काठमाडौँ/ कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले अनलाइनखबरसँग बताए ।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु हुनेमा २१ वर्षीय युवा भएको खुलेको छ ।
ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले मृत्यु हुने युवा २१ वर्षको रहेको बताए ।
‘मृतक पुरुष २१ वर्षका रहेका छन् । छातीमा रातो डाम देखिएको छ’, उनले भने, ‘अस्पतालमा ल्याइपुर्याउनेको भनाइ अनुसार झडपमै परेको भन्ने छ ।’ आन्दोलनकारीहरूले नै उनलाई बोकेर अस्पताल ल्याएका थिए ।
पाठकका अनुसार घाइतेलाई १२ बजेर ४० मिनेटमा किष्टमा ल्याइएको थियो । उनलाई चिकित्सकहरूले दिउँसो १ बजेर १७ मिनेटमा मृत घोषणा गरेका थिए ।
उनलाई शुक्रवार दिउँसो बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेको बताइएको छ ।
रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले जानकारी दिए ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको खबर अनलाइनखबरमा छ ।