इटहरी\ इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप गरेका छन ।
इटहरीमा पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र वाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ती जनाएका छन । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मंन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन ।
बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताएका हुन ।
इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन छिनमा कुरा फेरेर एमालेले कर घटाउने विषयलाई फण्डाको रुपमा मात्र बजारमा ल्याएको बताए ।
नगरप्रमुख पौडेलले कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबाबले काम गर्न नसकिएको आरोप समेत लगाए ।
राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बुधवारको नगर सभामा सो विषयमा छलफल हुने कार्यपालिका थियो ।
तर पार्टीको ह्विपमा उनीहरूले नगर सभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाए ।
कार्यपालिका र नगर सभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ ।
‘हामी कर घटाउने पक्षमा छौ बारम्बार भन्दै आएका छौ । तर एमालेले भने अहिले सम्म दोहोर चरित्र मात्र देखाएको छ’ पौडेलले भने ।
‘इटहरीको विकास गर्न चुनिएको जनप्रतिनिधिहरुलाई एमालेले आफ्नो संगठन चलाउन खोजे जस्तो गरिरहेका छन’, मेयर पौडेलले भने ‘म जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ म इटहरी बनाउँन आएको मानिस हुँ ।’
इटहरीमा थुप्रै खाले कठिनाई भईरहेको भन्दै एमालेले जनमानसमा भ्रम छरिरहेको उनको भनाई थियो । ‘एमालेलाई इटहरी बनोस नबनोस भन्नेमा छ । उसलाई २०८४ को चुनाव केन्द्रित मात्र छन ।’ उनको भनाई थियो ।
सबैसँग सहमति र सहकार्य गरेर सरकार चलाउने बताएका छन् । ‘सस्तो लोकप्रियताका लागि हुने धेरै राजनीतिक नाटक हेरेर, सुनेर बसेँ । नगर प्रमुख भएर धेरै कति बोलौँ ? राम्रो काम गर्न नदिने एमालेले जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र त्यसपछाडिका पात्रको भूमिकाबारे पर्दा च्यात्ने बेला भएको उनले उल्लेख गरेका छन ।
इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् ।
यस्तै १ सय ४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।
नगर सभा स्थगित पछि एमालेको आप्पती
इटहरी उप महानगरपालिकाको नगर सभा स्थगित भएकोमा एमाले इटहरीले विरोध गरेको छ ।
एमालेले इटहरीको नगर सभा मेयर हेमकर्ण पौडेलले हठत स्थगित गरेको भन्दै नगर सरकार असक्षम भएको जनाएको छ ।
आ.व. २०८०\०८१ को नगर सभाबाट पारित आर्थिक ऐन २०८० ले व्यवस्था गरेको कर तथा राजस्वका दर मा विवाद आएपछि उमेश सुबेदीको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।
साउन २६ गतेको १३३ औँ कार्यपालिका बैठकको निर्णय सुबेदीको संयोजकत्वमा गठित समायोजन र पुनरावलोकन गर्न प्रतिवेदन बुधबारको नगरसभाबाट पास गर्ने सहमति भएको थियो ।
सहमति विपरीत नगरसभा स्थगित गरेकोमा एमालेले विज्ञप्ति निकाल्दै आप्पती जनाएको छ ।
पुस ४ गते सम्पन्न १३६ औँ कार्यपालिका बैठकले प्रतिवेदन हु–बहु पारित गर्ने गर्ने सहमति भएको एमाले इटहरीका कार्यवाहक अध्यक्ष रुपेश बस्नेतले बताए ।
उनले आर्थिक रूपमा अत्यन्तै जटिल अवस्थाबाट गुजिरहेका नागरिकहरूको अवस्थालाई न्यायोचित सम्बोधन र समाधान गर्न इटहरीको अभिभावकको रूपमा रहेका इटहरी सरकारका प्रमुख असक्षम रहेको आम नगरवासीले अनुभूत गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा कर समायोजन तथा पुनरावलोकन गर्नका लागि विगत ६ महिनादेखि गरिएको सबैको सामूहिक प्रयासलाई सफल बनाउने आजको महत्वपूर्ण नगर सभा बैठक अन्तिम क्षणमा स्थगित हुनु नियोजित र दुभाग्यपूर्ण भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,
‘इटहरीको समृद्धि, विकास तथा सरकार सञ्चालनका क्रममा उत्पन्न समस्याहरू समाधानका निमित्त संवाद, सहमति र सहकार्य गर्ने नेकपा एमालेको प्रतिबद्धतालाई कमजोरीको रूपमा नलिन इटहरी नगर सरकारका प्रमुखलाई सचेत गराउन चाहान्छौं ।’