ठेकेदारलाई कारवाही गर

  • आश्विन ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

हामीकहाँ ‘असारे विकास’ को प्रवृत्ति अघोषित परम्परा नै बन्न पुगेको छ । आर्थिक वर्षको अन्तिम महिना असार हो । काम हुन नसकी बजेट फिर्ता हुने बेला भएपछि पैसा सक्न अन्तिम समयमा हतार–हतार गरिने विकास निर्माणलाई असारे विकास भन्ने गरिन्छ ।

यस्तो काम हतारमा गरिने भएकाले गुणस्तरीय हुँदैन । हाम्रो देशमा असारे विकास परम्पराकै रूपमा स्थापित भएको छ । यस्ता विकास टिकाउ पनि हुँदैनन् । देशको कुनै एक क्षेत्रमा मात्र होइन, यस्तो प्रवृत्ति हरेक क्षेत्रमा देखिन्छ । ठूल्ठूला पुल, भवन र सडक संरचनाहरू यस्तै असारे विकासको शिकार हुने गरेका छन् ।    

धरान–९ को सिद्धिविनायक पथ पनि असारे विकासको शिकार भएको समाचार आएको छ । यो सडक बजार क्षेत्रमै अत्यन्तै व्यस्त र सवारी साधनहरूको चाप अधिक हुने सडकमा पर्छ । सवारी साधन बढी कुद्ने यो सडक निर्माण भएको चार महिनामै भत्किन थालेको छ । गत वैशाख महिनामा कालोपत्रे गरिएको सडक भत्कन थालेपछि खाल्डाखुल्डी पर्न थालेका छन् ।

सडकका गिट्टी बाहिर निस्कन थालेको छ । खाल्डाखुल्डी, धूलो र गिट्टी निस्कन थालेपछि आवागमन असहज हुन थालेको समाचार प्रकाशमा आएको छ । सडकमा खाल्डाखुल्डी हुने र गिट्टी बाहिर निस्किने अवस्था भएपछि दुर्घटनाको जोखिम पनि बढेको छ । यसतर्पm स्थानीय सरकारको ध्यान जानुपर्छ ।

ठेकेदारले गुणस्तरीय निर्माण सामग्री प्रयोग नगरेका कारण सडक यति चाँडै जीर्ण भएको स्थानीयको भनाइ छ । यो गम्भीर विषय हो । यसलाई पुनःनिर्माण गर्नु आवश्यक छ । बेवास्ता गर्दा दुर्घटनाको जोखिम अझ बढ्ने भएकाले यसलाई समयमै मर्मत गर्नुपर्छ । वार्षिक बजेट फ्रिज हुने अवस्थामा हतारमा गरिएको कामले लगानी खेर गएको छ ।

आगामी दिनमा विकास निर्माणका काम गर्दा यसतर्फ सचेत हुनुपर्छ । सार्वजनिक कामलाई झारा टार्ने रूपमा लिने, गुणस्तरहीन सामग्री प्रयोग गर्ने प्रवृत्तिका कारण सार्वजनिक कामहरू कमसल हुने गरेका छन् । यसरी सार्वजनिक सडक र संरचनाहरू कमसल हुँदा राष्ट्रिय सम्पत्ति खेर जाने मात्र होइन, सर्वसाधारणको ज्यान पनि जोखिममा पर्ने गरेका छन् ।

सार्वजनिक काममा कमसल सामग्री प्रयोग गर्ने ठेकेदारहरूमाथि आवश्यक कारवाही हुनु आवश्यक छ । त्यस्ता जीर्ण संरचनाको पुनःनिर्माण पनि सम्बन्धित ठेकेदारले पुरानै लगानीमा गर्नुपर्ने व्यवस्था हुनुपर्छ । अनि मात्र यस्तो प्रवृत्तिको अन्त्य हुने आशा गर्न सकिन्छ । अन्यथा ठेकेदारहरू मोटाउने तर सार्वजनिक काम कमसल हुने प्रवृत्ति यथावत् रहनेछ ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved