पाथिभरा मन्दिर छानविन प्रतिवेदन भेटीको रकम अनियमितता भएको आरोप

  • आश्विन ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt - भगीरथ भण्डारी

इलाम/ इलामको रोङ गाउँपालिका ३ पाथीभरा मन्दिरमा उठेको भेटी अनियमितता भएको विषयमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक नभएपछि किचलो सुरु भएको छ ।

भेटीको अनियमितता छानबिन गर्ने विषयमा मन्दिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच सुरुमै तिक्तता बढेको थियो ।

गाउँपालिकाले निरन्तर दबाबपछि जिल्ला प्रशासन कार्यालय इलामले गत जेठ २३ गते सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा गाउँपालिकाको तर्फबाट लेखापरीक्षक प्रज्वल अधिकारी थिए । तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई प्रतिवेदन बुझाएको थियो ।

छानबिन समितिले करिब तीन महिना लगाएर प्रतिवेदन तयार गरी भदौ ३१ मा प्रमुख जिल्ला अधिकारीे श्रवणकुमार पोख्रेललाई बुझाएपनि सार्वजनिक नभएपछि पालिका र प्रशासन विच दुरु बढ्दै गएको छ । छानविन प्रतिवेदन लिखित रुपमा माग्दा पनि गाउँपालिकालाई नदिएको भन्दै प्रतिवेदन लुकाउन खोजेको आरोप लगाउँदै रोङ गाउँपालिकाले आफ्नो प्रतिवेदन आफैँ सार्वजनिक ग¥यो ।

प्रशासन कार्यालयले प्रतिवेदन सार्वजनिक नगरेपछि गाउँपालिका आफैँले बनाएको छानबिन समितिको प्रतिवेदन पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । पत्रकार संमेलनमा गाउँपालिका अध्यक्ष मणिकुमार सङ्वो सुवास प्रजिअ पोखरेलविरुद्ध खनिएका छन् ।

छानबिन समिति बनाएर पनि छानबिनमा आलटाल गर्ने, समितिको प्रतिवेदन सार्वजनिक नगर्नु प्रजिअ पोखरेलको नियत देखिएको भन्दै उनले भने, ‘जागिर खान आएका सिडिओलाई यो ठाउँको के माया ? जागिर खान्छन्, जान्छन् । प्रतिवेदन बुझाउने दिनमा गएका हाम्रा जनप्रतिनिधिलाई अपमान गरेर निकालियो । के सिडिओ राजा महाराजा हो ?’ भन्दै ‘छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएन भने हाम्रा नागरिक त्यहाँ पुगेर प्रशासन घेराउ गरेर थुतेर प्रतिवेदन लिन्छन् । अब सिडिओको अनेक बहाना चल्दैन ।’
निकै सकसका साथ छानबिन समिति बनेपछि पनि आलटाल गरियो । २५ दिनको म्याद दिएर समिति बनाएपनि चार महिनामा बल्ल प्रतिवेदन समितिले बुझाएपनि बुझाएको प्रतिवेदन पनि सिडिओले लुकाए अध्यक्ष सङ्वोले भने अहिले सिडिओका प्रतिनिधि भेट्न आएर तपाईं मौन बस्नुस् सिडिओले प्रतिवेदन परिवर्तन गर्छन् भनिरहेका छन् ।’

‘छानविन समितिले बुझाएको प्रतिवेदन सिडियोले अध्ययन गर्न नपाएकोले सार्वजनिक नभएको सुन्नमा आएको छ’ स्याङ्वाले भने, ‘सिडियोले अध्ययन गर्दा चित्त बुझेन भने के हुन्छ त ? परिवर्तन ?’ अबको असुल उपर कसरी हुन्छ त्यो प्रशासनले जान्नु पर्छ हैन भने यहाँका जनता प्रशासन घेराउ गर्न जानेछन् ।

‘सत्य तथ्य के छ त्यसलाई ल्याउनका लागि किन कञ्जुस्याइ गर्नुहुन्छ सिडियोसाव, तपाईलाई दवाव होला तर थालेको काम पुरा गर्नुपर्देन कि सक्दिन भनेर पहिलेनै हात उठाउनु भएको भए हामि त्यहि अनुसार अघि बढ्थ्यौ ।’

गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले भनिन् । उनले पालिकाले मन्दिर व्यवस्थापनको जिम्मा लिएको आठ महिनामा एक करोड छ लाख आम्दानी भएपनि पुरानो समितिले पाँच वर्षमा तीन करोड १४ लाखमात्रै आम्दानीको हिसाब देखिनुमा रकम अपचलनको प्रसस्त सम्भावना देखिएको बताइन् । उनले प्रशासनले कार्यपालिका सदस्य इन्दिरा विश्वकर्मालाई पाथीभराको छानबिन प्रतिवेदनबारे बुझ्न सिडिओ कार्यालय गएका बेला प्रशासनले अपमान समेत गरेको गुनासो गरिन् ।
यता प्रजिअ पोख्रेलले छानबिन समितिले भदौ ३१ गते साँझ प्रतिवेदन बुझाएको तर आफूले अध्ययन गर्न नपाएको बताए ।

‘अघिल्लो दिन साँझ प्रतिवेदन आएको छ । प्रशासनले प्रतिवेदन अध्ययनपछि सार्वजनिक गर्ने सूचना प्रशासन कार्यालयको आधिकारिक सामाजिक सञ्जालमा असोज १ गते बिहानै लेखिएको छ,’ उनले भने, ‘असोज १ देखि असोज ४ सम्म मलाई प्रतिवेदन खोलेर हेर्ने समय पुगेको छैन । असोज २ गते संविधानसभा अध्यक्ष दिवङ्गत सुवासचन्द्र नेम्बाङको प्रदेशस्तरीय श्रद्धाञ्जली सभा इलाममै आयोजना गरिएको थियो । त्यसका लागि असोज १ देखि नै ‘भिआइपी’ आएपछि आफूसहित सिङ्गो सुरक्षा समिति त्यतै व्यस्त भएको, २ गते दिनभर श्रद्धाञ्जली सभा र संविधान दिवसको तयारी, असोज ३ गते संविधान दिवसका कार्यक्रम भएकाले आफूले प्रतिवेदन अध्ययन गर्न नपाएको सिडिओ पोख्रेलले बताए ।

‘अध्ययनपछि सार्वजनिक गर्ने भनिएकै छ,’ उनले भने, ‘छानबिन समितिमा शंका गर्नुपर्छ जस्तो लाग्दैन । समिति गठन गर्दै गर्दा कोही असन्तुष्ट पनि थिएनन् । छानबिनमा प्रशासनले हस्तक्षेप गर्ने कुराको कल्पना पनि नगरौँ, त्यो आरोप मात्र हुन्छ ।’

अध्ययन प्रतिवेदन: पैसाको पछि मात्रै नभई व्यक्तिको पाछि लाग्न आवश्यक

अध्ययन प्रतिवेदनमा पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख ८३ हजार इकसय २४ रुपैयाँ रकम हिनामिना भएको पाइएको छ ।

अध्ययन समितिले भेटी, सुन, चाँदी र अन्य सहयोगबापतको ८८ लाख ८३ हजार एक २४ रुपैयाँ नभेटिएको बताएको छ ।

गाउँपालिकाको अध्ययन प्रतिवेदन अनुसार समितिले आर्थिक वर्ष ०७५/७६ देखि ०७९ को माघ मसान्तसम्म पाथीभरा मन्दिरको कुल आम्दानी तीन करोड १४ लाख ६२ हजार नौसय २९ देखिएको छ । जसमध्ये खर्च दुई करोड २० लाख ९१ हजार दुईसय ४२ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।

२०७५ असोज देखि ०७९ माघ मसान्त सम्मको ८८ लाख ८३ हजार एक सय २४ रकम मौज्दात रहनुपर्ने देखिन्छ तर उक्त रकम कहाँ छ भन्ने कतै उल्लेख नभएपछि रकम हिनामिना गरेको गाउँपालिकाको आशंका छ ।

छनविन समितिमा गाउँपालिकाले खटाएको लेखा परिक्षक प्रतिनिधि प्रज्वल भट्टराईले ‘मौज्दात देखिएको रकम कहाँ छ भन्ने जवाफ पाथीभरा संरक्षण समितिले दिनुपर्छ भन्दै ‘हिसाबमा ८८ लाख ८३ हजार एक सय २४ मौज्दात रकम कहाँ छ थाहा नभएको बताए ।

‘यो अध्ययन प्रतिवेदन उपलब्ध कागजका आधारमा मात्र तयार गरिएको हो ।

संस्थाको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित नभएकाले गर्दा कागजी विवरणभन्दा बाहिर पनि कारोबार भएको हुन सक्ने सम्भावना प्रशस्तै छ’, उनले भन,े ‘हिसाव किताब खोजि गर्दा पैसाको पछि मात्र नभई व्याक्तिको पछि लागेर पनि अध्ययन गर्न सकिने बाटो देखाउँदै नगद उठ्ने ठाउँको रकम र नगदै खर्च भएको पाईएकोले नगद खर्च गरिएका प्रमाण पछि पनि बनाउन सकिने भएकाले पैसाको पछि मात्रंै नभएर व्याक्तिको पछि पनि अध्ययन गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता भएको पाथीभरा संरक्षण संस्थाले २०७३ सालदेखि नवीकरणसमेत गनरेको र उक्त संस्थाले लेखापरीक्षण गरे पनि हिसाब भने अपारदर्शी रहेकोे बताए ।

‘उक्त समितिले चलाएका रसिदहरू पनि शंकास्पद छन, कतिपय ठाउँमा केरमेट छ, हिसाब पारदर्शी छैन, दानपेटिकामा कति रकम उठ्यो, त्यसको त हिसाब नै छैन अधिकारीले भने, उठाएको रकम बैंकमा जम्मा नगरी सोझै भुक्तानी गर्ने गरेको पाईयो ।

यसरी भूक्तानी गर्दा भरपाई त जहिले र जसरी पनि बनाउन सकिन्छ त्यसैले खोज्दै जाने हो भने धेरै रकम यताउता भएको पाउन सकिन्छ ।’ कागजबाहेक हुन सक्ने हिसाब निकाल्नका लागि संरक्षण समिति सदस्यहरूले २०७५ असोज २२ देखि २०७९ माघ मसान्तसम्म सम्पत्तिमा भएको परिवर्तन र त्यसबीचमा समिति सदस्यले गरेको ठूला खर्चको स्रोत खोज्नु आवश्यक छ ।’

रोङ गाउँपालिकाले गत फागुनदेखि कानुन बनाएर पाथीभरा मन्दिरको व्यवस्थापन आफैँ गर्दै आएको छ । गाउँपालिकाले गठन गरेको समितिले फागुन यता भेटी, सुन चाँदी, बहुमूल्य गरगहना र सहयोग गरी एक करोड ६१ लाख १३ हजार ४४ रुपैयाँ संकलन गरेर गाउँपालिकाको खातामा जम्मा गरेको गाउँपालिकाले जनाएको छ ।

दवावमा अध्यक्ष र प्रशासनलाई

रोङ गाउँपालिकाले पाथीभरा मन्दिरमा अनियमितता भएको आशङ्का गर्दै जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र लेखेदेखि गाउँपालिका र प्रशासनबिच टकराब सुरु भएको थियो ।

सानो पाथीभरा नामले परिचित मन्दिरमा सङ्कलन भएको भेटी, सुन, चाँदी र अन्य सहयोगमा घोटाला भएको हुन सक्ने भन्दै गत जेठमा गाउँपालिकाले प्रशासनलाई पत्र लेखेको थियो ।

तर, प्रशासनले बेवास्ता गरेपछि गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गुहार्न पुगेका थिए । गृहमन्त्रीको दबाबपछि छानबिन समिति बनेपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय इलामबिच उत्पन्न झनै उत्कर्षमा पुग्यो । चार महिनाअघिबाट सुरु भएको स्थानीय सरकार र प्रशासनबिचको विवाद अहिले पनि साम्य हुन सकेको छैन र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आलटाल गरेपछि सुरु भएको विवाद साम्य हुनुको सट्टा उत्कर्षमा पुगेको हो ।

प्रतिवेदन सार्वजनिकको विषयमा जिल्ला प्रशासनलाई दबाब आएको कारण अहिले सम्म आलटालमा रहेको बुझिएको छ । इलाबाटै चुनाव जितेका प्रदेश सभा सदस्यकै मिलेमतोमा प्रशासनमा दबाब दिने गरेको कारण प्रशासनले यो विषमा आलटाल गर्न खोजेको स्रोतको भनाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई समेत दबाब आउँदै गर्दा पालिकाले बनाएको कानुन कार्यान्वयनमा पछि नहट्ने पाएपछि जिल्ला प्रशासन मार्फत पुरानो समितिले गरेको हिनामिना जोगाउने खेलमा प्रशासनलाई दबाब दिने गरेको बुझिएको छ ।

रकम हिनामिनाको विषय चुलिँदै गएपछि पार्टी बचाउनु पर्छ भनेर गाउँपालिका अध्यक्षलाई नेताहरूले फोन समेत गरेका थिए ।

छानबिन समितिले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदन सार्वजनिक नभएपछि गाउँपालिकाले अध्ययन प्रतिवेदन सार्वजनिक गर्नका लागि तयारी गर्दै गर्दा पाटी बचाउनुपर्छ भन्दै अध्यक्षलाई फोन गरेका थिए ।

अध्यक्षले जवाफमा पाटी हेरर काम नगर्ने र गलत गर्नेलाई कानुनी दायरामा ल्याउने भन्दै आफ्नो र अर्को जो सुकै होस गलत काम गर्नेलाई कारबाही गर्नुपर्छ फटाहा जोगाउन गाउँपालिका नलाग्ने जवाफ दिएको बताए ।

पालिकाको छानबिन समितिको संयोजकलाई पनि तपाईँले भनेको कुरा मान्दो रहेछ भन्दै यसलाई यही मिलाउ भनेर प्रसासनले दबाब दिएको भन्दै एउटा नेताको पछि लागेर जिल्ला प्रशासन समेत गलत कामलाई ढाकछोप गर्न लागेको बताए ।

उनले मलाई पनि दबाब नआएको हैन एउटा पवित्र मन लिएर काम थालिसकेपछि कुनै दबाब र प्रभावमा नपरी आफ्नो र अर्काको नहेरी काम गरियो भने मात्रै बेथितिलाई चिर्न सकिने भन्दै अव प्रशासनले असुल उपरको काम गर्छ गर्देन भन्ने मात्रै बाँकी रहेको बताए ।

गाउँपालिकाले मन्दिरमा उठेको भेटीको हिसाब–किताब छानबिन गर्न गत असोज यता प्रशासनमा पटक–पटक पत्राचार गरेको थियो । तर, त्यतिबेला प्रशासनले मन्दिरको पुरानो पाथीभरा संरक्षण संस्था र पालिकाले गठन गरेको समितिबीच ‘छलफल’ चलाउने तयारी गरेको भन्दै तिक्तता सिर्जना भएको थियो । मन्दिरको पाँच वर्षदेखिको हिसाब–किताब पारदर्शी नभएको गाउँपालिकाको भनाइ छ ।

छ वर्षदेखि नवीकरण नभएको पाथीभराको पुरानो समितिमाथि छानबिन गर्न पालिकाले प्रशासनलाई पत्राचार गरेको थियो । त्यसपछि प्रशासनले छानबिन समिति गठन गरेर छानविन सुरु भएको थियो ।

आठ महिनामा करोड आम्दानी

पालिकाले गत फागुनदेखि आफूमातहतको पाथीभरा व्यवस्थापन समिति गठन गरेपछि फागुनदेखि असोज ३ गतेसम्मको आठ महिनामा एक करोड छ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको समिति अध्यक्ष दिलीप राईले बताए ।

उनका अनुसार यो अवधिमा ९७ लाख ५६ हजार रुपैयाँ नगद र आठ लाख ५४ हजार रुपैयाँको जिन्सी सामान अनुमानित आम्दानी भएको हो ।

नगद रसिदबाट १६ लाख ८९ हजार, दानपेटिकाबाट तीन लाख ९२ हजार तीन सय ७७, लिलाम विक्रीबाट ११ हजार दुई सय २० र सिंहदेवी शिलाबाट चार लाख १० हजार रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ ।

श्रमसँस्कृतिले धरानक ...

धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपना ...

धरान १४मा रहेको पिण् ...

धरान/ धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर अग ...

महाकुम्भको राजधानी च ...

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ...

धरानको बरगाछीमा खुल् ...

धरान/ धरान वडा नं ८ को वरगाछीमा खुलेको १५ बेडको धर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved