विराटनगर/ नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीको सरकार लाई दिएको समर्थन फिर्ता गर्ने संकेत दिएको छ ।
कोशी प्रदेश सभाको बुधवार बसेको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारको कार्यशैली यस्तै रहे एमाले चुप लागेर बस्ने अवस्थामा नरहेको बताए । मुख्यमन्त्री कार्कीको ७५ दिन पुगिसकेको अवस्थामा सरकार सञ्चालन गर्ने तौर तरिका नै विधि सम्मत नभएको एमालेको भनाई छ ।
९ वटा मन्त्रालय मध्ये केही मन्त्रालय बाहेक मन्त्रीहरू नियुक्त गर्न नसकेको, प्रदेश सभालाई नियमित संचालनको लागि बिजनेस दिन नसकेको, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकले ५ पटकसम्म प्रदेश सभा सञ्चालन,
त्यहाँ भित्रको सभामुखको निर्वाचन, नीति, विधि, कानुन निर्माण प्रक्रियाको बारेमा छलफल गर्न समय माग्दा समय नदिएको विषय पनि भण्डारीले सदनमा जानकारी गराए । ‘सरकारको प्रभावकारी सञ्चालन र प्रदेश सभाको सञ्चालनमा तपाईँको भूमिका देखिएन, उनले भने, यस्तै अवस्था रहँदै जाने हो भने एमाले चुप लागेर बस्दैन ।’
प्रदेश सरकारलाई चलायमान बनाउने, सुशासन युक्त बनाउने कुरामा मुख्यमन्त्री गम्भीर नभएको आरोप एमालेको छ । सरकारको कार्य सम्पादनको क्षमता मुख्यमन्त्री भएको ७५ औ दिनसम्म पुग्दा पनि केही नदेखिएको उनको भनाई छ । ‘
मुख्यमन्त्री ज्यु तपाईँलाई लाग्दो हेला भयङ्कर बहुमतमा छु भनेर, प्रदेश सभामा बोल्दै भण्डारीले भने, साँच्चै कानुनी भाषामा भन्ने हो भने यो प्रदेश सभामा तपाईँ अल्पमतमा हुनुहुन्छ,
हाम्रो कानुनी व्यवस्थामा सरकारमा सहभागी दलहरू बाहेक अरू दलहरूलाई प्रतिपक्ष मानिन्छ, आज प्रदेश सभामा एमालेको ४०, राप्रपाको ६ र जसपाको १ पनि सरकार बाहिर रहेको अवस्थामा ४७ जना सांसद सरकार बाहिर छौँ, तपाईँहरू सरकारमा रहेका माननीयको संख्या त ४६ मात्र हो ।’ अहिले मुख्यमन्त्रीको व्यवहार ८५÷८६ जना सांसदको बहुमत रहेको जस्तो देखिएको एमालेको भनाई छ ।
आफ्नै गठबन्धन भित्र पनि मुख्यमन्त्रीको अन्तर सम्बन्ध राम्रो नभएको भन्ने सङ्केत एमालेले दिएको छ । ‘आफ्नै गठबन्धन भित्र पनि तपाईँको अन्तर सम्बन्ध कस्तो छ थाहा छैन, उनले भने, प्रमुख प्रतिपक्ष र प्रतिपक्षसँग संसदीय मूल्यमान्यता, कानुनी व्यवस्थामा तपाईँले जुन सम्बन्ध स्थापित गर्नु पर्ने हो तपार्ईँ उदासीन हुनुहुन्छ, त्यो उदासीनता संसदीय मूल्यमान्यता अनुकूल छैन ।’
सभामुखको निर्वाचन सहितका कतिपय विषयहरूमा मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारसँग पाँच पटकसम्म समय माग्दा पनि नदिएको आरोप उनको छ ।
आज, भोली, पर्सी भन्दै टारिएको बारेमा जानकारी दिँदै त्यो भेट एक्लो रेवती भण्डारीले मात्र नमागी दलका नेता सहित पदाधिकारीसँगको छलफल गर्न खोज्दा समेत बेवास्ता गर्ने काम मुख्यमन्त्री कार्कीले गरेको भण्डारीको भनाई छ ।
सरकारका कामका बारेमा, नीतिगत, कानुनी, सभामुखको निर्वाचनको बारेमा छलफल गर्न खोज्दा मुख्यमन्त्री कहिले झापा, कहिले उदयपुर कहिले काठमाडौँ, कहिले ओखलढुङ्गा कहिले इलाममा भाषण, उद्घाटन र शिलान्यासमा मात्र रुचि रहेकोले दौडिएको बताए ।
‘सरकारको प्रभावकारी सञ्चालन, प्रदेश सभाको सञ्चालन मुख्यमन्त्रीको रुचि देखिएन, उनले भने, सांसदको घर अगाडीको आँगन पुर्न पैसा दिनु भनेको हैन, अब कोशी प्रदेश भरीको बालबालिकाको निःशुल्क उपचार सुरु भयो आजको मितिबाट भन्नु भएको हैन ? खै त्यसको व्यवस्था, खै त्यसको तयारी ? कि कुनै अस्पताललाई पो दिँदै हुनुहुन्छ की ।’
विगतको सरकारले दिँदै आएको एक लाख पनि केदार कार्की नेतृत्वको सरकारले रोकेको आरोप लगाए ।
आकाश मण्डललाई छानो बनाएका, धुलोलाई ओछ्यान बनाएका, अनि टोपीका घेरा फाटेकाहरूको मसिया हुँ भनेर भाषण गरेपनि मुख्यमन्त्री कार्कीले त्यो कार्यान्वयनको लागि आवश्यक पर्ने थप कानुन, नीति, कार्यक्रम सञ्चालक कार्यविधि कार्यान्वयन गर्न नसकेको आरोप प्रमुख सचेतक भण्डारीको छ ।
‘तपाईँलाई मैले नै कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड खै भनेर सोधेँ, निजामती सेवाको नियमावली कहिले बन्छ भनेर मैले भनेँ, भण्डारीको प्रश्न थियो, यसो बुझ्दा त यस्तो काममा मुख्यमन्त्रीको कुनै तयारी नै छैन, न मन्त्रालयमा मन्त्री छन्, न मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री हुनुहुन्छ, न कार्यसम्पादन अगाडी बढेको छ, न प्रदेश सभालाई प्रभावकारी बनाउन कुनै गम्भीरता देखाएको छ ।’