विजयपुर / विगत अढाई महिनादेखि धरान नगरकार्यपालिका अनिर्णयको ब न्दी बनेको छ । कार्यपालिका सदस्य र धरान नगरप्रमुखबीचको विवादका कारण गत असोज १३ गतेदेखि बस्न नसकेको कार्यापालिका बैठक बिहीबारसमेत अनिर्णित बन्यो ।
नगर प्रमुख हर्कराज राई निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाउँदै बिहीबार पनि कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरे । बैठक बहिष्कारपछि पत्रकार सम्मेलन गर्दै कार्यपालिका सदस्यहरुले बैठक बस्न नसक्नुमा नगर प्रमुख राईले बैठकमा कार्यपालिका सदस्यलाई दिएको गैरजिम्मेवार अभिव्यक्ति भएको बताए ।
नगर प्रमुख राईको अभिव्यक्तिप्रति आत्मालोचना गर्न माग राख्दै कार्यपालिका सदस्यले बैठक बहिष्कार गरेको यो तेस्रो पटक हो । नगर प्रमुख राईले गत कार्तिक १७ गते, २४ गते र गत मंसिर २९ गते बैठक डाकेका थिए । नगर प्रमुख राईले आफ्नो अभिव्यक्ति गैरजिम्मेवार भएको अस्वीकार गर्दै आएका छन् ।
उनले कार्यपालिका सदस्य बैठकमा सहभागी नभए ‘तोकआदेशको आधारमा नगर चलाउँछु’ भन्ने अभिव्यक्ति दिएपछि कार्यपालिका सदस्यहरु थप रुष्ट बनेका छन् ।
स्वेच्छाचारी, गैरकानुनी र गैरजिम्मेवार अभिव्यक्ति दिएर नगरप्रमुख अघि बढेकोले बैठक बस्ने सहज वातावरण नबनेको वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बताउँदै आएका छन् ।
कार्यपालिका सदस्यहरुले नगर प्रमुख राईले कार्यशैली परिवर्तन गरेर ‘म नभई हामी’ भन्ने भावना अनुरुप धरानको विकास गर्न एकबद्ध भएर अघि बढ्ने वातावरण सिर्जना गर्न माग गरेका छन् ।
धरान १७ का वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सूर्य भट्टराई (मनोज) ले नेतृत्वको रुपमा नगर प्रमुख राईले बैठक सुरु गर्न कुनै पनि पहल नगरेको बताए । नगर प्रमुख राईले अराजक र स्वेच्छारी प्रवृत्ति देखाएको उनले आरोप लगाए ।
नगर प्रमुखको वक्तव्य,
सदस्यको राजीनामा माग
नगर प्रमुखको गैरजिम्मेवारी अभिव्यक्तिप्रति माफी माग्नु पर्ने माग गर्दै आएका कार्यपालिका सदस्यहरुले बिहीबार बैठक बहिष्कार गर्दै वक्तव्य जारी गरेपछि शुक्रबार प्रतिरक्षामा नगर प्रमुख हर्कराज राईले पत्रकार सम्मेलन गर्दै विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा राईले कार्यपालिका सदस्यहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
बैठक बहिष्कार गर्ने कार्यपालिका सदस्यहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १७ को १ मा व्यवस्था गरेबमोजिम महिनाको कम्तिमा १ पटक बैठक बस्नुपर्ने नियमलाई उल्लघंन गरेको नगर प्रमुख राईले आरोप लगाएका छन् ।
कार्यपालिका सदस्यहरुले गत कार्तिक १७, २४ र मंसिर २९ गते बोलाइएको बैठक बहिष्कार गरेको नगर प्रमुख राईको भनाइ छ ।
कार्यपालिका सदस्यले विधिको शासन नमानेको भन्दै खेद प्रकट गरेका छन् ।
जारी विज्ञप्तिमा नगर प्रमुख राईले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ को उपधारा ४ को खण्ड ‘क’ को ‘६’ ले नगरप्रमुखलाई दिएको कार्यपालिका बैठक÷ कार्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारको प्रयोग गरी रोक्न खोज्दा सम्मानित कार्यपालिकाको विधिको धज्जी उडाएर होहल्ला गरिनु गैरकानुनी, आपत्तिजनक र खेदजनक घटना हो भनेका छन् ।
‘सार्वभौम धराने जनताको सुशासन र विकासका लागि हुनुपर्ने र गरिनु पर्ने अनिवार्य निर्णय र काम कारबाहीका लागि कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था छ,’ नगर प्रमुख राईले भने, ‘तर कार्यपालिका सदस्यहरु स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ उपधारा ४ को खण्ड घ को १ मा व्यवस्था गरिएको कार्यपालिका बैठकमा भाग लिने भन्ने कर्तव्य पूरा नगरेको र अनुशासनहीनता र लापरबाही देखाएकाले सबै कार्यपालिका सदस्यलाई सच्चिन आवश्यक देखेको छु ।’
कार्यपालिका सदस्य नसच्चिए नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रसस्त बनाई धरानको विकासका लागि बाटो प्रसस्त गरिरहन अपरिहार्य रहेको नगर प्रमुख राईको भनाइ छ । उनले धराने जनतालाई आफ्नो काम कारबाहीको मूल्यांकन गर्न पनि अनुरोध गरेका छन् ।
के हो विवाद ?
गत असोज १३ गते बसेको कार्यपालिका बैठकमा नगर प्रमुख हर्कराज राईले धरान १७ स्थित सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्कका रुपमा विकास गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
कार्यपालिका सदस्य अनुप देवानले उक्त प्रस्तावको खण्डन गरेका थिए । कार्यपालिका सदस्य देवानले धरान १४ मा बहुजातीय सांस्कृतिक भवन रहेकाले धरान १७ स्थित सप्तरंगी पार्कलाई पार्ककै रुपमा विकास गर्नुपर्ने फरक मत प्रस्तुत गरेका थिए ।
मतान्तर हुने क्रममा नगर प्रमुख राईले ‘बाहिर जानुस्’ भनेपछि उपस्थित कार्यपालिका सदस्यहरु भड्किएका थिए । नगर प्रमुखको अभिव्यक्तिलाई कार्यपालिका सदस्यहरुले स्वेच्छाचारी, गैरकानुनी र गैरजिम्मेवार अभिव्यक्ति भएकाले तत्काल माफी माग्नुपर्ने माग गरेका थिए ।
तर नगर प्रमुख राईले प्रस्ताव उपर विचार राख्ने क्रममा कार्यपालिका सदस्य देवानले मर्यादालाई मिचेर, अभद्र शैलीमा अनुशासनहीनता देखाएकाले आफूले बाहिर निस्कन आग्रह गरेको बताउँदै आएका छन् ।
नगर प्रमुखले माफी नमागेसम्म बहिष्कार गर्ने
नगर प्रमुख हर्कराज राईले कार्यपालिका सदस्यमाथि गरेको अभद्र व्यवहार र अपमानजनक शब्द फिर्ता लिई माफी नमागेसम्म कार्यपालिका बैठक बहिष्कार गर्ने कार्यपालिका सदस्यहरुले बताउँदै आएका छन् ।
कार्यपालिका सदस्यको तर्फबाट धरान १७ का वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता भट्टराईले नगर प्रमुख राईले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नहुने बताए ।
‘मेयर साबले आफ्नो गल्ती स्वीकार गर्ने भन्दा पनि तोकआदेशको भरमा नगर चलाउँछु भन्दै कार्यपालिका सदस्यहरु धरान बिगार्न आएको भन्ने भ्रम फैलाइरहेकोले बैठकमा सहभागी हुँदैनौं ।’ वडाध्यक्ष भट्टराईले भने, ‘मेयरले माफी मागेर सहज वातावरण निर्माण गर्नुपर्छ ।’
‘नगर प्रमुखको एकलौटी काम’
नगर प्रमुख हर्कराज राईले एकलौटी निर्णय गर्दै निरंकुश शैलीमा अघि बढेको कार्यपालिका सदस्यहरुले आरोप लगाउँदै आएका छन् । मेयर साम्पाङले विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको उनीहरुको आरोप छ । कार्यपालिकाको निर्णयबिना नै साबुन उद्योगको निर्माण कार्य सुुरु गरेको, बिपी पार्कको नाम परिवर्तन गरी आफ्नो फोटो राखेर श्रम संस्कृति पार्क नामाकरण गरेको, सामाजिक सञ्जालमा तुच्छ शब्द प्रयोग गरी गालीगलौज गरेको, जातीय सद्भाव खलबलिने गरी दलित समुदायको आत्मासम्मानमा चोट पु¥याएको, सेवाग्राहीलाई हप्कीदप्की गर्ने गरेको साथै राष्ट्र सेवक कर्मचारीलाई अपमानित गर्ने गरेको कार्यपालिका सदस्यहरुको आरोप छ । तर नगर प्रमुख राईले माफी माग्नुपर्ने गरी कुनै अभिव्यक्ति नदिएकाले माफी नमाग्ने अडान राख्दै आएका छन् ।
कार्यपालिका अनिर्णित हुन हुँदैनः उपप्रमुख
नगर उपप्रमुख अइन्द्रविक्रम बेघाले कार्यपालिका अनिर्णित हुन नहुने बताउँछन् । नगर प्रमुख र कार्यपालिका सदस्यहरु दुवैपक्षले आफ्नो अडानमा पुर्नविचार गर्नुपर्ने उनले बताएका छन् ।
‘मेयर र वडाअध्यक्षहरुले मेरो गोरुको बाह्रै टक्का भनेजस्तरी अडानमा रहिरहँदा धरान अनिर्णयको बन्दी बनेको छ,’ उपप्रमुख बेघाले भने, ‘जनताको मुद्दाहरु ओझेल पर्दै आएको छ, कार्यपालिका सञ्चालन गर्न दुवै पक्ष लचिलो बन्नुपर्छ ।’