सम्पत्ति उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने प्रावधानसमेत छ।
सेउती खोला किनारमा थुपारिएको फोहोर बेलाबेला माटोले पुर्ने गरिए पनि त्यहाँ आगलागीको समस्या दोहोरिने गरेको छ। फोहोरको थुप्रोभित्र रहेका पुनः प्रयोग गर्न मिल्ने सामग्री निकाल्न आउने व्यक्तिले आगो लगाउने गरेको आशङ्का गरिँदै आए पनि पछिल्लो घटनाको कारण पुष्टि भएको छैन।
फोहोरमा लागेको आगो जङ्गलमा फैलिने जोखिम छ। आगलागी हुँदा निस्कने धुवाँ कोसी राजमार्गसम्म फैलिँदा यात्रु तथा सर्वसाधारण प्रभावित हुने गरेका छन्। आगो निभिसकेपछि पनि फोहोरको भित्री भागबाट लामो समयसम्म धुवाँ निस्किरहने समस्या छ।
स्थानीय बासिन्दाले फोहोर जलाउँदा वातावरणमा असर परेको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका छन्। वर्षायाममा सेउती खोलामा आउने बाढीले फोहोर बगाएर रामधुनी नगरपालिका–६ र ७ का खेतबारीसम्म पुर्याउने गरेको बताइएको छ। प्लास्टिक तथा प्रयोग गरिएका सिरिन्जसमेत खेतबारीमा पुग्दा किसानले समस्या भोग्नुपरेको छ।
२०८१ सालमा गरिएको सर्वेक्षणअनुसार धरानमा दैनिक ३० देखि ४० टन फोहोर सङ्कलन हुने गरेको छ। उपमहानगरपालिकाले वडा नम्बर २० र ४ का माथिल्लो पहाडी क्षेत्र तथा वडा नम्बर १७ मा सर्दु खोलाको पश्चिमपट्टिको बस्तीबाहेक अन्य क्षेत्रबाट फोहोर सङ्कलन गर्दै आएको छ।
कार्यवाहक प्रमुख बेघाले बन्द रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको बताएका छन्। स्पष्ट नीति र कार्यविधि निर्माण गरी कम्पनीसँग समन्वय गरेर परियोजना सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
परियोजना सञ्चालनमा आए नगर क्षेत्रको करिब ८० प्रतिशत फोहोर व्यवस्थापन गर्न सकिने र बाँकी फोहोरका लागि छुट्टै ल्याण्डफिल साइट निर्माण गर्ने योजना रहेको बेघाको भनाइ छ।
प्रस्तावित ल्याण्डफिल साइटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययन पूरा नभएकाले कार्यान्वयन प्रक्रिया अघि बढ्न सकेको छैन। ईआईए प्रतिवेदनले उपयुक्त ठहर गरेपछि मात्रै योजना अघि बढाइने उनले बताए।
धरान उपमहानगरपालिकाका वरिष्ठ वातावरण अधिकृत भेषराज घिमिरेका अनुसार व्यवस्थित डम्पिङ साइट नहुँदा उपमहानगरपालिका बाध्य भएर जङ्गल क्षेत्रमा फोहोर फाल्नुपर्ने अवस्थामा छ।
उनका अनुसार विगतमा नगर क्षेत्रबाट सङ्कलित फोहोरमा प्लास्टिकको मात्रा करिब १० प्रतिशत हुने गरेकामा पछिल्लो समय बढेर २५ प्रतिशत पुगेको छ। प्लास्टिक पुनः प्रयोग गर्न नसक्दा व्यवस्थापन थप चुनौतीपूर्ण बनेको उनले बताए।
पहिले कवाडीले खरिद गर्ने सिसाका बोतलसमेत पछिल्लो समय बिक्री हुन छाडेपछि फोहोरमै फालिने गरेका छन्। यसले सरसफाइ कर्मचारीलाई सिसाले काटेर चोटपटक लाग्ने जोखिम बढाएको घिमिरेको भनाइ छ।
धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत रहेकाले स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन अर्को चुनौती बनेको छ। कतिपयले प्रयोग गरिएका सिरिन्ज सामान्य फोहोरमा मिसाएर फाल्ने गरेको उनले बताए। यसले फोहोर सङ्कलन तथा व्यवस्थापनमा संलग्न कर्मचारीको स्वास्थ्य सुरक्षामा जोखिम बढाएको छ।
घिमिरेका अनुसार नगर क्षेत्रमा फोहोर वर्गीकरण गर्न पर्याप्त खाली जग्गा छैन। सड्ने र नसड्ने फोहोर छुट्याउन उपयुक्त स्थान उपलब्ध भए व्यवस्थापनमा उल्लेख्य सुधार गर्न सकिने उनको भनाइ छ।
एकातिर जङ्गलमा फोहोर थुपार्दा आगलागी, धुवाँ र वातावरणीय प्रदूषणको जोखिम बढिरहेको छ भने अर्कोतिर करोडौँ रुपैयाँ खर्चेर बनाइएको प्रशोधन केन्द्र बन्द छ। यस्तो अवस्थामा धरानको फोहोर व्यवस्थापनलाई दीर्घकालीन समाधान दिन प्रशोधन केन्द्र सञ्चालन र व्यवस्थित ल्याण्डफिल साइट निर्माण कहिले अघि बढ्छ भन्ने प्रश्न उठेको छ।